दाङ । दाङको प्रशिद्ध धार्मिक स्थल पाण्डवेश्वर महादेव धाम धारापानीमा भोलि शुक्रबार करोड दिप प्रज्वलन गरिने भएको छ । साउन १ गतेदेखि सुरु भएको शिवपुुराण एवं श्रीगारिक महाआरतीको औपचारिक समापन हुनु अघिल्लो दिन भक्तजन र मन्दिरको तर्फबाट एक रोड दिप प्रज्वलन गर्न थालिएको हो ।
दिउँसो ४ बजेदेखि विधिपूर्वक सामुहिक लक्ष्यवर्तिका गरी वेलुकी साढे ६ बजे विश्वकै अग्लो त्रिशुल परिसरमा दिप प्रज्वलन गर्ने कार्यक्रम तय गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीले जानकारी दिए । सामुहिक दिप प्रज्वलन कार्यक्रममा सहभागी हुनका लागि बिहिबार अपराहन्न ४ बजेसम्म मन्दिरमा बत्ती बुझाइसक्नुपर्ने छ । मन्दिरको प्रचार प्रसार र धार्मिक जागरणका लागि आयोजना गरिएको शिवपुुराण एवं श्रीगारिक महाआरतीमा हाल सम्म ६६ जनाले आरती, १० जनाले रुद्रा अभिषेक, १५ जनाले लाखवत्ती बाल्ुनका साथै १४ जनाले ब्राहमण भोजन तथा प्रसादी वितरण गरेका छ ।
यसैबीच विश्वकै अग्लो त्रिशुल रहेको पाण्डवेश्वर महादेव धाम धारपानीमा सञ्चालन भइरहेको शिवपुराण तथा श्रींगारिक महाआरतीमा हुने करोड दिप प्रज्वलनमा सहभागी हुन सबै भक्तजनहरुमा आव्हान गरिएको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार अधिकारी र सचिव विष्णुराम आचार्यले एक विज्ञप्ति प्रकाशित गरी मन्दिरले तेस्रो बर्ष आयोजना गरेको शिवपुराण तथा श्रींगारिक महाआरती अन्तरगत हुने एक करोड दिप प्रज्वलन कार्यक्रममा सहभागी हुन सवै भक्तजनलाई अनुरोध गरेका छन् । करोड दिप प्रज्वलन पछि श्रींगारिक महाआरती, विभिन्न साँस्कृतिक झाँकी लगायतका कार्यक्रम रहेको समितिका सचिव विष्णुराम आचार्यले जानकारी दिएका छन् ।






















