काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज महोत्तरी र बारा लगायतमा जाँदैछन् । सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिँदै प्रधानमन्त्री ओलीले तराई मधेशमा लागेको सुख्खाले साउनको पहिलो सातासम्म पनि धान रोपाइँ हुन नसकेको अवस्था बुझ्न त्यतातर्फ जान लागेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘दिनरात नै लगातार कामको चापका कारण थकित थिएँ । हिजो बाहिरका कुनै कार्यक्रममा सहभागी भइनँ। आज महोत्तरी र बारा जाँदै छु । तराई मधेशमा लागेको सुख्खाले साउनको पहिलो सातासम्म पनि धान रोपाइँ हुन सकेको छैन। त्यहाँको वस्तुस्थिति हेरौँ र स्थानीय किसानहरूका कुरा पनि सुनौं भन्ने लागेको छ। आज बारा र महोत्तरीका दिदीबहिनी दाजुभाइहरूसँग भेट हुने छ।’
प्रधानमन्त्रीको सचिवालयले तराई मधेसको सुख्खा क्षेत्रको अवस्था र किसानका समस्या बुझ्न तथा महोत्तरी र बारामा हुने विभिन्न कार्यक्रममा सहभागी हुन आज १०ः३० बजे प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गरेको जानकारी गराएको छ ।
यसअघि सरकारले मधेश प्रदेशका आठ वटै जिल्ला विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ । मधेश प्रदेशका जिल्लाहरुमा अनावृष्टिका कारण जमिनमा पानीको पर्याप्त पुनर्भरण हुन नसकेको र अति दोहनले भूमिगत पानीको मुहान सुक्न गई सर्वसाधारणले उपभोग गर्ने खानेपानीको चरम अभाव हुनुको साथै नदी तथा कुलोहरुमा पानीको कमीले सिँचाई प्रणालीमा समेत प्रभाव परेकाले संकटग्रस्त क्षेत्र घोषणाका लागि प्रस्ताव पेश गरिएको थियो ।
मधेश प्रदेश सरकारले गत मंगलबार संकटग्रस्त क्षेत्र घोषणा गर्न संघीय सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । मधेश प्रदेश सरकारबाट पनि निर्णय भएर आएको हुँदा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सूचना प्रकाशित भएको मितिले तीन महिनाको लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न आवश्यक भएको रहेको भनेर सो घोषणा गरिएको हो ।
मधेश प्रदेशका आठ वटा जिल्लामा सुख्खाका कारण खानेपानी, सिँचाई तथा कृषि क्षेत्रमा विपद्को अवस्था सिर्जना भएकोले मधेस प्रदेशभर संकटग्रस्त क्षेत्र घोषणा गर्न नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय गरिएको प्रदेश सरकारले गरेको हो ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा १४ को उपदफा २ (द) मा विपद् प्रभावित क्षेत्रमा संकटग्रस्त क्षेत्र घोषणा गर्नु पर्ने अवस्था रहेमा नेपाल सरकार समक्ष सिफारिस गर्ने व्यवस्था छ ।






















