काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानविन गर्न न्यायिक समिति गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्ष ओझाको योग्यताबारे छानविन गर्न उच्च अदालतका पूर्व न्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । समितिमा बीमा विज्ञ कपिल ओली र एक जना अर्थशास्त्री सदस्य रहने भएका छन् ।
सरकारले गत फागुन १२ गते ओझालाई बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो । उनले अध्यक्ष हुन पेस गरेका कागजातमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानविन गरिरहेको छ । यो समितिलाई पनि उनको योग्यता र कार्यशैलीप्रति छानविन गर्ने कार्यादेश दिइएको छ ।
सरकारले समिति गठन गरेसँगै ओझाको पद स्वतः निलम्बित भएको छ । अख्तियारले फर्जी काजजात पेस गरेको जान्दाजान्दै के आधारमा नियुक्ति दिइएको हो भन्ने प्रश्न उठाएपछि छानविनका लागि सरकारले समिति गठन गरेको हो ।






















