काठमाडौं । डा. हरिहरदेव पन्त दशौं स्मृति दिवस कार्यक्रम सम्पन्न भएको छ । निर्धन संस्था र डा. हरिहर देव पन्त फाउन्डेसनको आयोजनामा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर गणेश बहादुर थापाको आतिथ्यतामा कायृक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सातै प्रदेशका उत्कृष्टलघु उद्यमीहरूको प्रगतिको विवरण समृद्धिको मार्गमा, २०८२ पुस्तक विमोचन गरियो । कार्यक्रममा उत्कृष्ट लघुउद्यमी, मौद्रिक अर्थशास्त्र र ग्रामिण विकास विषयमा स्नातकोत्तर तहमा सर्वोत्कृष्ट अंक प्राप्त विद्यार्थीहरू र उत्कृष्ट आर्थिक पत्रकारलाई पुरस्कृत गरिएको थियो ।
उक्त कार्यक्रममा स्वागत मन्तव्य राख्दै डा. हरिहर देव पन्त फाउन्डेसनका अध्यक्ष जनार्दन देव पन्तले वि.स.२०४० को दशक तिर ५० प्रतिशत नेपालीहरू गरिबीको रेखामुनी रहेकोमा अहिले २० प्रतिशत रहेको तथ्याङ्क रहेको जानकारी दिदैँ वि.स.२०४९ देखि अनवरत रूपमा निर्धन उत्थानले गरिवीको रेखामुनि रहेका लक्षित वर्गलाई वित्तीय तथा गैर वित्तीय सेवा प्रदान गरी नयाँ लघुउद्यम सृजना वा संचालनमा रहेको लघुउद्यमको विस्तार मार्फत रोजगारी सृजना गर्न, लघुउद्यमीहरूको आम्दानी तथा क्षमता विकास गर्न सहयोग गरिरहेको जानकारी गराएका थिए । डा. हरिहर देव पन्तले नेपालमा पहिलोपटक शुरू गरेको कार्य अनुसन्धानात्मक कार्यको उपज हालको परिप्रेक्ष्यमा पनि अनुशरणयोग्य हुन पुग्यो जस्को ज्वलन्त उदाहरण हो नेपाल राज्य भरी लघुवित्तको कर्जा लिने सदस्यहरू करिब २७ लाख हुनु, त्यस्तै गरी कर्जा ४ खर्ब ९ अर्ब र वचत करिब २ खर्ब लक्षित समूहले परिचालन गर्न सक्नु नै डा.पन्तको शुरूवाती कार्यको उपलब्धी मान्दा अतिसयोक्ती नहने बताए । मुलुक भित्र नै हामी सबैको भविष्य सुरक्षित र सुनिश्चित हुनसक्छ भन्ने अवस्था ल्याउन हामी सबै लाग्नुपर्ने आवश्यकता रहेको समेत अध्यक्ष पन्तले बताए ।
उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक भोलाराम श्रेष्ठले वित्तीय पहुँच र समावेशीकरणका लागि डा.पन्तको योगदान अतुलनिय रहेको साथै उनले नेपालमा वित्तीय सेवाको विकास र विस्तारका लागि लाभका पद र अवसर समेत त्याग गर्नुभएको स्मरण गरे । उनी सधै साहसिक निर्णयकर्ता, ईमान्दारका साथै गरिबहरूसँग निकटतम् रहि नीति निर्माणमा जोड दिने स्मरण गराए । सोसाइटी अफ इकोनमिक जर्नलिष्ट एसोसियसन नेपालका पूर्व अध्यक्ष गोकर्ण अवस्थीले शालीन, विरलैै पाईने, दुरदर्शि व्यक्तित्व डा.पन्त प्रति हार्दिकश्रदाञ्जली व्यक्त गरे । उनी वित्तीय पहुँचको लागि प्रतिवद्ध रहेकोले उनलाई हामी कहिल्यै नबिर्सने बताए ।
नेपाल लघुवित्त बैङ्कर्स संघका पूर्व अध्यक्ष तथा छिमेक लघुवित्त वित्तीय संस्थाका अध्यक्ष रामचन्द्र जोशीले डा. पन्त नेपालका लघुवित्तका पिता रहेको र लघुवित्तको धेरै लाईसेन्स प्रति धेरै चिन्तित, व्यापारिकरणको विरोधी थिए । उनी वास्तवमै गरिबीको न्यूनिकारणको उपाय लघुवित्त नै हो । साथै पत्रकारले हेरेर, बुझेर मात्रै लघुवित्तको बारेमा रिपोटिङ गर्न सुझाव दिए ।
नेपाल लघुवित्त बैङ्कर्स संघका पूर्व अध्यक्ष तथा एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाका अध्यक्ष प्रकाश राज शर्माले डा.साब आफ्नो लघुवित्तका गुरू रहेको, डा.साब गरिबको मान्छे भएकोले लघुवित्तले हालसम्म गरेको योगदान सबै डा.साब को योगदान भएको बताए । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री मुकेश दहालले डा. पन्तको बहुआयमिक व्यक्ति रहेको र उनले परिकल्पना बमोजिम कार्य गरिरहेको बताए ।
निर्धन संस्थाका सञ्चालक प्राध्यापक डा. फत्त बहादुर के. सी.ले डा. पन्त अझै पनि हाम्रा बीचमा नै छन्, भौतिकरूपमा रहेको भए पथपर्दशक हुन्थ्यो र उनको आर्दशलाई शिरमा राखेर अगाडि बढे समस्या समाधान हुने बताए ।
