Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

पर्वतारोहण संघको अध्यक्षकाे बलियो प्रतिष्पर्धिका रुपमा फुर ग्याल्जेन शेर्पा, यस्ता छन् उनका मुख्य एजेण्डा !(अन्तर्वार्ता)

को हुन् शेर्पा ?

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) को आगामी निर्वाचनका लागि अध्यक्षमा फुर गेल्जे शेर्पा (फुर्वा)  ले उम्मेदवारी घोषणा गरेका छन्। भदौ ७ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने संघको निर्वाचनमा शेर्पाले ‘पर्वतीय पर्यटनको विकास, संरक्षण र सम्बद्र्धनका लागि ‘मेरो उम्मेदवारी’ भन्ने नारासहित आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्। प्रस्तुत छ यसै सन्दर्भमा अर्थ प्रणाली डट कमले अरु बलिया प्रतिष्पर्धिका बीचमा तपाईँको उम्मेदवारी किन र तपाईँले जित्नुभयो भने के गर्नुहुन्छ भनेर अध्यक्षका प्रत्यासी फुर गेल्जे शेर्पा (फुर्वा) सँग गरेको कुराकानीसहितको सम्पादित अंश

एनएमएको नेतृत्व हत्याउन कडा प्रतिस्पर्धीहरूको बीचमा अगाडि बढ्नुभएको छ तपाईँलाई लाग्छ जित्छु भनेर ?

म निश्चित रुपमा जित्छु भनेर उठेको हो । म कन्फर्म छु र जित्छु ।

जित्छु भन्ने आधार के हो ?

मुख्य कुरा मैले अहिलेसम्म इमान्दारितापूर्वक पर्यटन उद्योगको क्षेत्रमा काम गरेको छु । माउन्टेन क्षेत्रको लागि काम गरेको छु । वातावरण संरक्षणका को लागि काम गरेको छु । पर्यटनको विकास र वृद्धिको लागि आफ्नो जीवनभर यसैमा समर्पित भएर काम गरेको छ । नेपाल पर्वतारोहण संघमा एक कार्यकाल काम गरेर बुझेको छु । अन्तर्राष्ट्रिय विभागमा गएर पनि काम गरेको छु । पर्वतारोहण संघ र टान भनेका नजिकका संस्था हुन् । टानको महासचिव, उपाध्यक्ष, वरिष्ठ उपाध्यक्षको रुपमा काम गरेको छु । नेपाल पर्यटन बोर्डमा दुई कार्यकाल काम गरेको छु । नेपाल एयरलाइन्समा एक कार्यकाल काम गरेको छु । मेरो अध्ययन–अध्यापन पनि माउन्टेन टुरिजमसँगै सम्बन्धित छ । योसँगै माउन्टेन टुरिजमसँग लेख रचना लेख्ने साथीहरुसँग म जमघट र भेटघाट गरिरहेको हुन्छु । त्यसैले यो क्षेत्र बुझेको छु र इमान्दारितापूर्वक अहिलेसम्म काम गरेको कारणले मलाई सबै साथीहरुले विश्वास गर्दछन् भन्ने लाग्दछ । त्यसैले साथीहरूकै अनुरोधमा मैले यसपालि उम्मेदवारी घोषणा गरेको हुँ ।

आफूले कति भोट ल्याउँछु भन्ने अनुमान छ तपाईँलाई ?

यो निर्वाचन हो निर्वाचनमा यति नै भोट आउँछ भन्न सकिँदैन तर मेजोरिटी भोट मैले ल्याएर जित्नेछु । अहिले ८०५ जना मतदाताहरू छन् । यसमध्ये ७५० हाराहारीमा मत खस्न सक्ने अनुमान गर्न सकिन्छ । त्यसको मेजोरिटी भोट ल्याएर म जित्नेछु ।

यदि तपाईँले एनएमएमा जित्नुभयो भने भोलिका दिन तपाईंले के काम गर्नुहुन्छ, पाँचवटा काम भन्नुहोस्, धेरै नभन्नुहोस् ?

