काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले भदौ ११ देखि सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ भर्ने आज अन्तिम दिन हो । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४३ करोड ४१ लाख ८ हजार रुपैयाँ बराबरका ४३ लाख ४१ हजार ८० कित्ता शेयर निष्काशन गरेको हो ।
कम्पनीको आईपीओमा न्यूनत्तम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकत्तम २० हजार कित्ता सम्मका लागि आवेदन दिन सकिनेछ ।
आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स रहेको छ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्वा प्रणालीमार्फत वा सिसिएस क्लियरिङ लिमिटेडद्धारा सञ्चालित मेरो शेयर अनलाइन प्रणालीमार्फत आईपीओमा आवेदन दिन सक्नेछन् ।
कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेर बाँडफाँड गरेपछि सर्वसाधारणका लागि आईपीओ खुला गरेको हो ।






















