Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नेपाल पर्वतारोहण संघको आगामी निर्वाचनका लागि कुल गुरुङ नेतृत्वको बलियो समूह मैदानमा, टिममा को–को छन् ?

यस्ता छन् कुल बहादुर गुरुङ समूहको नीति. दृष्टि र प्रतिबद्धता

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीको छाता संस्था नेपाल पर्वतारोहण संघ (एनएमए)को आगामी नयाँ नेतृत्वका लागि कुलबहादुर गुरुङ नेतृत्वको बलियो समूह चुनावी मैदानमा उत्रिएको छ । काठमाडौंको ठमेलमा एक कार्यक्रम गरी समूहभित्रका सबै पदाधिकारी एवं सदस्यको उम्मेदवारी घोषणा गरिएको हो ।

आगामी भदौ ७ गते काठमाडौँमा हुन लागेको संघको महाधिवेशनका लागि गुरुङ समूहले आफूहरुकाे समूहमा यस क्षेत्र बुझेको सबैजना रहेको र आफूहरुको समूह नै बलियो समूह रहेको दाबी गरेको हो । धादिङ रुविभ्यालीका कुल गुरुङको नेतृत्वमा रहेको समूह घोषणा कार्यक्रममा उपस्थितहरुले यो दाबी गरेका हुन् । यस समूहका अध्यक्षका प्रत्यासी गुरुङ विगत साढे ३ दशकदेखि पर्वतीय पर्यटन व्यवसायमा आवद्ध छन् । गुरुङले यसअघि एनएमएको महासचिव भएर काम गरिसकेका छन् ।

संघको वरिष्ठ उपाध्यक्षमा टीकाराम गुरुङ, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबु शेर्पा, द्वितीय उपाध्यक्षमा धन बहादुर गुरुङ, महासचिवमा बिमल कुमार नहर्की, सचिवमा डीमा डिकी शेर्पा र कोषाध्यक्षमा सुमी लामाको उम्मेदवारी रहेको छ । यस्तै सदस्यहरुमा पुष्कर शाह, बल बहादुर सुयाल, हरिगोपाल प्रधान, माधव प्रसाद पाण्डे, दिकी शेर्पा, सुदास लामा, लाल बहादुर जिरेल, नुर्बु छिरिङ शेर्पा लामा, पासाङ शेर्पा, गीता राई र अशोक तामाङको उम्मेदावारी रहेको छ ।

उम्मेदवारी घोषणा कार्यक्रममा अध्यक्षका उम्मेदवार गुरुङले सुरक्षित, जिम्मेवार दिगो हिमाली पर्यटनको विकासलाई आफ्नो प्रमुख एजेण्डा बनाएको बताए । उनले आफ्नो नेतृत्वले रचनात्मक काम गर्दै जाने प्रतिबद्धता जनाउँदै जलवायु परिवर्तनका कारण हिमालमा परेको असरलाई विश्वमाझ ध्यानाकर्षण गराउन पहल गर्ने उनले सो अवसरमा बताए । हिमालसँग सम्बन्धित स्थानीय उत्पादन, सेवा र जनशक्तिलाई प्राथमिकता दिने, नयाँ पुस्तालाई पर्वतीय तालिम प्रदान गर्ने, संस्थागत पारदर्शीता कायम राख्ने बताउँदै गुरुङले वार्षिक रुपमा अन्तरराष्ट्रिय हिमाल महोत्सव आयोजना गर्ने, विश्व मञ्चमा नेपालको हिमाल ‘ब्राण्डिङ’ गर्ने, लगायतका कार्यक्रम आफ्नो प्रमुख प्राथमिकतामा रहेको धारणा राखे ।

वरिष्ठ उपाध्यक्षका उम्मेदवार टिका गुरुङले हिमालसँग जोडिएका शेर्पा समुदायको उत्थान आफूहरुको प्राथमिकतामा रहेको बताए । शेर्पा समुदायको समस्या समाधानमा आफूहरु लागि पार्ने उनकाे भनाइ छ ।