नम्बर १ आरोहीहरूको कल्याणकारी कोषलाई प्रभावकारी बनाउँछु । जुन अहिले प्रभावकारी छैन ।

नम्बर २ नेपालमा अन्तर्राष्ट्रिय स्तरको माउन्टेन एडभेन्चर विश्वविद्यालय खोल्छु । त्यो नेपालको लागि अत्यन्त जरुरी कुरा हो । अहिले नेपालमा भएको अनुपम सम्पदाहरूलाई प्रयोग गर्न सकिरहेको छैन । त्यसलाई प्रयोग गर्न पहल गर्छु । नेपालमा छरपष्टरुपमा तालिम केन्द्रहरू स्थापना गरिएका छन् । तिनीहरूलाई विश्वविद्यालयमार्फत ल्याएर एकीकृत रुपमा अगाडि बढाउँछु ।

नम्बर ३ नेपालका हिमाली क्षेत्र र गन्तव्यहरू पहिचान छ तर विकास हुन सकेका छैनन् । जस्तै रोल्वालिङ, मनास्लु, मेरा लगायतका गन्तव्यको डिपिआर तयार पार्छु । ती स्थानहरूलाई सुरक्षित गराएर बढीभन्दा बढी पर्यटक पुर्याउने काम गर्छु ।

नम्बर ४ नेपाल पर्वतारोहण संघको नाममा नुवाकोटको ककनीमा १४५ रोपनी जग्गा रहेको छ । यो काठमाडौंबाट नजिकैको दूरीमा रहेको छ । त्यसलाई अन्तर्राष्ट्रिय स्तरको क्लाइम्बिङ ट्रेनिङ गर्न सक्ने बनाउँछु । माउन्टेन मेमोरियल पार्कको रूपमा त्यहाँ अवधारणा अगाडि सारिकिएको छ । त्यसलाई अन्तर्राष्ट्रिय स्तरको माउन्टेन मेमोरियल पार्क बनाउँछु ताकि विदेशीहरु नेपालमा आइसके पछाडि एक दिन त्यो ठाउँमा घुमेर आउन सकुन् । त्यो ठाउँको विकासमा म लाग्नेछु ।

नम्बर ५ पोखरामा अन्तर्राष्ट्रिय म्युजियम छ । त्यो म्युजियममा १०० रोपनी जग्गा छ । त्यसको आधाभन्दा बढी भूभाग अझै पनि प्रयोगमा आउन सकेको छैन । त्यसलाई प्रयोगमा ल्याउने काम गर्छु । सङ्घीय र प्रदेश सरकारसँग मिलेर अन्तर्राष्ट्रियस्तरको म्युजियमलाई पनि अन्तर्राष्ट्रिय स्तरकोमा स्तर उन्नति गर्छु । त्यति गरिसकेपछि पोखरा आउने पर्यटकका लागि त्यो ठाउँ एकदिन घुम्ने, बस्ने ठाउँ हुनसक्छ । तपाईँले पाँचवटा भन्नुभएकोले मैले यति भनें । यी बाहेक पनि मेरा थुप्रै एजेन्डाहरू छन् । म टिम गठन गर्छु । टिममा पदाधिकारी साथीहरु आउनुहुन्छ । विज्ञ साथीहरु छान्छु र उहाँहरूको सल्लाहमा नयाँ विषयहरू अगाडि सार्छु ।

सरकारले पिक खोस्नेदेखि विविध गतिविधि गरिरहेको छ भनेर व्यवसायीहरुले बेलाबेलामा भनिरहेका छन् लगायत अरु चुनौतीहरू पनि छन् होला नि, त्यसतर्फ चाहिँ तपाईंको ध्यान जाँदैन ?

पिकहरूका विषयमा म बसेरै सरकारसँग सशक्त रूपमा कुरा गर्छु । भएका समस्याहरु निराकरण गरेर समस्या आउन नदिने वातावरण बनाउँछु ।

तपाईँलाई कस्ता साथीहरुले सपोर्ट गर्लान् ?

