skip this News Page Tips Ad Road Block

काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल आजदेखि सञ्चालनमा, प्रारम्भिक चरणमा निःशुल्क सेवा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल साउन १६ गते शुक्रबार आजदेखि सञ्चालनमा आएको छ । अस्पतालको उद्घाटन बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले गरे। उनले काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पतालको पुनः सञ्चालन स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको क्षेत्रमा एक सकारात्मक र स्वागतयोग्य कदम रहेको बताए। उनले भने, ‘म अस्पतालमा संलग्न सम्पूर्ण टिमलाई हार्दिक शुभकामना व्यक्त गर्दछु। जनउत्तरदायी, गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा प्रवर्द्धनमा बागमती स्वास्थ्य मन्त्रालयको साथ सहयोग रहन्छ।’

काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल सञ्चालनको अवसरमा सर्वसाधारणलाई लक्षित गर्दै प्रारम्भिक चरणमा निःशुल्क ओपीडी सेवा प्रदान गर्ने निर्णय गरेको अस्पतालले जनाएको छ । यो सेवा अर्को सूचना जारी नहुँदासम्म निरन्तर निःशुल्क रूपमा उपलब्ध गराइने बताइएको छ।

यसका अतिरिक्त, अस्पतालका अन्य सेवा क्षेत्रमा पनि प्रारम्भिक रूपमा विशेष छुटको व्यवस्था गरिएको छ। विशेषज्ञ सेवा अन्तर्गत जेनेरल मेडिसिन, सर्जरी, स्त्री तथा प्रसूति रोग, हाडजोर्नी, बाल रोग, मानसिक स्वास्थ्य, छाला तथा यौन रोग, सौन्दर्य उपचार, नाक कानघाँटी, आँखा, नसा, मुटु, किड्नी, मूत्र र छाती रोगसम्बन्धी सम्पूर्ण सेवा पूर्णतः निःशुल्क उपलब्ध हुनेछ।

त्यसैगरी आपतकालीन सेवा २४ सैं घण्टा सञ्चालनमा रहनेछ भने एम्बुलेन्स, प्रयोगशाला, अल्ट्रासाउण्ड, एक्सरे र फिजियोथेरापी सेवामा पनि छुट दिइनेछ। साथै अस्पताल परिसरमै फार्मेसी सेवा पनि उपलब्ध गराइएको छ, जसले बिरामीहरूलाई थप सुविधा दिने बताइएको छ।

यसअघि नेपाल मेडिकल कलेज र नेशनल मेडिकल कलेज सञ्चालनको सफल अनुभव रहेको टिमले नै काठमाडौं नेशनल मेडिकल कलेजको सञ्चालन गरेकाे कलेजका अध्यक्ष बसुरुद्दिन अन्सारीले उद्घाटनका क्रममा भने । ‘आजको दिन हाम्रो लागि अत्यन्तै महत्वपूर्ण, हर्षको र ऐतिहासिक दिन हो। केही समय स्थगनमा रहेको काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताललाई हामीले आजदेखि सञ्चालन गरेका छौं। यो अस्पताल पुनः सञ्चालनमा ल्याउनुको मूल उद्देश्य भनेकै मेडिकल शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवालाई पुनः सशक्त बनाउनु हो। हामीलाई थाहा छ–स्वास्थ्य उपचार आजको समाजको आधारभूत आवश्यकता हो। हाम्रा जनतालाई सुलभ, सहज र गुणस्तरीय सेवा उपलब्ध गराउनु हाम्रो कर्तव्य मात्र होइन, हाम्रो प्रतिबद्धता पनि हो।’ अन्सारीले भने, ‘यसै सन्दर्भमा हामीले अस्पताल पुनः संचालनको प्रारम्भिक चरणमा सबैका लागि निःशुल्क तथा छुटमा सेवा सुरु गरेका छौं। विगतमा हामीले सञ्चालन गरेका नेपाल मेडिकल कलेज र नेशनल मेडिकल कलेजको सफल अनुभवको सन्दर्भमा यो अस्पताललाई अझ मजबुत, प्रभावकारी र समाजोपयोगी बनाउन समर्पित छु। हामी चाहन्छौं कि यो संस्थाले न केवल उपचार सेवा, तर चिकित्सा शिक्षाको क्षेत्रमा पनि एक आदर्श मानक स्थापित गरोस्।’

अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जहाँगिर अन्सारी भन्छन्, ‘काठमाडौं शहरको केन्द्रमा अवस्थित काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमार्फत हामी नागरिकहरूलाई गुणस्तरीय, सुलभ र सस्तो स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यमा प्रतिबद्ध छौं। हामी समुदायप्रति उत्तरदायी रहन चाहन्छौं। यही भावनाका साथ अस्पताल पुनः सञ्चालनको अवसरमा हामीले निःशुल्क सेवा उपलब्ध गराउने निर्णय गरेका छौं, जसमार्फत हामी आम नागरिकप्रति आफ्नो उत्तरदायित्व र प्रतिबद्धता प्रस्तुत गर्न चाहन्छौं। हाम्रो उद्देश्य मात्र अस्पताल सञ्चालन गर्नु होइन, स्वास्थ्य र शिक्षा दुवै क्षेत्रमा दीर्घकालीन योगदान दिनु हो। यसै सन्दर्भमा हामी सबै सेवाहरूलाई सहज, गुणस्तरीय र जनमुखी बनाउने दिशामा काम गरिरहेका छौं ।’

अस्पतालका व्यवस्थापक दिलिप साहको भन्छन्, ‘हामीले यस पुनः सञ्चालनलाई नागरिकहरूको विश्वास जित्ने, उनीहरूलाई गुणस्तरीय सेवा प्रदान गर्ने र स्वास्थ्य तथा स्वास्थ्य शिक्षा क्षेत्रमा हाम्रो उत्तरदायित्व पुरा गर्ने अवसरका रुपमा लिएका छौं । काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल सञ्चालनको अवसरमा हामीले सर्वसाधारणलाई लक्षित गर्दै प्रारम्भिक चरणमा निःशुल्क ओपीडी सेवा प्रदान गर्ने निर्णय गरेका छौं। यो सेवा अर्को सूचना जारी नहुँदासम्म निरन्तर निःशुल्क रूपमा उपलब्ध गराइनेछ।’

यसका अतिरिक्त अस्पतालका अन्य सेवा क्षेत्रमा पनि प्रारम्भिक रूपमा विशेष छुटको व्यवस्था गरिएको छ। त्यसैगरी आपतकालीन सेवा २४ सैं घण्टा सञ्चालनमा रहनेछ भने एम्बुलेन्स, प्रयोगशाला, अल्ट्रासाउण्ड, एक्सरे र फिजियोथेरापी सेवामा पनि छुट दिइनेछ। साथै अस्पताल परिसरमै फार्मेसी सेवा पनि उपलब्ध गराइएको छ, जसले बिरामीहरूलाई थप सुविधा दिने साहले बताए ।

Health Tips Ad Road Block