Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

महाकाली आयोजना समयमा सम्पन्न गराउन सरकार गम्भीर

Citizenlife ad 2082 falgun to baishak 2083

कञ्चनपुर । महाकाली आयोजना समयमै सम्पन्न गराउन सरकार गम्भीर रहेको बताइएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले महाकाली सिंचाइ आयोजना (तेस्रो चरण) अन्तर्गत निर्माणाधीन तेस्रो मूल नहरको स्थलगत निरीक्षण गर्दै सरकार आयोजना समयमै सम्पन्न गर्न गम्भीर रहेको स्पष्ट गरेका हुन् । आयोजनाको वर्तमान प्रगति सराहनीय भएको बताउँदै मन्त्री खड्काले तोकिएको लक्ष्य हासिल गर्न अझ प्रभावकारी रूपमा काम अघि बढाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिएका हुन् ।

निरीक्षणका क्रममा मन्त्री खड्काले महाकाली आयोजना सुदूरपश्चिमको समृद्धिसँग प्रत्यक्ष रूपमा जोडिएको योजना भएको उल्लेख गरे । उनले भने, “किसानको खेतमा पानी पुर्‍याउन सरकार पूर्ण प्रतिबद्ध छ। कुनै कमजोरी हुन दिइने छैन।” आयोजनालाई राष्ट्रिय गौरवको आयोजना घोषित गरिएकोले यसको प्रत्येक पाटोमा सरकार गम्भीर रहेको उनको भनाइ थियो।

टनकपुर ब्यारेजमार्फत प्राप्त पानी प्रयोग गरी सञ्चालनमा ल्याइएको यो आयोजनाले कञ्चनपुरको ब्रह्मदेव, मालाखेती, दोधारा–चाँदनी र त्रिभुवनवस्ती क्षेत्रका ३३ हजार ५२० हेक्टर जमिनमा सिंचाइ सुविधा पुर्‍याउने लक्ष्य राखेको छ। हालसम्म ३० किलोमिटर मूल नहर र करिब १२ किलोमिटर शाखा नहर निर्माण भइसकेको छ भने करिब ६५० हेक्टर जमिनमा सिँचाइ संरचना तयार भइसकेको आयोजनाले जनाएको छ।

आयोजनाको समग्र भौतिक प्रगति हाल २४.२२ प्रतिशत पुगेको छ भने चालु आर्थिक वर्षको पहिलो आठ महिनामा ८३.९७ प्रतिशत भौतिक प्रगति हासिल भइसकेको छ, जुन अपेक्षाकृत उल्लेखनीय मानिएको छ।

निर्माणको क्रममा देखिएका अवरोधहरू हटाउन मन्त्री खड्काले सरोकारवाला निकायसँग प्रभावकारी समन्वय गर्न निर्देशन दिएका छन् । सामुदायिक वन क्षेत्रभित्र पर्ने संरचनाका लागि आवश्यक रुख कटान तथा जग्गा मुआब्जा वितरण प्रक्रियामा देखिएको ढिलाइलाई समाधान गर्न मन्त्रालयले वन तथा भौतिक पूर्वाधार मन्त्रालयसँगको समन्वयलाई प्राथमिकता दिँदै आएको छ। मन्त्री खड्काले स्थानीय तह, प्राविधिक समूह र समुदायबीच सहकार्यलाई अझ सुदृढ बनाउनु आवश्यक रहेको धारणा व्यक्त गरे ।

उनले महाकाली आयोजना जस्ता योजनाहरूले स्थानीय उत्पादन क्षमतामा वृद्धि गरी राष्ट्रिय समृद्धिमा महत्वपूर्ण टेवा पुर्‍याउने विश्वास व्यक्त गरे । “भौगोलिक दूरी, ढिलासुस्ती वा प्रविधिगत चुनौतीले हामीलाई रोक्न सक्दैन,” मन्त्री खड्काले भने, “हामी योजनाबद्ध ढंगले अघि बढेर लक्ष्यमा पुग्नुपर्छ।” उनले निर्माणको गुणस्तर, समयको मर्यादा र स्थानीय सहभागिता सुनिश्चित गर्दै आयोजनालाई सफलतातर्फ लैजान कुनै कसर बाँकी नराख्न निर्देशन दिए ।

निरीक्षण भ्रमणमा ऊर्जा मन्त्रालयका सिंचाई सचिव सरिता दवाडी, सिंचाइ विभागका महानिर्देशक संजीव बराल, आयोजना प्रमुख, प्राविधिक टोलीका सदस्यहरू, स्थानीय जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो। मन्त्री खड्काको निरीक्षणले सरकारको प्रतिबद्धता, आयोजना सञ्चालनको गम्भीरता र दीर्घकालीन प्रभावलाई थप स्पष्ट रूपमा उजागर गरेको छ।

Health Tips Ad Road Block