नितान्त व्यवसायी, एडभेन्चर बुझेका, साथीहरुले मलाई सपोर्ट गर्नुहुन्छ । ट्रेकिङ, माउन्टेन बुझेका व्यवसायी, पर्वतारोही, आरोही एवं मलाई बुझेका सार्थीहरुले सपोर्ट गर्नुहुन्छ । अहिले उम्मेदवारी दिनु सबैको अधिकारको कुरा हो । सबैको चाहना छ । एनएमए भनेको नेपालको अल्पाइन क्लब हो । अन्तर्राष्ट्रिय जगतमा राम्रो छवि बनाएको संस्थामा जो कोही नेतृत्वमा आउन चाहन्छन् । यो स्वभाविक कुरा हो । यसलाई अन्यथा लिनुहुँदेन ।

चुनावबारे दुविधा छ नि कसरी अगाडि बढिरहनुभएको छ ?

यस क्षेत्रका सम्पूर्ण व्यवसायीहरूसँग छलफल गरेर नै म अगाडि बढिरहेको छु । सबै समुदायको साथीहरू आउनुभएको छ । सबै भूगोल, सबै क्षेत्रका साथीहरुले एक स्वरमा यसपालीको उम्मेदवार तपाईँ हो भनेर भन्नुभएको छ । त्यो हुनाले म मैदानमा आएको हो ।

तपाईँलाई राजनीतिक समर्थन कसको छ ?

मलाई नेपालका ठूला राजनीतिक पार्टीहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रले पनि उठाउनुहुन्थ्यो होला । म नितान्त व्यावसायिक व्यक्ति भएकोले व्यवसायीहरूको साथ पाएर आएको छु । यसो भन्दै गर्दा अरु साथीहरुले जे गर्नुभएको छ त्यसको पनि म सम्मान गर्दछु । यो आ–आफ्नो अधिकार र आफ्नो इच्छाको कुरा हो तर म नितान्त व्यवसायीको हितको काम गर्ने हुनाले व्यावसायिक ढङ्गले नै मैले आफ्नो उम्मेदवारी अगाडि बढाएको छु । मेरो टिममा काम गर्नको लागि राम्रो मान्छे नेपाली कांग्रेसबाट आउन सक्दछन्, नेकपा एमालेबाट आउन सक्दछन्, नेकपा माओवादी केन्द्रबाट आउन सक्दछन् वा अरु कुनै दलबाट आउन सक्दछन् । व्यवसायिक मान्छे र व्यवसाय बुझेको मान्छे, अल्पाइन, एडभेन्चर, टुरिजम बुझेको हुनुपर्दछ । त्यस्ता साथीहरूको साथ मलाई स्वीकार्य छ । मेरो टिममा उहाँहरुको साथ रहेको छ ।

अन्तिममा केही भन्नुहुन्छ ?

यो संस्थाको विकासको लागि नै मैले उम्मेदवारी दिएको हो । यो संस्थालाई अगाडि बढाउन राज्यका संयन्त्र, मन्त्रालय, पर्यटन बोर्ड लगायतसँग मिलेर यो संस्थाको विकासको लागि अगाडि बढ्ने मेरो उद्देश्य हो । सबै माउन्टेन टुरिजमलाई आत्मसाथ गर्नेहरु, अध्ययन गर्नेहरू, विकास वृद्धिमा लाग्नेहरु, उद्योगको हित चाहनेहरुसहित सबै साथीहरुलाई मलाई सपोर्ट गर्न अनुरोध गर्दछु ।

 

शेर्पाको उम्मेदवारी र अरु विषयः

को हुन फुर गेल्जे शेर्पा (फुर्वा) ?

सोलुखुम्बु जिल्ला खुम्बु पासाङल्हामु गाउँपालिका गाउँपालिका वडा नम्बर ३ मा जन्मिएका शेर्पा सानैदेखि ट्रेकिङ र आरोहण क्षेत्रमा काम गर्दै पढ्दै आरोहण क्षेत्रमै सक्रिय भए। उनले पढाई र कामलाई समानन्तर रुपमा अगाडि बढाए । पढाइ सकेपछि आफ्नै कम्पनी खोलेर व्यवसायिक यात्रालाई उनले अगाडि बढाइरहेका छन् । सोलुखुम्बुको सगरमाथा पर्ने स्थानमै खुम्जुङमा उनले अध्ययन गरेको हुन् र जीवनकाल बिताएको हुन् । त्यो भएको हुनाले मैले हिमाल र माउन्टेन टुरिजममा अलि बढी ज्ञान राख्दछु, उनी भन्छन् । ट्रेकिङ, होटल, हेली एभरेस्ट लगायतमा पर्यटन क्षेत्रमा उनको लगानी छ ।