कार्यक्रममा नेकपा एमालेका स्थायी समिति सदस्य एवं पूर्व मन्त्री भीम आचार्यले जलवायु परिवर्तनका कारण हिमाल जोगाउन कठिन भइरहेको अवस्थामा हिमालको संरक्षणमा सबै लाग्नुपर्ने बताएका थिए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पर्यटन विभाग प्रमुख आङ्गेलु शेर्पाले नेपालको पर्वतारोहण क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने नेतृत्व पर्वतारोहण संघमा आवश्यक रहेकाले उक्त कार्य गुरुङ समूहको नेतृत्वबाट सम्भव हुने बताए । नेकपा एमालेकी केन्द्रीय सदस्य एवं कोशी प्रदेशकी पूर्वमन्त्री रचना खड्का, कांग्रेसका नेता एवं टानका पूर्वअध्यक्ष रमेश धमला, नेपाल पर्वतारोहण सङ्घका निवर्तमान अध्यक्ष सन्तवीर लामा, नाट्टाका अध्यक्ष कुमारमणि थपलिया लगायतले मुलुकको अर्थतन्त्रको मुख्य खम्बा पर्यटन क्षेत्र भएकाले यसको संरक्षणमा सबै लाग्नुपर्ने धारणा राखेका थिए ।

यस्ता छन् कुल बहादुर गुरुङ समूहको नीति. दृष्टि र प्रतिबद्धता

हिमाल हाम्रो गौरव नेतृत्व हाम्रो पहिचान, सशक्त संघ समृद्ध पर्वतीय पर्यटन !

नेपालका हिमालहरू केवल प्राकृतिक दृश्य मात्र होइनन्, ती हाम्रो सांस्कृक्तिक पहिचान, जीवनधारा, अर्थतन्त्रको मेरुदण्ड र विश्वसमक्ष नेपालको गौरव हुन्। त्यसैले नेपाल माउन्टेनियरिङ एशोसिएसनको नेतृत्वमा आउने हाम्रो टोलीले सुरक्षित पर्वतारोहण, स्वच्छ हिमाल, सशक्त समुदाय, जलवायु न्याय, पारदर्शी नेतृत्व र अन्तर्राष्ट्रियस्तरमा नेपालको हिमाली पर्यटनको अग्रणी भूमिका सुनिश्चित गर्ने स्पष्ट कार्ययोजना प्रस्तुत गर्दछौं ।

१. सुरक्षित, जिम्मेवार र दिगो हिमाली पर्यटन

– आरोहण र पदयात्रामा उच्चतम सुरक्षा मापदण्ड कायम गर्दै हेलि-रेस्क्युमा पारदर्शी नियमन र दुरुपयोग नियन्त्रण गर्ने ।

– एभरेस्ट तथा अन्य ८००० मिटरभन्दा माथिका शिखरका लागि आचारसंहिता लागू गर्ने ।

– पर्वतारोहण सुरक्षा ऐन अद्यावधिक गरी आधुनिक आवश्यकताअनुसार नीति सुधार गर्ने ।

२. हिमाल संरक्षण र जलवायु कूटनीति

– “स्वच्छ हिमाल अभियान” मार्फत आरोहण मार्ग, आधार शिविर र पदमार्ग सफा राख्ने दीर्घकालीन योजना कार्यान्वयन गर्ने ।

– जलवायु परिवर्तनको असरबारे विभिन्न तरिकाले विश्वलाई सन्देश दिने र अन्तर्राष्ट्रिय मञ्चमा सक्रिय सहभागिता जनाउने ।

– राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गर्दै जलवायु प्रतिरोधात्मक कार्यक्रम कार्यान्वयन गर्ने ।

