काठमाडौं । छाउगोठ बनाएको पाइए र महिनावारी हुँदा छाउगोठमा बस्न बाध्य पार्नेलाई स्थानीय तहबाट पाउने निश्चित सुविधामा पुर्नविचार गर्ने गरी मुलुकभरका स्थानीय तहलाई परिपत्र गरिने भएको छ । अन्तर पार्टी महिला सञ्जालका पदाधिकारीहरुसितको भेटघाटमा गृहमन्त्री रमेश लेखकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरी देशभरका स्थानीय तहलाई यस्तो परिपत्र गर्ने गरी गृहकार्य गरिने बताएका हुन् । “महिनावारीमा ठूलो अन्धविश्वासले काम गरेको छ ।” मन्त्री लेखकले भने, “ यसको निर्मलीकरणका लागि कसरी अगाडी बढ्ने अन्तर पार्टी महिला सञ्जालको पनि सहयोग र सुझाव आवश्यक छ ।”
महिलामाथि हुने हिंसा, बलात्कार लगायतका घटनामा सरकार गम्भीर रहेको मन्त्री लेखकको भनाई छ । “ महिलाहरुको मर्यादा, गरिमा, स्वाभिमान र सुरक्षामा गम्भीर छु ।” लेखकले भने, “ अपराध गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउने काम पनि भइरहेको छ ।”
अन्तर पार्टी महिला सञ्जालकी अध्यक्ष ममता गिरी सहितको टोलीले महिला बालबालिकामाथि हुने गरेको विभेद र हिंसाका घटनाहरु घटिरहेको भन्दै त्यसको नियन्त्रणका लागि मन्त्री लेखकलाई ज्ञापनपत्र बुझाएको छ ।





















