काठमाडौं । भदौ ३ गतेदेखि ८ गतेसम्म सञ्चालन हुने नाडा अटो शो–२०२५ मा उड्ने कारदेखि रोबोटसम्म राखिने भएको छ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आज पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो । नेपालको ठूलोमध्येको एक उक्त शोको उद्घाटन उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गर्ने एशोसिएशनले जनाएको छ ।
नाडा अटो शो केवल प्रदर्शनी मात्र नभई नेपालको दिगो, स्मार्ट र भविष्यमुखी मोबिलिटीको प्रतिबिम्ब रहेको नाडाका अध्यक्ष करण चौधरीले बताए । ‘गो फर मोर’ भन्ने नारासहित आयोजना हुने यस वर्षको नाडा अटो शो ले नवीनतम प्रविधि, ग्राहक संलग्नता र अटो क्षेत्रको सम्पूर्ण पारिस्थितिकी तन्त्रलाई एकै छानामुनि ल्याउने आयोजकको भनाई छ । नाडा अटो शो–२०२५ मा निम्न विशेष प्रविधिहरू स्वचालन र बुद्धिमत्ताको नयाँ युगको प्रतिकस्वरूप उन्नत चारपांग्रे रोबोट, भविष्यको शहरी हवाई मोबिलिटीको पहिलो झलक जस्ता प्रविधिहरु प्रस्तुत गर्ने बताएको छ ।
स्वचालन र बुद्धिमत्ताको नयाँ युगको प्रतीकस्वरूप उन्नत चारपांग्रे युनिटरि रोबोट्स, दिपल इभोटल युएभि सहित १९ वटा चारपांग्रे ब्रान्डहरू, १३ वटा हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू, ४ वटा दुईपांग्रे सवारी ब्रान्डहरूले शो मा सहभागिता जनाउँदै छन् । त्यसैगरी शोमा ३५ वटा कम्पनी (ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र वित्तीय संस्थाहरू), १२५ भन्दा बढी प्रदर्शकहरू रहेनछन् भने करीब १ लाखभन्दा बढी आगन्तुकहरुले शो को भ्रमण गर्ने आयोजकले जनाएको छ ।
हरेक वर्ष आयोजना हुँदै आएको नाडा अटो शोमा यो वर्ष विशेष आधुनिक उपकरण देख्न पाइने भएको छ । एमएडब्लु बृद्धि आधिकारिक वितरक रहेको युनिट्री ‘नाडा अटो शो २०२५’ को टाइटल स्पोन्सर समेत रहेको छ ।






















