skip this News Page Tips Ad Road Block

होटल तथा पर्यटन क्षेत्रको सेवा गुणस्तर अभिवृद्धिका लागि ‘आतिथ्य तथा स्वच्छता’ तालिम प्रदान

Citizenlife ad 2082 falgun to baishak 2083

नेपालगन्ज । नेपालगन्जका होटल तथा पर्यटन क्षेत्रको सेवा गुणस्तर अभिवृद्धि, व्यवसायीको व्यावसायिक क्षमता विकास तथा पर्यटन सेवालाई थप प्रतिस्पर्धी, गुणस्तरीय र सेवामैत्री बनाउने उद्देश्यले सञ्चालन गरिएको दुई दिने ‘आतिथ्य तथा स्वच्छता’ तालिम सम्पन्न भएको छ ।

नेपाल पर्यटन बोर्डको आयोजना तथा होटल व्यवसायी संघ बाँके, नेपालगन्जको सहकार्यमा सञ्चालन गरिएको उक्त तालिममा बाँके, बर्दिया र दाङका ५० भन्दा बढी होटल व्यवसायी तथा व्यवस्थापन तहका कर्मचारीको सहभागिता रहेको थियो । कार्यक्रम नेपाल पर्यटन बोर्डको ‘नेपाल लाइफटाइम एक्सपेरियन्सेस’ अभियानअन्तर्गत सञ्चालन गरिएको हो ।

दुई दिनसम्म सञ्चालन भएको तालिममा होटल तथा पर्यटन उद्योगसँग प्रत्यक्ष सम्बन्धित विविध विषयमा व्यवहारिक तथा सीपमूलक प्रशिक्षण प्रदान गरिएको थियो । पर्यटन विज्ञ बद्री कोइराला र संगम कँडेलले आतिथ्य सेवा, ग्राहक सेवा, सेवा व्यवस्थापन, व्यक्तिगत साजसज्जा, सरसफाइ, आतिथ्य संस्कार तथा पर्यटन व्यवसाय व्यवस्थापनका विषयमा प्रशिक्षण दिएका हुन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख प्रशान्त पोखरेलले खाद्य स्वच्छता, खाद्य सुरक्षा तथा गुणस्तरसम्बन्धी विषयमा प्रशिक्षण दिए ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्जका प्रमुख पूर्णप्रसाद न्यौपानेले पहिलो दिन र कर अधिकृत उदयराम केसीले दोस्रो दिन कर प्रशासनसम्बन्धी विषयमा सहजीकरण गरेका हुन् ।

पत्रकार सजल गैरेले कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग, व्यवसाय प्रवद्र्धनका लागि आवश्यक फोटो तथा भिडियो सामग्री निर्माण, डिजिटल प्रचारप्रसार, विज्ञापन तथा बजार प्रवद्र्धनका विषयमा प्रशिक्षण दिएकी थिइन् । तालिम समापनमा कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत रविन रेग्मीले नेपालले भारत र चीनजस्ता दुई ठूला छिमेकी मुलुकसँगको भौगोलिक अवस्थाको लाभ पर्यटन क्षेत्रमा लिन सक्ने बताए । पोखराले पर्यटनमार्फत हासिल गरेको सफलतालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै उनले नेपालगन्ज पनि उत्तिकै सम्भावनायुक्त गन्तव्य भएकाले स्थानीय व्यवसायीले त्यसतर्फ सक्रिय पहल गर्नुपर्ने आवश्यकता औंल्याए । पर्यटन बोर्डले व्यवसायीको दक्षता अभिवृद्धि र सेवाको स्तरोन्नतिका लागि देशका सातै प्रदेशमा यस्ता क्षमता विकाससम्बन्धी तालिम सञ्चालन गरिरहेको उनले जानकारी दिए ।

कार्यक्रममा नाट्टा बाँकेका अध्यक्ष डिल्लीराज रेग्मी, हान बाँकेका वरिष्ठ उपाध्यक्ष केशव न्यौपाने, सहभागी व्यवसायी प्रेम बस्नेत, गोमा पोखरेललगायतले पर्यटन क्षेत्रको गुणस्तरीय विकासका लागि यस्ता तालिम आवश्यक रहेको धारणा व्यक्त गरे । होटल व्यवसायी संघ बाँके, नेपालगन्जका अध्यक्ष भीमलाल कंडेलले तालिमको अध्यक्षता गर्दै व्यवसायी तथा होटल व्यवस्थापकको क्षमता अभिवृद्धि नै कार्यक्रमको प्रमुख उद्देश्य रहेको बताए । तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतारी सेवाको गुणस्तर सुधार गर्न सहभागीहरू प्रतिबद्ध हुनुपर्नेमा उनले जोड दिए ।

आफू पनि तालिममा सहभागी भएको उल्लेख गर्दै उनले तालिमको प्रतिफल व्यवहार र नतिजामा देखिनुपर्ने धारणा व्यक्त गरे । तालिममा फोहोर व्यवस्थापन तथा कीट नियन्त्रण प्रणाली, स्वास्थ्य तथा सुरक्षा, आपत्कालीन प्रतिकार्य, प्रचार सामग्रीको डिजाइन तथा मुद्रण, कार्ययोजना निर्माणलगायत विषय पनि समेटिएका थिए ।

सहभागीलाई सेवा व्यवस्थापनदेखि सरसफाइ, सुरक्षा, खाद्य गुणस्तर तथा बजार विस्तारसम्मका विषयमा व्यवहारिक ज्ञान प्रदान गरिएको छ ।

Health Tips Ad Road Block