skip this News Page Tips Ad Road Block

‘ऊर्जा क्षेत्रमा लगानीको वातावरण सिर्जना गर्न सरकार प्रतिबद्ध’

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले देशको विकास–निर्माणलाई अवरोध गर्ने, सानोतिनो बहाना बनाएर मुद्दा हाल्ने, स्टे अर्ड लिने प्रवृत्तिलाई कानूनी रूपमा निस्तेज गर्न जरुरी भएको बताएका छन् । उनका अनुसार विकास विरोधी र देश विरोधी गतिविधिले मुद्दालाई लामो समयसम्म नटुङ्ग्याइदिँदा ठूला विकासका योजना सुरु हुनै नसक्ने अवस्था बनेको छ, जसलाई कानूनी ढङ्गले समाधान गर्न सरकार प्रतिबद्ध रहेको छ ।

सुदूरपश्चिम प्रदेशमा आगामी मङ्सिर १ र २ गते धनगढीमा गर्न लागेको ‘सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन’को पूर्वसन्ध्यामा त्यहाँको प्रदेश सरकारसँग ऊर्जा मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री खड्काले ऊर्जा क्षेत्रमा लगानीको वातावरण निर्माणमा सरकार गम्भीर भएर लागेको बताए । “संविधान निर्माणपछि कानून निर्माणको चरणमा छौँ, जुन गतिमा कानून निर्माण हुनुपर्ने हो त्यो अझै हुन सकेको छैन, उर्जा क्षेत्रको विकासका लागि सरकारले नीतिगत सुधारलाई उच्च प्राथमिकतामा राखेको छ,” उनले भने ।

मन्त्री खड्काले मुलुक सङ्घीयतामा गएपछि सबै प्रदेशले आफ्ना प्रदेशलाई सशक्त बनाउन चासो देखाउनु सकारात्मक पक्ष भएको बताए । उनले भने, “सरकारले निजी क्षेत्रलाई साथमा लिएर मुलुकको आर्थिक विकासमा अगाडि बढेको छ, विकास निर्माणका क्रममा अवरोध रहेका कानूनलाई समयअनुसार संशोधन गर्दै अगाडि बढेको अवस्था छ ।”

ऊर्जामन्त्री खड्काले विकास निर्माणलाई अगाडि बढाउन सङ्घ र प्रदेश सरकारबीच बनेका कानूनबीच तालमेल हुनु जरुरी रहेको उल्लेख गरे । जलविद्युत निर्माणका क्रममा वन र जग्गाप्राप्तीको समस्या रहेको भन्दै उनले यसलाई समाधान गर्न तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको बताए । “विकास निर्माणका क्रममा देखिने समस्या कानूनी ढङ्गले नै समाधान गर्नुपर्छ,” उनले स्पष्ट पारे । उनका अनुसार मुलुकमा भएको स्रोत साधनलाई अधिकतम प्रयोग गर्दै समृद्ध नेपाल निर्माणमा सरकार लागिपरेको छ र मन्त्रालयले ऊर्जा क्षेत्रमा थुप्रै नीतिगत निर्णय गरेर अगाडि बढ्ने तयारी गरेको छ ।

उनले विद्युत क्षेत्रको विकासका लागि निजी क्षेत्रलाई उत्पादनसँगै प्रसारण लाइन निर्माण र विद्युत खरीद–विक्रीसम्म गर्ने व्यवस्था मिलाउन लागिएको जानकारी दिए । सरकारले नीतिगत रुपमा आक्रामक ढङ्गले काम गरिरहेको उनको भनाइ थियो ।

यसैक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको विकास र समृद्धिका लागि लगानी सम्मेलन आयोजना गरिएको भन्दै सबैलाई उक्त सम्मेलनमा जोडिन आग्रह गरे । उनले भने, “लगानी सम्मेलन लगानीमा मात्र सीमित नभई प्रदेशलाई रोजगारी र उत्पादनमूलक विकासतर्फ लैजाने ऐतिहासिक प्रयास हो, जसलाई सफल बनाउन केन्द्र सरकारको साथ आवश्यक छ ।”

सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव डा. कमल पोखरेलले प्रदेशमा अपार सम्भावना भएको जनाउँदै स्रोत साधनको समुचित प्रयोगमार्फत समृद्ध प्रदेश बनाउन सम्मेलन आयोजना गरिएको जानकारी दिए ।

धनगढीको सिटी हलमा दुई दिनसम्म चल्ने सम्मेलनमा उद्घाटन सत्रका साथै विकास निर्माण र लगानीका सम्भावनाबारे विभिन्न बैठक र सम्झौता हुने कार्यक्रम तय गरिएको छ । विद्युत विकास विभागका महानिर्देशक जीवछ मण्डलका अनुसार सुदूरपश्चिम प्रदेशमा हाल ८ हजार २४१ मेगावाट क्षमताका १०८ जलविद्युत आयोजना कुनै न कुनै चरणमा अगाडि बढिरहेका छन् । छलफलमा सहभागी उर्जा क्षेत्रका कम्पनीहरूले प्रसारण लाइन, जग्गा प्राप्ति र वनसम्बन्धी अवरोधलाई प्रमुख चुनौतीका रूपमा प्रस्तुत गरेका थिए ।

Health Tips Ad Road Block