उनले ६ हजारभन्दा माथिको १ वटा हिमाल आरोहण गरेका छन्। ‘सगरमाथा आरोहण गर्ने सपना भएपनि चार दशक अघि अहिलेको जस्तो हिमाल आरोहण गर्दा पर्याप्त इकुमेन्टहरु नभएको र वर्षेनी ठूलो संख्यामा हिमाल चढ्न जाने शेर्पाहरुको ज्यान जाने भएकोले परिवारबाट त्यो बेलामा अनुमति पाइन’ उनले भने ‘बाउ आमाको एक्लो सन्तान भएकोले पनि हिमाल चढ्नका लागि रोक्नु भयो।’

हिमाल नचढेपनि त्यस क्षेत्रमा काम गरे र हिमाल चढेर आउनेहरुसँग त्यस क्षेत्रको बारेमा राम्रा नराम्रो विषयमा सोधखोज गरिरहन्थ्ये। र, केहि समस्याहरु आएमा सरकारका प्रतिनिधिहरुलाई भनेर समधानका लागि पहल गरिरहन्थ्ये।

हिमाली क्षेत्रको रहनसहन, समस्या र त्यहाँको वातावरणको बारेमा नजिकबाट नियाल्थ्ये। उनी बाल्यकालदेखि अहिलेसम्म पर्वतीय पर्यटनसँग निकट नै भएर काम गरिरहेका छन्।

पर्वतारोहणसँगमा उनी पहिलो पटक सन् १९९९ देखि २००२ सम्म कार्यसमिति सदस्य भए। पछि एक कार्यकाल पर्वतारोहण संघमै विदेश विभाग प्रमुखको रुपमा पनि उनले काम गरे। पर्वतारोहण संघले आयोजना गरेको रक्तदान कार्यक्रम, वालक्लाइमिङ प्रतियोगितामा तीन पटक संयोजक भएर काम गरिसकेका छन्।

शेर्पाले गाउँमै बीस शैयाको अस्पताल निर्माण गरी संचालनमा ल्याएर डाक्टर, नर्सहरु राखेर स्थानीयलाई निशुल्क सेवा दिइरहेको बताएका छन् ।

संघको अध्यक्षमा उम्मेदवारी घोषणा गर्दैगर्दा शेर्पाले संघको विधान र परिधि भित्र रहेर आफ्नो सदस्यहरुको हकहित संरक्षणका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन्। उनले संघको सदस्य भएकोमा प्रत्येक सदस्यले गर्व महसुस गर्ने गरी सरकारसँग समन्वय गरी अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि उकास्न विभिन्न परियोजनाहरु सञ्चालन गर्ने उद्घोष गरेका छन् ।

यस्तै माथि भनिएजस्तै आरोहीहरुको हकहित संरक्षणका लागि र आपतकालिन उदारका लागि आरोही कल्याणकारी कोषलाई व्यवस्थित गर्ने प्रतिबद्धता उनको छ । हाल सरकारले यो कोष बनाउने घोषणा गरेपनि पूर्णता पाउन सकिरहेको छैन। हिमाल सम्बन्धी अध्ययन गर्ने राम्रो विद्यालयहरु र विश्वविद्यालय नभएको कारणले धेरै नेपालीहरुले विदेशमा गएर पढ्नु पर्ने र सिक्नु पर्ने बाध्यता रहेको भन्दै त्यसलाई ऋन्त्य गराउन लागिपर्ने उनको घोषणा छ ।

‘अहिले पर्वतारोहण सम्बन्धी पढाइ भने केहि कलेजमा हुन्छ। तर, विश्व विद्यालयकै रुपमा नेपालमा नभएकोले माउन्टेन एडभेन्चर युनिभर्सिटी खोल्नका लागि सुरुवात गर्ने छु’, शेर्पाले भने, ‘माउन्टेन टुरिजम युनिभरसिटी नेपालमा खोल्न सकियो भने सम्पूर्ण आरोहण गतिविधि सम्बन्धी पढ्न जाने हजारौं युवाहरुले नेपालमै पढ्न पाउछन्।’

