काठमाडौं । कर्णाली जलस्रोत लिमिटेड (कार्जल)ले विशेष साधारण सभा सम्पन्न गर्दै चौरी खोला जलविद्युत आयोजाना आउँदो पुस महिनाभित्र सम्पन्न गरी बिजुली उत्पादन गर्ने जनाएको छ । काठमाडौंमा सम्पन्न विशेष साधारण सभाले आवश्यकताको सिद्धान्त बमोजिम लिमिटेडको उद्देश्यसमेत परिवर्तन गरेको जनाएको छ ।
साधारण सभालाई सम्बोधन गर्दै लिमिटेडका अध्यक्ष ईन्जिनियर लोकबहादुर रावतले कार्जललाई समयको माग अनुसार प्रभावकारी बनाउन उद्देश्य परिवर्तन गरी अगाडि बढाउन विशेष साधारण सभा डाकिएको जनाए ।
अध्यक्ष रावतले कार्जलको सहायक कम्पनी हिमालयन वाटर रिसोर्सेस एण्ड इनर्जी डेभलपमेण्ट कम्पनीको लगानीमा काभ्रेमा निर्माण भइरहेको ६ मेगावाटको माथिल्लो चौंरी खोला जलविद्युत आयोजानालाई आगामी पुस महिनाभित्रै सम्पन्न गरिने दाबी गरेका छन् ।
अध्यक्ष रावतले विविध कारणबस समयमै सम्पन्न हुन नसके पनि हालसम्म ८५ प्रतिशत कार्यसम्पन्न भइसकेको जनाउँदै भने,“म हाम्रा सबै लगानीकर्ता मित्रहरुलाई के विश्वास दिलाउन चाहन्छु की पर्दापछाडिका विविध अबरोधहरुले ढिला भयो, अब प्रतिकुल अवस्थालाई काबुमा लिइसकेकाले छिट्टै बत्ति बल्छ, सकिन्छ भने लगानी थपिदिनुस् ।”
कम्पनीका कानुनी परामर्शदाता अधिवक्ता चक्र बहादुर थापा (अमित)ले लगानी गर्ने कम्पनी र उत्पादन गर्ने कम्पनीबीचमा प्रस्ट व्यवस्था नभएको कारण कम्पनीको मुख्य उदेश्य परिवर्तन गर्नु परेकाे बताए ।
बैंकबाट ऋण लिएर लगानी गरिएको र सोको ग्यारेन्टर कार्जल रहेको र ऋण चुक्ता पनि असहज हुँदा समस्या आएको बताउँदै अधिवक्ता थापाले भने,“लगानीकर्ताले लगानी गर्नुभयो तर आयोजना सम्पन्न नभई ऋण चुक्ता हुने कुरा पनि भएन, त्यसो नहुँदा शेयरधनीहरुले एकातिर लामोसमय लाभांश नपाउने भने, अर्कोतिर शेयर खरिद तथा बिक्री–वितरण पनि गर्न नपाउनेलगायतका समस्या हल गर्न ‘आवाश्यकताको सिद्धान्त’ बमोजिम यो साधारण सभाबाट ‘जलविद्युत उत्पादन गर्ने कम्पनी’बाट ‘इन्भेष्टमेन्ट कम्पनी’मा परिणत गरिएको हो ।”
सो साधारण सभामा कार्जलका सदस्यहरु ईन्जिनीयर भेषराज कँडेल, जुद्धबहादुर गुरुङ, भरत प्रसाई, अमरनारायण माली, भैरव बोहोरा, प्रभा कर्मचार्य र सुशीला डाँगीसहित लगानीकर्ताहरुको उपस्थिति रहेको थियो ।
साधारण सभाले कम्पनीको व्यवसायिक उद्देश्य परिवर्तन गर्न प्रवन्धपत्रको दफा ४(१) मा संशोधन गर्ने, कम्पनीको नाममा दर्ता स्रेस्ता कायम रहेको आयोजना बिक्री गर्ने, संघीयताको ढाँचाअनुसार कम्पनीको रजिष्ट्रर्ड कार्यालय रहेको स्थान परिवर्तन गर्न, कम्पनीको विशेष साधारण सभाबाट पारित निर्णयहरुलाई कार्यान्वयनका लागि आवश्यक काम गर्न संचालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गरेको छ ।






















