काठमाडौं । देशभर ९१ प्रतिशतभन्दा बढी क्षेत्रफलमा रोपाई सम्पन्न भएको छ । ढिलो गरी पानी परेपछि साउन अन्त्यसम्ममा भएपनि रोपाई सकिसक्ने अवस्था देखिएको छ ।
साउ २५ गतेसम्मको सरकारी विवरणअनुसार ९१ प्रतिशत क्षेत्रफलमा रोपाई सम्पन्न भएको हो । त्यसयता यो प्रतिशत केही बढेको छ । यसअघि रोपाई नै हुन नसकेको मधेश प्रदेशमा समेत अहिले ७६ प्रतिशतभन्दा बढी भूभागमा रोपाई भइसकेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि विभागको तथ्याँकअनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका लगभग सबै खेतीयोग्य क्षेत्रफल(९८ प्रतिशतभन्दा बढी) मा रोपाई सम्पन्न भइसकेको छ । कोशी, बागमती र गण्डकी प्रदेशमा क्रमशः ९४.४२, ९३.५६ र ९२.७७ प्रतिशत क्षेत्रफलमा रोपाई भएको छ ।
कुल १३ लाख ७८ हजार ९ सय ६६.९८ हेक्टर क्षेत्रफलमा धान रोपाई हुनसक्नेमा हालसम्म १२ लाख ५४ हजार ८ सय ८६.८५४ हेक्टर क्षेत्रफल अर्थात् ९१ प्रतिशत क्षेत्रफलमा रोपाई सम्पन्न भएको हो ।
गतवर्ष साउन २७ गतेसम्ममा ९८.१९ प्रतिशत क्षेत्रफलमा रोपाई सम्पन्न भएको थियो ।






