अहिले पनि केही युवाहरुले अन्तर्राष्ट्रिय माउन्टेन गाइड एसोसिएसन महासंघ (युआइएजीएम) को सदस्य लिएका छन्। ती युवाहरुले स्प्रिङ र अटम सिजनमा नेपालमा काम गर्छन् र वीन्टर सिजनमा संसारभर गएर काम गरिरहेको उनले बताए। ‘यो अध्ययन नेपालमै हुने वातावरण सिर्जना भएमा ती युवाहरु विदेशमा गएर काम गर्नुपर्ने बाध्यता नै हट्छ। यही बसेर लाखौं रुपैयाँको काम गर्न सक्छन्। नेपालमै राम्रो विश्वविद्यालय सञ्चालन गर्न सके विश्वभरका विद्यार्थीहरु समेत यहि पढ्न आउछन्,’ शेर्पाले भने ‘किन कि हामी कहाँ त विश्वविद्यालय मात्र हैन उनीहरुले तालिम पनि संसारकै सबैभन्दा अग्लो हिमालमा गर्न पाउँछन्। जुन विदेशमा छैन।’

पर्वतारोहण संघको पहलमा माउन्टेन टुरिजम युनिभर्सिटी सञ्चालन गर्न सकेमा विश्वका लागि गर्वको विषय हुने र विदेशीहरुलाई अध्ययनका लागि पनि ल्याउन सकिन्छ भन्ने उदाहरण हुनसक्ने उनले बताए। ‘विश्वमा नेपालले दिन सक्ने सबै भन्दा ठूलो परिचय भनेकै माउन्टेन टुरिजम हो। जहाँ विश्वमा नभएको हिमाल हामीसँग छ, यसको भूमिका पर्वतारोहण संघले गर्र्नुपर्छ र मेरो प्रमुख एजेण्डानै यहि छ’ उनले भने।

विश्वकै सबैभन्दा अग्लो सगरमाथा हिमाल रहेको मुलुकमा अहिलेसम्म सुविधा सम्पन्न आरोहणसम्बन्धी तालिम केन्द्र छैन। त्यसका लागि उत्कृष्ठ खालको तालिम केन्द्र सञ्चालन गर्ने उनले प्रतिबद्धता जनाएका छन्। हाल कोङबुचे, थामे, मनाङ, पोर्चे लगायतका ठाउँमा तालिम केन्द्र सञ्चालनमा रहेपनि समन्वयकारी भूमिका पर्वतारोहण सघंले गर्न नसकिरहेको अवस्थामा त्यसलाई साथमै लिएर उत्कृष्ठ बनाउने तर्फ ध्यान केन्द्रित गर्दै त्यसलाई अझ राम्रो बनाउँदै अन्तर्राष्ट्रिय स्तरको तालिम केन्द्रको रुपमा विकास गरी विदेशीहरुलाई समेत नेपालमा ल्याउने वातावरण मिलाउने उनको भनाइ छ।

प्रकृतिले नेपालमा सबैभन्दा अग्लो हिमाल दिएको छ र ८ हजार भन्दा माथिका धेरै हिमालहरु नेपालमै छन्। तर नेपालीहरुले राम्रोसँग हिमाल सम्बन्धी पढ्न नपाएको कारणले अहिले पनि धेरै विदेशी टुर गाइडहरु नेपालमा आएर काम गरिरहेका छन् र सिकाइरहेका छन् । त्यसैले अब नेपालीलाई नै सक्षम बनाउने आफ्नो अभियान भएको उनको दाबी छ ।