३ . स्थानीय समुदायको सशक्तीकरण र आर्थिक समृद्धि

– हिमालसँग सम्बन्धित स्थानीय उत्पादन, सेवा र जनशक्तिलाई प्राथमिकता दिने ।

– अफ-सिजन र कम परिचित शिखरहरूको प्रवर्द्धनमार्फत पर्यटनको समान वितरण गर्ने ।

– गाइड, शेर्पा, सहयोगी मजदुर, कुक लगायत उच्च हिमाली श्रमिकको तालिम, बीमा, स्वास्थ्य, कानुनी सहयोग र सामाजिक सुरक्षा सुनिश्चित गर्दै “Mountain Workers Bill of Rights” लागू गर्ने ।

– दिवंगत श्रमिकका परिवारका लागि विशेष पेन्सन, सम्मान दिवस र छात्रवृत्ति कार्यक्रम गर्ने ।

४. नयाँ पुस्ता र सीप विकास

– NMA तालिम एकेडेमी र अनुसन्धान केन्द्र स्थापना गर्ने ।

– मनाङ पर्वतारोहण तालिम विद्यालय, अन्नपूर्ण उद्धार केन्द्र र ककनी अन्तर्राष्ट्रिय पर्वतारोहण स्मृति पार्कको स्तरोन्नति गर्ने ।

– अन्य हिमाली क्षेत्रमा नयाँ तालिम तथा उद्धार केन्द्र स्थापना गर्ने ।

– महिला पर्वतारोहण पहल, युवाका लागि अन्तर्राष्ट्रिय छात्रवृत्ति र विशेष सीप विकास तालिम आयोजना गर्ने ।

५. संस्थागत पारदर्शिता र प्रभावकारी सेवा

– सबै सेवामा डिजिटल प्रणाली लागू गर्दै ‘एकद्वार सेवा’ स्थापना गर्ने ।

– वित्तीय स्रोतको विविधीकरण र पारदर्शी नेतृत्व प्रणाली लागु गर्ने ।

– स्थायी NMA नेतृत्व तथा रणनीति कार्यालय र ‘हिमालयन प्रेसिडेन्सियल थिङ्क ट्यांक स्थापना गर्ने ।

६. अन्तर्राष्ट्रिय प्रवर्द्धन र कूटनीतिक नेतृत्व

– विश्व मञ्चमा नेपालको हिमाली पर्यटनको ब्रान्डिङ र प्रचार गर्ने।

– वार्षिकरुपमा अन्तर्राष्ट्रिय हिमाल महोत्सव आयोजना गर्ने ।

– UIAA, UAAA लगायत अन्तर्राष्ट्रिय संघसँग सहकार्य गर्दै वैश्विक आरोही सम्मान कार्यक्रम र दीर्घकालीन साझेदारी गर्ने ।

७. नेतृत्वको मूल्य र कार्यशैली

हाम्रो नेतृत्व C³-Creation, Curation & Communication_E³- Energy, Excitement & Enthusiasm) दृष्टिकोणमा आधारित हुनेछ। यसले सिर्जनात्मक सोच, योजनाबद्ध कार्यान्वयन र प्रभावकारी सञ्चारसहित उर्जा, उत्साह र प्रतिबद्धताले NMA लाई दीगो, समावेशी र सशक्त बनाउने छ ।

८. हाम्रो प्रतिज्ञाः

“Mountains are not just landscapes they are lifelines. “हामी नेपालका हिमाललाई केवल आरोहणको लक्ष्य होइन, जीवन, संस्कृति र गौरवको स्रोतका रूपमा संरक्षण र प्रवर्द्धन गर्नेछौं । सुरक्षा, सम्मान, समावेशी विकास र अन्तर्राष्ट्रिय प्रतिष्ठासहित, हामी सबै हितधारकको एकताबद्ध आवाज बनेर नेपालका हिमाललाई विश्वको गर्व बनाउने यात्रामा अघि बढ्नेछौं ।

अध्यक्ष पदका प्रत्यासी,
कुल बहादुर गुरुङ तथा समूह नेपाल माउन्टेनियरिङ्ग एशोसिएसन निर्वाचन २०८२

Health Tips Ad Road Block