काठमाडौं । नेपालको केबल तथा तार उत्पादनमा अग्रणी कम्पनी सारथी केवल इन्डष्ट्रीज लिमिटेड र सिटिजन्स क्यापिटल लिमिटेडबीच प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) का लागि सम्झौता भएको छ । सम्झौता पत्रमा सारथी केवल इन्डष्ट्रीजका अध्यक्ष अंकित भुसाल र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा आफ्नो जारी पूँजीको २० प्रतिशत सर्वसाधारणलाई निष्काशन गर्ने योजना सार्वजनिक गरेको छ । यस आईपीओमार्फत संकलित रकम कम्पनीले अन्डरग्राउन्ड केबल उत्पादन सुरु गर्ने र आल्मुनियम फुमान्स प्लान्ट स्थापना गर्ने लक्ष्य राखेको छ ।
कम्पनीका अध्यक्ष भुसालले भने, “यो सम्झौता नेपालको विद्युत पूर्वाधारलाई आधुनिकीकरणतर्फ डोहोर्याउने हाम्रो अभियानमा महत्वपूर्ण उपलब्धि हो । हामी राष्ट्रिय आवश्यकतालाई ध्यानमा राख्दै आन्तरिक उत्पादनमा आधारित सशक्त प्रणाली विकास गर्दैछौं ।”
त्यसैगरी सिटिजन्स क्यापिटलका प्रमुख श्रेष्ठले भने, “सारथी केवलसँगको सहकार्य हाम्रो लागि गौरवको विषय हो । यो आईपीओले लगानीकर्तालाई सुगम अवसर प्रदान गर्नेछ । साथमा, देशको केवल उत्पादन क्षमतामा समेत उल्लेखनीय योगदान पुर्याउनेछ ।”
नेपालमा करिब ८३,००० मेगावाट जलविद्युत उत्पादनको सम्भावना रहेको पृष्ठभूमिमा सारथी केवलको भूमिका अझै महत्वपूर्ण हुने अपेक्षा गरिएको छ । कम्पनीले Multi-Strand Cable, Power Cable, Concentric Cable र ACSR Conductor जस्ता केबल उत्पादनमा विशेषज्ञता राखेको छ ।
१८ वर्षदेखिको अनुभव बोकेको यस कम्पनीले भविष्यमा नेपालको प्रसारण तथा वितरण प्रणालीलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ ।
नेपालको जलविद्युत् सम्भावनालाई बल पुर्याउँदै
नेपालमा करिब ८३,००० मेगावाट जलविद्युत् उत्पादनको सम्भावना रहेको छ, जसमा नेपाल सरकारले सन् २०३५ सम्ममा विद्युत् उत्पादन २८,५०० मेगावाट पुर्याउने लक्ष्य लिएको छ। देशले जलविद्युत् योजनाहरूको विकास तीव्र गतिमा अगाडि बढाइरहेका बेला उच्च गुणस्तरको विद्युत् पूर्वाधारको माग समेत तीव्ररुपमा वृद्धि हुँदैछ।
सारथी केवल इन्डष्ट्रीज लिमिटेडको भूमिगत केवल उत्पादनतर्फको विस्तारले नेपालको प्रसारण तथा वितरण प्रणालीलाई थप सक्षम बनाउनेछ, जसले देशको विद्युत् उत्पादन र आपूर्तिमा दीर्घकालीन विश्वसनीयता प्रदान गर्ने बताइएको छ।





















