काठमाडौं । समग्र विकासका लागि गण्डकी र लुम्बिनी प्रदेशको सहकार्यलाई बढाउँदै अगाडि बढेका छन् । दुई प्रदेशले एक आपसमा मिलेर धार्मिक, संस्कृति तथा विकासका कार्यक्रमलाई प्रभावकारी बनाउन सक्रिय भएका हुन् । समग्र विकासलाई जोड दिँदै दोस्रो मुख्यमन्त्रीस्तरीय बैठकले दुबै प्रदेशका तर्फबाट नौ बुँदे साझा प्रतिबद्धता जनाइएको छ । गण्डकी प्रेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संयुक्त रूपमा हस्ताक्षर गरेर प्रतिबद्धता सार्वजनिक गरेका हुन् । स्याङ्जा गल्याङ नगरपालिका–१, मालुङ्गाको उत्तरबाहिनीमा प्रदेशको दोस्रो समन्वयात्मक बैठक सम्पन्न भएको छ । बैठकले यसअघि पाल्पाको रानीमहलमा भएको पहिलो बैठकले गरेका २१ बुँदे प्रतिबद्धताको समीक्षा गरेको हो । गएको माघ ३० गते रानीमहलमा पहिलो बठैक सम्पन्न भएको थियो ।
दुवै प्रदेशका योजना आयोगले संयुक्त रूपमा सरोकारवाला सबै पक्षको सहभागितामा पहिलो बैठकको प्रतिबद्धतालाई कार्ययोजना बनाई तीन महिनाभित्र पेस गर्न निर्देशन समेत दिइएको छ । यस्तै सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेटमा सम्बोधन भएका साझा निर्णय एवम् प्रतिवद्धताको विवरण तयार गर्ने दुबै प्रदेशको आगामी योजना छ ।
दुवै प्रदेशको धार्मिक पर्यटन विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने ‘दामोदरकुण्ड कृष्णगण्डकी उत्तरवाहिनी–लुम्बिनी मुक्तिमार्ग’ विकासका लागि अवधारणा पत्र तयार गर्न दुवै प्रदेशको पर्यटन हेर्ने मन्त्रालयको समन्वयमा प्रक्रिया अघि बढाइएको साझा प्रतिबद्धतामा उल्लेख छ । अन्तर प्रदेश साझेदारीमा सञ्चालन हुने भनी पहिचान गरिएका कार्यक्रम कार्यान्वयन गर्न दुवै प्रदेशका सरकारको समन्वयमा कार्यान्वयन खाका तयार गर्न विषयगत मन्त्रालयलाई निर्देशन दिइएको छ । यस्तै कालीगण्डकी तटीय क्षेत्रको समुन्नतिका लागि दुवै प्रदेशका योजना आयोगको समन्वयमा संयुक्त रूपमा कार्यान्वयन गर्न सकिने कार्यक्रम पहिचान गरी आगामी पुस मसान्तभित्र दुवै प्रदेश सरकारमा पेस गर्ने योजना समेत बैठकले गरेको छ । आगामी असोज २१ देखि कात्तिक १९ गतेसम्म उत्तरबाहिनी क्षेत्रमा सञ्चालन हुने कार्तिक महास्नान तथा दामोदर धर्मोत्सव भव्य रूपमा सफल बनाउन प्रदेश सरकारबाट सहजीकरण गर्ने प्रदेशको तयारी छ । बैठकले स्थानीय स्तरमा सहजीकरणका लागि आ–आफ्नो प्रदेशका स्थानीय तहलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अनुरोध गर्ने निर्णय समेत गरेको छ । दुबै प्रदेशका विकास व्यवस्थापन तथा सेवा प्रवाहमा एक अर्काका सिकाइ तथा असल अभ्यासहरुको अनुभव आदान प्रदान गर्न प्रमुख सचिव स्तरीय संयन्त्र समेत गठन हुने भएको छ । यस्तै प्रादेशिक विकासका लागि प्रदेशको जिम्मेवारी, भूमिका तथा अधिकारलाई ध्यानमा राख्दै कानुनी तथा नीतिगत एकरूपता कायम गर्ने दुवै प्रदेशको योजना छ । दुवै प्रदेशका प्रमुख तीर्थस्थल तथा पर्यटकीय स्थल जोड्ने पदमार्गको पहिचान तथा निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन संयुक्त रुपमा तयार पार्न प्रदेशका सम्बन्धित निकायलाई बैठकले निर्देशन दिएको छ ।






















