काठमाडौँ । काठमाडौंबाट पूर्वी नेपालसँग जोड्ने छोटो स्थल मार्गका रूपमा रहेको बिपी राजमार्गमा दशैंतिहारलगायतका चाडपर्वमा निर्वाध रूपमा सवारीसाधन सञ्चालन गर्न सडक विभागले युद्धस्तरमा काम गरिरहेको जनाएको छ । विभागले बिनाअवरोध सवारीसाधन सञ्चालनका लागि राजमार्गको क्षतिग्रस्त खण्डको सुधार गर्नुका साथै आवश्यक प्राविधिक जनशक्ति र उपकरण परिचालन गरेको जनाएको छ । सडक डिभिजन भक्तपुरअन्तर्गत राजमार्गको पुनर्निर्माण भइरहेको र नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै बिपी राजमार्गमा बिनाअवरोध सवारीसाधन सञ्चालन गर्न आवश्यक तयारी गरिएको छ । राजमार्ग सञ्चालनको क्रममा कुनै पनि समस्या आए त्यसलाई तुरुन्तै सम्बोधन (रेसपोन्स) गर्ने गरी तयारी गरिएको पनि विभागको भनाइ छ ।
गत वर्ष असोज ११ र १२ गते भएको अविरल वर्षाका कारण आएको बाढीपहिरोले राजमार्गमा ठूलो क्षति पुर्याएको थियो । दशैं सुरु हुनुअघि नै बाढीले क्षति पुर्याएको खण्डलाई सम्म पार्न ‘ग्रेडिङ’ र ‘रोलिङ’ गरिने र सवारीसाधन सहजरुपले चल्ने विभागको भनाइ छ । कतै पहिरो खस्नसक्ने सम्भावनालाई मध्यनजर गर्दै पहिरो पन्छाउन विभिन्न ३० स्थानमा आवश्यक उपकरण र प्राबिधिक पुर्याइने विभागले स्पष्ट पारेको छ ।






















