Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

भारतको उत्तराखण्डमा बाढीमा हराएका नेपालीहरुको खोजीका लागि कुटनीतिक पहल

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । भारतको उत्तराखण्डमा हालै आएको बाढीमा परी हराएका १८ जना नेपालीहरुको खोजीका लागि कुटनीतिक पहल शुरु गरिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । बाढीमा परि हराएका मध्ये जाजरकोटका ७ जनाको मृत्यु भएको जाजरकोट कुशे गाउपालिकाले जानकारी दिएको छ तर भारतस्थित नेपाली दुतावासले भने बाढीमा परि नेपालीको मृत्यु भएको जानकारी हालसम्म प्राप्त नभएको जनाएको छ । भारतको उत्तराखण्डमा साउन २० र २१ गते आएको बाढीपहिरोमा परि केही नेपालीहरु पनि सम्पर्कविहीन भएका छन् । जाजरकोट, रोल्पा, जुम्ला र बर्दिया लगायत जिल्लाबाट रोजगारीको सिलसिलामा पुगेका नेपालीहरु बेपत्ता भएका हुन् । उत्तराखण्डको बाढीले बर्दियाका मधुवन नगरपालिकाका चार जना बेपत्ता भएका छन् । भारत उत्तराखण्ड राज्यको पौडी तथा बाँकुडा लगायतका जिल्लामा रोजगारीको सिलसिलामा पुगेका उनीहरु बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा मधुवन नगरपालिका–६ का ३९ वर्षीय नरेन्द्र खड्का, उनकी श्रीमती सरस्वती भण्डारी खड्का, २ वर्षीय छोरा रोमन खड्का र वडा नं. ५ की अमृता परियार रहेका छन् । बेपत्ताको खोजीका लागि उनीहरुको परिवार उत्तराखण्ड पगेका छन् भने बेपत्ता भएकोहरूको अवस्था हालसम्म अज्ञात रहेको आफन्तहरूले बताएका छन् । यस्तै बाढीमा परि जाजरकोटका १३ जना बेपत्ता भएका छन् । बेपत्ता भएकाहरुमध्ये ७ जनाको मृत्यु भएको जाजरकोट कुशे गाउपालिकाका अध्यक्ष हरिश चन्द्र बस्नेतले पुष्टि गरेका छन् । अन्य बेपत्ता भएकाहरु भने सम्पर्कमा आएको जानकारी अध्यक्ष बस्नेतले दिए ।

मृतकहरुको शव नेपाल ल्याउनका लागि संघीय सरकारसँग पहलका लागि आग्रह गरेको अध्यक्ष बस्नेतले बताए । यता पहिरोमा परि नेपालीहरु पनि बेपत्ता भएपछि नेपाल सरकारले खोजीका लागि कूटनीतिक पहल गरिरहेको छ । नेपालीहरु बेपत्ता भएको जानकारी पछि भारतको दिल्लीस्थित नेपाली राजदूतावासले भारतको स्थानीय प्रशासनसंग समेत सम्पर्क गरी कूटनीतिक पहल गरिरहेको जनाएको छ । विपदमा परेका मध्ये हालसम्म ३७२ जनाको उद्धार गरिएको त्यसमा २ जनाको मृत्यु भएको जानकारी उत्तराखण्ड प्रहरीले दिएको छ । तर मृतकको सूचीमा नेपाली नागरिक नपरेको र ७ जना नेपालीको मृत्यु भएको खबर बाहिर आएपनि हालसम्म आधिकारिक जानकारी नआएको भारतीय दुतावासले जनाएको छ ।

दुतावासका अनुसार बाढीमा परि घाइते भएका तीन जना नेपाली उपचार पछि घर फर्किएको र १ जनाको उपचार भइरहेको छ । बाढीले धेरै स्थानमा बिगारेकाले सडक मार्गबाट घटनास्थल पुग्न समस्या भएकोले हेलिकप्टर मार्फत घटनास्थलमा जाने प्रयास भइरहेको दुतावासले जनाएको छ । यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मित्रराष्ट्र भारतको उत्तराखण्डमा बाढीले ठूलो जनधनको क्षति पुगेको दुःखद खबरले चिन्तित भएको बताएका छन् । बाढीमा १७ जना भन्दा बढी नेपाली नागरिक पनि हराएको खबर आएकोले नेपालीहरुको उद्दारको लागि दूतावास मार्फत कुटनीतिक पहल भइहरेको प्रधानमन्त्रीले जानकारी दिएका छन् ।

यस्तै परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले उत्तराखण्डमा आएको बाढीमा परी हराएका भनिएका नेपाली नागरिकको खोजी एवं उद्धारका लागि कूटनीतिक पहल सुरु भइसकेको बताएकी छिन् । सो बाढीमा परेर नेपाली नागरिक पनि बेपत्ता भएको भन्ने खबरले आफू निकै दुःखी भएको बताउँदै परराष्ट्रमन्त्री डा. राणाले उनीहरुको खोजी र उद्धारका लागि नेपाल सरकारले कूटनीतिक पहल थालेको सामाजिक सञ्जालमार्फत बताएकी छिन् । हराएका नेपाली नागरिकको खोजी तथा उद्धारका लागि भारत सरकारको समन्वयमा तदारुकताका साथ लाग्न नयाँदिल्लीस्थित नेपाली राजदूतावासलाई निर्देशन दिएको समेत परराष्ट्रमन्त्री डा. राणाले जानकारी दिएकी छन् ।

भारतको उत्तराखण्डको उत्तरकाशी जिल्लाको पर्यटकीय गाउँ धराली बजार अत्याधिक वर्षापछि आएको बाढीले पुरै ध्वस्त भएको थियो । होटलहरु भएको क्षेत्रमा अझै धेरै मानिसहरु फसेकोले उद्धार कार्य जारी राखिएको छ तर हिलो र लेदोले होटेलहरु पुरिएकोले उद्धार कार्यमा कठिनाइ भएको छ ।

Health Tips Ad Road Block