काठमाडौं । आज साउन १५ खीर खाएर देशभर मनाइँदै छ । प्रत्येक वर्ष साउन पन्ध्रका दिन खीर खाने प्रचलन नेपाली समाजमा रहीआएको छ । साउने झरी पर्ने बेलामा दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यस्तो परम्परा बसेको जानकारहरूकाे भनाइ छ ।
साउन १५ नेपालको कृषि मौलिक संस्कृतिसँग जोडिएको पर्व हो । हामीले हाम्रो देशको पहिचान जोगाउन पनि यस्ता किसिमका चाड, पर्व, दिवस, रितिरिवाज ,परम्परा जोगाउँदै भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्छ । कुनै पनि देशको पहिचान भनेकै यस्तै मौलिक किसिमका कुराहरु नै हुन् ।
यस अवसरमा देशभर करीब ८० लाख लिटर दूध खपत हुने र सो बापत करिब १ अर्ब ४० करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ ।
जानाकारहरुका अनुसार मानव स्वास्थ्य र खीरको सम्बन्ध अत्यन्तै महत्वपूर्ण छ । खीर केवल स्वादका लागि मात्र होइन, स्वास्थ्य लाभका लागि पनि उल्लेखनीय छ । पोषणको खानी दूध र चामलमा प्रोटिन, क्याल्सियम, कार्बोहाइड्रेट, भिटामिन बी–कम्प्लेक्स पाइन्छ । हड्डी र दाँत मजबुत बनाउन क्याल्सियम र भिटामिन डीको कारण शरीरलाई बलियो बनाउँछ । सहज पाचन हुने हुँदा खीर सजिलै पच्ने र पेटलाई आराम दिने परिकार हो । असार साउनमा किसानले हिलो पानीमा काम गरेका कारण पनि खीरमा रोग प्रतिरोधात्मक क्षमता हुने हुँदा दूधमा पाइने प्राकृतिक तत्वले शरीरलाई रोगसँग लड्ने क्षमता अझ बढी नै दिन्छ । अझ खीरमा सबै मसलाको मिश्रण गरम मसला राखेर बनाइने हुँदा पनि यो साउनमा किसानका लागि एकदमै लाभदायक हुन्छ । खीरको उपभोगले मानसिक शान्ति, मिष्ठान भोजन, परिवारसँग बसेर खीर खाने वातावरणले मनमा खुशी र शान्ति ल्याउँछ ।
यसका साथै यी सबै चाड पर्वले पारिवारिक एकता, मिलन, सन्तुलन आहार सबै कुरालाई मिलाएको देखिन्छ ।






