सेन्टर फर माइक्रोफाइनान्सका अध्यक्ष डा. रेवत बहादुर काकीले डा. पन्त नीति, नियम, स्वअनुशासन र गल्ती स्वीकार गर्ने महान व्यक्ति भएको स्मरण गरे ।
नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर श्री गणेश बहादुर थापाले १० वर्ष अगाडिसम्म लघुवित्तमा समस्या नभएको, डा. पन्तको निधनले लघुवित्तले अभिभभावक गुमाएको र उनी केही नभएका विपन्नको समस्या पहिचान गरेर वित्तीय सेवा दिने लघुवित्तबाटै गरिवी न्यूनीकरण भई उहाँ प्रति सच्चा श्रद्धाञ्जली हुने बताए ।
निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका सञ्चालक समितिका अध्यक्ष हरिकृण पन्तले डा. पन्त एक मेघावी व्यक्ति थिए भने । उनको व्यक्तित्व र कृतित्व जति व्याख्या गरे पनि कमी नै हुन्छ । हामी सबै एकजुट भएर डा. हरिहरदेव पन्तले जुज हामीलाई छोडेर जानु भएको लघुवित्त वित्तीय सेवाको नासोलाई बचाउनु पर्दछ । यहि नै डा. पन्तप्रति हार्दिक श्रद्धाञ्जली हुने उनले बताए ।
उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर गणेश बहादुर थापाले काभ्रेकी सफल लघुउद्यमी एवं बागमती प्रदेशकी उत्कृष्ट लघुउद्यमी/व्यवसायी मखमली कामीलाई डा. हरिहर देव पन्त लघुउद्यमशील पुरस्कार तथा सम्मान पत्र प्रदान गरेका थिए ।
सोही कायक्रममा आर्थिक क्षेत्रमा योगदान पु¥याउने विद्यार्थीहरूको मनोवल बृद्धि गरी हौसला प्रदान गर्न शैक्षिक सत्र सन् २०२०–२०२२ मा मौद्रिक अर्थशास्त्र विषयमा स्नातकोत्तर तहमा सर्वोत्कृष्ट अंकप्राप्त गर्ने श्रीज्या काफ्लेलाई निर्धन संस्थाका अध्यक्ष देवेन्द्र बहादुर राउतले डा. हरिहर देव पन्त शैक्षिक उत्कृष्टता पुरस्कार र सम्मान पत्र प्रदान गरे ।
आर्थिक क्षेत्रमा योगदान पु¥याउने विद्यार्थीहरूको मनोवल बृद्धि गरी हौसला प्रदान गर्न शैक्षिक सत्र सन् २०२०–२०२२ मा ग्रामिण विकास विषयमा स्नातकोत्तर तहमा सर्वोत्कृष्ट अंकप्राप्त गर्ने रूक्साना अछामीेलाई निर्धन संस्थाका सञ्चालक अध्यक्ष प्रा.डा. फत्त बहादुर के.सी.ले डा. हरिहर देव पन्त शैक्षिक उत्कृष्टता पुरस्कार र सम्मान पत्र प्रदान गरेका थिए ।
डा. हरिहर देव पन्त आर्थिक पत्रकारिता पुरस्कार
उक्त कार्यक्रमा आर्थिक पत्रकारितामा उत्कृष्ट कार्य गर्नु हुने पत्रकारहरू मध्येबाट उत्कृष्ट पत्रकार आर्थिक अभियान दैनिकका वरिष्ठ संवाददाता श्री यादव हुमागाईलाई डा. हरिहर देव पन्त फाउण्डेसनका अध्यक्ष जनार्दन देव पन्तले यस वर्षको डा.हरिहर देव पन्त आर्थिक पत्रकारिता पुरस्कार प्रदान गरेका थिए ।
डा. हरिहरदेव पन्त दशौं स्मृति दिवसका दिन सुर्योदय नगरपालिकाकी उप प्रमुख दुर्गा बरालले कोशी प्रदेशबाट उत्कृष्ट लघुउद्यमी श्री भानुमति राईलाई डा. हरिहर देव पन्त लघुउद्यमशील पुरस्कार तथा सम्मान पत्र प्रदान गरेका थिए । राजदेवी नगरपालिकाका प्रमुख भिखारी प्रसाद यादवले मधेश प्रदेशबाट उत्कृष्ट लघुउद्यमी रामदुलारी देवी शाहलाई डा. हरिहर देव पन्त लघुउद्यमशील पुरस्कार तथा सम्मान पत्र प्रदान गरेका थिए । गल्याङ नगरपालिकाका प्रमुख गुरू प्रसाद भट्टराईले गण्डकी प्रदेशबाट उत्कृष्ट लघुउद्यमी दुल कुमारी सोमैलाई डा. हरिहर देव पन्त लघुउद्यमशील पुरस्कार तथा सम्मान पत्र प्रदान गरेका थिए । प्यूठान नगरपालिकाका प्रमुख विष्णु बहादुर योगीले लुम्बिनी प्रदेशबाट उत्कृष्ट लघुउद्यमी पार्वती घर्तीलाई डा. हरिहर देव पन्त लघुउद्यमशील पुरस्कार तथा सम्मान पत्र प्रदान गरेका थिए । भेरी गंगा नगरपालिकाका उप प्रमुख धनसरा बोहराले कर्णाली प्रदेशबाट उत्कृष्ट लघुउद्यमी गिता गाहालाई डा. हरिहर देव पन्त लघुउद्यमशील पुरस्कार तथा सम्मान पत्र प्रदान गरेका थिए । बेलौरी नगरपालिकाका प्रमुख पोतीलाल चौधरीले सुदूरपश्चिम प्रदेशबाट उत्कृष्ट लघुउद्यमी वासुदेवी चन्दलाई डा. हरिहर देव पन्त लघुउद्यमशीलता पुरस्कार प्रदान गरिएको थियो ।






















