Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

हेमबहादुर मल्ल सम्मान–२०८० पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठलाई प्रदान गरिने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल जन–प्रशासन संघले यस वर्ष हेमबहादुर मल्ल सम्मान पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठलाई प्रदान गर्ने भएको छ । न्यायिक नेतृत्व र संस्थागत विकासमा पुर्याएको योगदानको लागि श्रेष्ठलाई सो सम्मान दिइन लागेको नेपाल जन–प्रशासन संघ र साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडले संयुक्त पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । काठमाडौंमा एक विशेष समारोह गरी असार २६ गते बिहीबार अभिनन्दनपत्रसहित नगद दुई लाख रुपैंया प्रदान गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा संघका अध्यक्ष मधुरमण आचार्यले जानकारी दिए ।

कल्याण श्रेष्ठका बारेमा

कानुन र राजनीतिशास्त्रमा औपचारिक शिक्षा प्राप्त गरी जिल्ला, पुनरावेदन र सर्वोच्च अदालतको न्यायाधीश हुँदै कल्याण श्रेष्ठ मुलुकको २५औं प्रधान न्यायाधीश बनेका हुन् । दशवर्षे द्वन्दको अवसान र बृहत् शान्ति सम्झौता, संविधानसभाको निर्वाचनजस्ता घटनाहरुका बखत श्रेष्ठको न्यायिक सक्रियता विशिष्ट रह्यो । संक्रमणकालीन न्याय, समावेशी लोकतन्त्र र वातावरण समन्यायका सवालमा उनका विचार, अडान र फैसलाहरुको ऐतिहासिक भूमिका लगायतको विशिष्ट योगदानको कदरस्वरुप श्रेष्ठलाई यो सम्मान प्रदान गर्ने निर्णय गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सम्मान छनौट समितिबारे

श्रेष्ठको चयन लोक सेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीको संयोजकत्वमा गठित एक सम्मान छनौट समितिले गरेको हो। छनौट समितिमा नेपाल जन–प्रशासन संघका अध्यक्ष मधुरमण आचार्य, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका अध्यक्ष प्रदिपलाल श्रेष्ठ, प्राध्यापक यशोदा काफ्ले र पूर्व सहसचिव जीवराज कोईराला सदस्य तथा संघका निवर्तमान अध्यक्ष कृष्णहरि बास्कोटा आमन्त्रित सदस्य रहेका थिए । ख्यातिप्राप्त प्रशासक एवं व्यवस्थापक स्व. हेम बहादुर मल्लले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको नेतृत्व तहमा रही सार्वजिक वितरण, सेवा र व्यवस्थापनमा दिएको प्रेरणादायी योगदनाको कदर गर्दै उनको सम्मानमा साल्ट ट्रेडिङ्‌ कर्पोरेशन लिमिटेडको सौजन्यमा हेमबहादुर मल्ल सम्मान वि.सं. २०५७ सालमा स्थापना भएको हो ।

स्वर्गीय हेमबहादुर मल्लको बारेमा

स्वर्गीय हेमबहादुर मल्लको जन्म वि.सं. १९९५ सालमा निसिभुजी, बाग्लुङमा भएको थियो । मल्लले साल्ट ट्रेडिङ कर्पोरेशनमा संस्थापक प्रमुख, कार्यकारी प्रमुख, डाइरेक्टर इन्चार्ज, प्रमुख सल्लाहकार र प्रेसिडेन्ट जस्ता पदमा रहेर सेवा गरेका थिए । उनी नेशनल फाइनान्स कम्पनी लिमिटेड, सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड र सुवर्ण फर्मास्युटिकल्स लिमिटेडको अध्यक्ष थिए । साथै मल्ल गोरखकाली रबर उद्योग लिमिटेड, बुटवल धागो कारखाना लिमिटेड, मोरङ सुगर मिल्स लिमिटेड, नेपाल वनस्पति घ्यू उद्योग लिमिटेड, खाद्य उद्योग लिमिटेड र हितकारी गुठीको सञ्चालक थिए । यस अतिरिक्त मल्ल नेपाल चेम्बर अफ कमर्स र नेपाल व्यवस्थापन सङ्घ‌को कार्यकारी सदस्य पनि थिए । मल्लको स्वर्गारोहण वि.सं.२०५७ सालमा भएको हो।

यसअघि सम्मानित व्यक्तित्वहरु

सार्वजनिक प्रशासन, व्यस्थापन र सार्वजनिक सेवामा उत्कृष्ट योगदान पुऱ्याउने व्यक्ति वा संस्थालाई हेमबहादुर मल्ल सम्मान वर्षेनि प्रदान गरिँदै आएको छ । सो सम्मानबाट यसअघि केदारभक्त माथेमा, चाँदनी जोशी, डा. भगवान कोईराला, डा. बिमल कोईराला, महावीर पुन, अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, दमननाथ ढुङ्गाना, डा. सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेश प्रसाद मैनाली, दामोदर गौतम, डा. देवेन्द्रराज पाण्डे, कुलमान घिसिङ, डा. सन्दुक रुइत, डा. गौरीशंकर लाल दास, सूर्यनाथ उपाध्याय, गोरक्ष बहादुर न्हुच्छे प्रधान, भानु प्रसाद आचार्य र डा. भेष बहादुर थापा सम्मानित भइसकेका छन् । कल्याण श्रेष्ठ यो सम्मान प्राप्त गर्ने एक्काईसौं व्यक्ति हुन् ।

नेपाल जन–प्रशासन संघको बारेमा

सार्वजनिक प्रशासन र व्यवस्थापनका क्षेत्रमा कार्यरत प्राज्ञिक, प्रशासक र व्यवस्थापकबीचको पारस्परिक सम्बन्धलाई मर्यादित र सुदृढ गर्दै सार्वजनिक सरोकारसँग सम्बन्धित सार्वजनिक क्षेत्रको नीति निर्माण, पुनरावलोकन र मूल्याकंनमा पृष्ठपोषण गर्ने उद्देश्यले वि.सं. २०४७ सालमा नेपाल जन–प्रशासन संघको स्थापना भएको हो । गैर नाफामुखी पेशागत संघको रुपमा स्थापित यस संघले विगतमा जनप्रशासनका विभिन्न विधाहरुमा प्रकाशन, छलफल, अन्तरक्रिया, प्रशिक्षण जस्ता कार्यक्रमहरु आयोजना गरी त्यस्ता कार्यक्रमबाट प्राप्त भएका सुझावहरु नेपाल सरकार एवं सम्बन्धित निकायहरुमा पठाई सहयोग पुऱ्याउँदै आएको छ ।

Health Tips Ad Road Block