काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले नेपालका सहकारीले सहकारीको नीति, सिद्धान्त र मान्यता अनुसार नचलेका कारण दिनदिनै समस्या जटिल बन्दै गउको बताएका छन् । अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी महासंघ नेपालले आयोजना गरेको कार्यक्रममा मन्त्री अधिकारीले सहकारीमा राखिने रकमको स्रोत र ऋण परिचालनबारे अझै संशयपूर्ण स्थिति रहेको बताए । उनले प्रश्न गरे, ‘सहकारी नीति र उद्देश्य अनुसार काम गरेका छन् कि छैनन् ? सहकारीमा ठुलो रकम कसरी आयो भन्नेबारे ख्याल गर्न पर्छ कि पर्दैन ? सहकारीले धितो नराखी ५०/६० करोड रुपैयाँ एउटै व्यक्तिलाई दिने अधिकार कहाँ छ ?’
सहकारीका बेथिति रोक्न सहकारी नियमन प्राधिकरण बने पनि सुरुमै विरोध हुँदा अझ यो क्षेत्र सोचेअनुरुप अगाडि नबढ्ने उनको जिकिर छ । बिग्रेको विषयलाई नियन्त्रण गरिहाल्नुपर्ने भन्दै उनले सहकारीमैत्री ऐन संशोधन गरिने बताएका छन् ।
अन्तर्राष्ट्रिय सहकारी दिवसमा उत्कृष्ट सहकारी संस्था र व्यक्तित्वहरू पुरस्कृत
‘सहकारीः सुन्दर विश्व निर्माणमा समावेशी र दिगो समाधानतर्फको यात्रा’ भन्ने नाराका साथ सम्पन्न कार्यक्रममा विभिन्न सहकारी संस्था र व्यक्तित्वहरूलाई सम्मान गरिएको छ । यस वर्षको राष्ट्रिय सहकारी पुरस्कार भुवनेश्वरी दुग्ध उत्पादन सहकारी संस्था लिमिटेड, बरहथवा–१५, सर्लाहीका अध्यक्ष गोविन्द्र प्रसाद उप्रेतीलाई प्रदान गरिएको छ । उनलाई मन्त्री बलराम अधिकारी र महासंघकी अध्यक्ष ओमदेवी मल्लले नगद ५० हजार रुपैयाँसहित सम्मान गरे ।
सहकारी पत्रकारिता पुरस्कार नेपालपत्रका सम्पादक माधव खड्कालाई प्रदान गरियो भने उत्कृष्ट सहकारी कर्मचारी पुरस्कार जिल्ला सहकारी संघ, रुपन्देहीका व्यवस्थापक लक्ष्मी ज्ञवालीलाई प्रदान गरियो । दुवै पुरस्कारको राशी २५ हजार रुपैयाँ थियो । केन्द्रीय सहकारी संघतर्फबाट नेपाल कृषि सहकारी केन्द्रीय संघ पुरस्कृत भयो । जिल्ला तहमा भने दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघले उत्कृष्ट सहकारी पुरस्कार २०८१ प्राप्त ग¥यो । सो अवसरमा सातै प्रदेशका प्रारम्भिक सहकारी संस्था पनि पुरस्कृत भए । कोशीः मेची कृषक बहुमुखी सहकारी संस्था, झापा, मधेशः महिला साना किसान कृषि सहकारी संस्था लिमिटेड, धनुषा, बागमतीः सामुदायिक बचत तथा ऋण सहकारी संस्था, पनौती, काभ्रे, गण्डकीः ग्रामिण स्वावलम्बन साना किसान कृषि सहकारी संस्था, स्याङ्जा, लुम्बिनीः इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्था, रुपन्देही, कर्णालीः चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था, जुम्ला, सुदूरपश्चिमः जीवनज्याति बचत तथा ऋण सहकारी संस्था, बैतडी पुरस्कृत भए ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ र हेफर इन्टरनेशनलले तयार पारेको सहकारीसम्बन्धी अध्ययन रिपोर्ट सार्वजनिक गरियो । सहकारी क्षेत्रका महिला नेतृत्वकर्ताहरू निर्मला दंगाल, दिलमाया सारु र निलम विकले आफ्नो संघर्षका कथा प्रस्तुत गरे । सहकारी विभागका रजिष्ट्रार उमेश ढुंगानाले मुख्य कार्यपत्र प्रस्तुत गरे ।
महासंघकी अध्यक्ष ओमदेवी मल्लले अन्तर्राष्ट्रिय सहकारी दिवस विश्वभर विविध कार्यक्रमसहित मनाइएको जानकारी गराइन् । कार्यक्रममा मन्त्रालयका सचिव केदारनाथ शर्मा, महासंघका सल्लाहकारहरू केशव बडाल, दिपकप्रकाश बाँस्कोटा, खगराज अधिकारी, डा. उषा झा, लिलामणि पोखरेल, नेफस्कूनका अध्यक्ष चन्द ढकाल, हेफर इन्टरनेशनलका कन्ट्री डाइरेक्टर डा. तिर्थराज रेग्मी लगायतको उपस्थिति रहेको थियो।
आर्थिक सर्वेक्षण २०८१/८२ का अनुसार गत फागुनमा सहकारी संस्थाको संख्या ३२ हजार ९६५ रहेको छ ।






















