महेन्द्रनगर । मनसुन अघि नै महाकाली नदीमा निर्माणधिन बाँध सकिसक्ने सरकारी दाबी रहेको छ । गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको भीमदत्त नगरपालिका—१२ स्थित महाकाली नदीमा निर्माणाधीन बाँधको स्थलगत अनुगमन गर्दै महाकाली नदी किनारका बस्ती जोगाउनका लागि सरकारले विषेश निर्णय गरेर मनसुन अघिनै बाँध निर्माण सम्पन्न गरिसक्ने गरि नेपाली सेनालाई जिम्मा दिएको बताएका हुन् । “महाकाली किनारका बस्ती बाढीको जोखिममा परेपछि ती बस्ती जोगाउनका लागि गृह मन्त्रालयले विषेश निर्णय गरेर बाँध बनाउने जिम्मा सेनालाई दिएको हो ।” मन्त्री लेखकले भने, “यहाँ बजेट अभावले बाँध निमार्णको काम रोकिदैन यहाँका बस्ती जोगाउनका लागि सरकारले चाहिने जति बजेट दिन्छ ।”
गत वर्ष महाकालीको बाढीले दुई सय ६० मिटर बाँध भत्काएपछि महाकाली नदी बस्ती तर्फ सोझिएको थियो । भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका विभिन्न बस्ती बाढीको जोखिममा परेपछि सरकारले उक्त क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको हो । “बाढीले महाकाली नदीमा बनेको चार लेन पुल र बस्ती नै जाखिममा परेपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको गरेर सेनालाई जिम्मा दिएका हौ ।” उनले भने, “सेनाले यहाँको बाढीको समस्या स्थानीय रुपमा निराकरण हुने गरि काम गरिरहेको छ ।” उनले नदी नियन्त्रण तथा संरक्षणका लागि सरकारले विशेष प्राथमिकतामा राखेर बाँध निर्माण कार्य अघि बढाएको बताए । अवलोकनका क्रममा उनले निर्माण कार्यमा संलग्न टोलीलाई निर्धारित समयमै गुणस्तरीय निर्माण सम्पन्न गर्न समेत निर्देशन दिए ।
दोधारा चाँदनी सुख्खा बन्दरगाह शिलान्याश छिट्टै हुने
त्यस्तै मन्त्री लेखकले कञ्चनपुरको दोधारा चाँदनी स्थित बन्ने सुख्खा बन्दरगाह शिलान्याशको काम छिट्टै हुने बताएका छन् । सुख्खा बन्दरगाह निर्माण स्थलको स्थलगत अवलोकन गर्दै उनले सुख्खा बन्दरगाहको शिलान्याश छिट्टै हुने बताएका हुन् । “बन्दरगाह निमार्णका लागि ठेक्का स्वीकृत भइसकेको छ अब छिट्टै शिलान्याश हुन्छ ।” गृहमन्त्री लेखकले भने । “शिलान्याश कुन लेवलमा कसरी गर्ने भन्ने छलफल भइरहेको छ छिट्टै निमार्ण सुरु भएर तीन वर्षभित्र बनिसक्छ ।” बन्दरगाह निमार्णका लागि दोधारा चाँदनी नगरपालिका—१ स्थित मायापुरी सामुदायिक वनको ४१ हेक्टर जग्गामा एक हजार पाँच सय ९३ रुख कटान सम्पन्न गरिसकिएको छ ।
भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने सुख्खा बन्दरगाहका लागि नेपाल सरकार र भारत सरकार बीच जुन १, २०२३ मा समझदारी पत्रमा हस्ताक्षर भएको थियो । सोहि सम्झौता अनुसार दुबै तर्फबाट निर्माण तयारी भइरहेको हो । भारतीय पक्षले बन्दरगाह निर्माणका लागि दुई अर्ब ५४ करोड ३१ लख ९९ हजार भारतीय रुपैयाँँ लागतमा टेन्डर आह्वान गरेर निर्माण कम्पनी छनौट गरिसकेको छ ।
बन्दरगाह निर्माणका लागि प्रयोग हुने ४२.३६ हेक्टर क्षेत्रफलमा दुई वटा गोदाम भवन, भन्सार चेक जाँच भवन, क्वारेन्टाइन भवन, इमिग्रेसन भवन, सुरक्षा भवनल लगायतका पूर्वाधार निर्माण हुने इन्टर मोडल यातायात विकास समितिले जनाएको छ ।
नेपालले सुक्खा बन्दरगाहसम्मको छ लेनको पहुच मार्ग र महाकाली नदीमा चार लेनको पक्की पुल सञ्चालनमा आइसकेको छ । भारत बन्दरगाहसम्मको पहुँचमार्ग निर्माण गरिरहेको छ । सुख्खा बन्दरगाह निर्माण सँगै पश्चिमी नाका सञ्चालनमा आए सुदूरपश्चिममा विकासको सम्भावनाको ढोका खुल्ने अपेक्षा गरिएको छ ।






















