काठमाडौं । आज हिन्दू नारीहरुको महान पर्व हरितालिका तीज । हरितालिका (तिज) का अवसरमा काठमाडौंको पशुपतिनाथ लगायत देशभरका मन्दिर शिवालयमा मेला नै लाग्ने गर्दछ ।
यता तिजमा पशुपतिनाथको दर्शन गर्न आउनेका लागि बहुमूल्य गहना नलगाउन पशुपति क्षेत्र विकास कोषले आग्रह गरेको छ । तिजका अवसरमा दर्शनार्थ आउने भक्तजन एवं विशेष गरी हिन्दू नारीहरूको सुविधाका लागि आवश्यक पर्ने सुरक्षा, स्वयंसेवा, चन्दन प्रसाद, दर्शनमार्गको व्यवस्थापन एवं सुधार, आकस्मिक स्वास्थ्यसेवा, उपासनासहितको मनोरञ्जनात्मक गीत, सङ्गीत, भजनकीर्तन, दिपावली, व्रतालुको गौदान गर्ने स्थानको व्यवस्था रहेको कोषले जनाएको छ ।
पशुपति क्षेत्रको बाहिरी भागबाट मन्दिर छिर्न चार वटा मागको व्यवस्था गरिएको छ । पहिलो मार्ग गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तरढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूलढोकाबाट बाहिर निस्किएर कैलाश दक्षिण जुत्ताचप्पल कक्षबाट हुँदै फर्कने व्यवस्था मिलाइएको छ । दोस्रो मार्ग मित्रपार्क–जयवागेश्वरी–पाचागणेश–भीमसेनस्थान–भूवनेश्वरी–शङ्कराचार्य मठ दक्षिण हुँदै फलामे पुल पश्चिम सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूलढोका हुँदै बाहिरिने र शङ्कराचार्य मठ दक्षिण जुत्ताचप्पल कक्ष हुँदै फर्कने व्यवस्था गरिएको छ । यस्तै पिङ्गलास्थान–चारशिवालय–पञ्चदेवल–बज्रघर–दक्षिण ढोकासम्मको लाइनलाई कोटिलिङ्गेश्वर मन्दिर छेउको सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी दक्षिण ढोका हुँदै बाहिरिने र पञ्चदेवल पूर्व अस्थायी रूपमा निर्माण गरिएको जुत्ताचप्पल कक्ष हुँदै फर्कन तेस्रो मागको व्यवस्था गरिएको कोषले जनाएको छ । चौथो मार्ग तिलगङ्गा–राम मन्दिर हुँदै बागमती नदी पूर्व किनार हुँदै आर्यघाट नजिकको पुल तरेर श्रीपशुपतिनाथ मन्दिरको पूर्व ढोकाबाट प्रवेश गरी पूर्व ढोकाबाटै बाहिरिने र आर्यघाट नजिकको पुलसँगैको अस्थायी जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ ।
मूल मन्दिरभित्र भने आठ वटा लामको व्यवस्था गरिएको र दर्शनार्थीले छिटो दर्शन गरी फर्कन सक्ने गरी बिहान ३ बजेदेखि नै मन्दिरका चार वटै ढोका खोल्ने व्यवस्था मिलाइएको कोषको भनाइ छ ।






