विश्व किर्तिमानीहरुलाई विमानस्थलमा विषेश सुविधा

अध्यक्षमा निर्वाचित भएपछि हिमाल आरोहण गरेर विश्व किर्तिमानी राखेकाहरुलाई अन्तर्राष्ट्रिय विमानस्थलहरुमा विषेश सुविधा उपलब्ध गराउनका लागि सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाएका छन्। ‘विश्व किर्तिमानी भनेको सामान्य विषय हैन, त्यसैले रेकर्डधारीहरुलाई विषेश सम्मान दिनका लागि विमानस्थल आवतजावतमा छुट्टै व्यवस्था गरेर आफ्नो किर्तिमानी प्रति गर्व महसुस गर्ने वातावरण मिलाउने प्रतिबद्धता मेरो छ । शिर ठाठो हुनु भनेको आम नेपालीको शिर ठाडो हुनु हो, त्यसैले किर्तिमानी आरोहीहरुको सम्मानका लागि सरकारसँग विषेश पहल गरेर निर्णय गरी कार्यान्वयनमै लैजाने छु।’ उनले भने ।

हिमाल जोगाउन विषेश पहल

अहिले जलवायु परिवर्तनको नाममा विभिन्न एनजिओ र आइएनजिओहरुले कमाई खाने माध्यमको रुपमा प्रयोग गरिरहेको उनको आरोप छ। ‘हिमाली क्षेत्रमा जलवायु परिवर्तनको कारणले हिमाल र हिमाली क्षेत्रमा ठूलो क्षति हुँदै गएको छ। तर, सहरमा त्यहि हिमाल संरक्षण र जलवायु परिवर्तनको बारेमा गोष्टी गरेर करोडौ रुपैयाँ स्वाहाँ बनाइरहेको छ’ शेर्पाले भने, ‘हिमाली क्षेत्रमा पछिल्लो समय वर्षैै पिच्छे हिमतालहरु फुटिरेहका छन्, हिम पहिरो गइरहेको छ। त्यसैले जलवायु परिवर्तनले कहाँ कहाँ असर गरेको छ र त्यसबाट बचाउनका लागि के के गर्न सकिन्छ र के गर्ने भन्ने विषयमा सम्बन्धीत ठाउँमा त्यहीका पर्वतारोहीहरुसँगै समन्वय गरेर जिम्मेवारी दिने छु।’उनीहरुको सुझाव अनुसार कुन क्षेत्रमा के के गर्दा संरक्षण हुन्छ र हिमाल जोगाउन सकिन्छ भनेर काम गर्ने र जलवायु परिवर्तन सम्बन्धी काम गर्ने सघंस्थाहरुसँग समन्वय गरेर अगाडी बढ्ने बताए।

स्थानीयस्तरमै रेस्क्यू टिम

युरोप, अमेरिका लगायतका मुलुकहरुमा आरोहणमा जानेहरुको उद्धारका लागि छुट्टै रेस्क्यू टिम बनाएको हुन्छ। नेपालमा अहिलेको सबैभन्दा ठूलो समस्या भनेकै रेस्क्यू टिम ढिला पुग्नु नै हो। जब खराब मौसम हुन्छ त्यो बेला ठूला दुर्घटनाहरु हुने गरेको छ। जति बेला मौसम बिग्रिन्छ त्यो बेला हुने दुर्घटनाको क्रममा खोज तथा उद्धारका लागि टिम पठाउन निकै समस्या हुन्छ। रेस्क्यूमा विज्ञता भएकाहरु सबै काठमाडौंमा हुने भएकोले मौसममा आएको समस्याको कारणले तीन चारदिनसम्म पठाउन सकिँदैन।

त्यसैले हिमाली क्षेत्रहरुमा त्यहीका स्थानीयहरुलाई रेस्क्यूसम्बन्धी तालिम दिने र रेस्क्यूका सम्पूर्ण उपकरणहरु नै त्यहि ठाउँमा राख्ने योजना उनको छ। त्यस्तै ती सबै तालिम प्राप्तहरुलाई हरेक वर्ष तालिम दिने र उनीहरुको सबै सम्पर्क विवरणहरु एकिकृत गरेर राख्दा जुनसुकै बेला हुने दुर्घटनामा तत्कालै उद्धार गर्न सकिन्छ। जसको कारण समयमै उद्धार नभएर ज्यान बचाउन नपाएकाहरुलाई बचाउन सकिन्छ।

Health Tips Ad Road Block