वीरगन्ज । गृहमन्त्री रमेश लेखकले लिपुलेक-कालापानी नेपालकाे रहेको बताएका छन् । वीरगन्ज पुगेर गृहमन्त्री लेखकले यस्तो बताएका हुन्। “त्यसो भएको हुनाले हामीले हाम्रो भूमिलाई हाम्रो भूमि हो भनेर भन्दा कुनै देशसँग हाम्रो सम्बन्ध बिग्रनुपर्ने कारण छैन,” उनले भने, ” मित्र राष्ट्र भारतले पनि चित्त दुखाउनुपर्ने कुरा छैन, किनभने त्यो भूमि हाम्रो हो । यसमा हामीहरु प्रष्ट छाैँ । ”
चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अहिले लिपुलेख-कालापानी नेपालकाे भूमि रहेकाे भन्दै भारत र चीन बिच भएको सहमतिप्रति आपत्ति जनाएर ठीक काम गर्नुभएको उनको भनाइ छ ।
भारत र चीनले नेपालकाे भूमिलाई लिएर गरेको सम्झौताप्रति प्रधानमन्त्री ओलीले जनाउनु भएको आपत्ति ठीक रहेको उनको तर्क छ ।
गृहमन्त्री लेखकले भने, ‘त्यो कुरामा हामी प्रष्ट भन्न चाहन्छौं त्यसपसमा आपति छैन । र, हाम्रो भूमि हाम्रो हो भन्दा कुनै मुलुकले पनि चित्त दुखाउनुपर्ने कारण पनि छैन । यो हाम्रो हो हामी भनिरहन्छौं, यसले सम्बन्ध बिग्रनपर्ने कुरा पनि छैन ।’
यस विषयमा प्रधानमन्त्री ओलीले बोलेको कुरा ठीक रहेको गृहमन्त्री लेखकले बताए । गृहमन्त्री लेखकले यसको साथै मुलुकमा हुने अवैध कारोबारलाई सबैले मिलेर रोक्नुपर्ने जरुरी रहेको बताए । यहाँका अनुसार यसमा प्रहरी प्रशासन र भन्सारले राम्रोसँग काम गर्न जरुरी छ । ‘यसरी सबै मिलेर काम गर्यो भने अवैध व्यापार, पैठारी, निकासी नियन्त्रण गर्न सकिन्छ, त्यसकारण सबै मिलेर काम गर्नुपर्छ,’ उनले भने ।
गृहमन्त्री लेखकले नेपालमा बहुधार्मिक समाज रहेकोले सबै मिलेर बस्न जरुरी रहेको बताए । उनले भने, ‘हाम्रो समाज बहुजातीय, बहुभाषिक, बहु धार्मिक समाज हो, सबै मिलेर बस्न जरुरी छ, यसमा सञ्चारजगतको विशेष महत्व छ। यदाकदा धार्मिक द्वन्द्व फैलाउने, धार्मिक द्वन्द्व फैलाउने काम भइरहन्छ, यसमा सञ्चारजगतले द्वन्द्वलाई घटाउने काम गरिदिनुपर्छ ।’
संविधान संशोधनका कुरामा सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा गृहमन्त्री लेखकले संविधान संशोधन हुनेमा नेपाली कांग्रेस र एमाले ‘क्लियर’ रहेको बताए । गृहमन्त्री लेखकले भने, “नेपाली कांग्रेस र एमालेले गरेर मात्र हुँदैन, राष्ट्रिय सहमतिको वातावरण गरेर सहमतिका साथ संविधान संशोधन हुनेछ ।’ यसका लागि आ–आफ्नो पार्टीमा कमिटी गठन गरेर अगाडि बढ्ने छलफल भइसकेको उनको भनाइ छ ।
वीरगन्जको हैजाको सवालमा गृहमन्त्री लेखकले सरकारले गर्ने सबै आवश्यक सहयोग गर्न तयार रहेको बताए । औषधि, थप जनशक्तिसहित आवश्यक अन्य सहयोग गर्न पनि सरकार तयारको उनको भनाइ छ ।






















