skip this News Page Tips Ad Road Block

विश्वमै एकल साहसिक यात्रा अर्थात् सोलो एड्भेन्चर ट्राभल गन्तव्यको सूचीमा नेपाल सातौं नम्बरमा

यात्रा लागत औसतमा सस्तो पर्ने भएकाले नेपाल बजेटमैत्री गन्तव्य

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल सन् २०२५ को एकल साहसिक यात्रा (सोलो एड्‌भन्चेर ट्राभल) गन्तव्यको सातौं स्थानमा परेको छ । बेलायतस्थित साहसिक पर्यटन कम्पनी मच बेटर एड्भेन्चर्सले सार्वजनिक गरेको सूचीमा नेपाल सातौं स्थानमा परेको हो ।

नेपाल पर्यटन बोर्डले हालै देशको साहसिक, प्राकृतिक र सांस्कृतिक विविधता विश्व समुदायसामु प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको छ । बोर्डले प्रवर्द्धन गर्दै आएको उत्तरदायी पर्यटन, सहज पहुँच, स्थानीय गाइड प्रयोग, र समुदाय–आधारित पर्यटन प्रवर्द्धनको नीतिले नेपाललाई एकल यात्रुहरूका लागि थप सुरक्षित, भरपर्दो र रमणीय गन्तव्य बनाएको छ । मच बेटर एड्भेन्चरको सूचीका लागि नेपाललाई अद्वितीय भू–दृश्य, समृद्ध संस्कृति, बजेटमैत्री सेवा, र विविध साहसिक गतिविधिका लागि उच्च मूल्याङ्कन गरिएको छ । जसमा एभरेष्ट बेसक्याम्प ट्रेक, अन्नपूर्ण सर्किट, र चितवन राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीजस्ता गतिविधिले नेपाललाई आत्मिक शान्ति खोज्ने र साहसिकतामा रमाउने एकल पर्यटकहरूको प्रमुख रोजाइमा रहेको उल्लेख छ ।

नेपाल पर्यटन बोर्डले एकल यात्रुहरूको अनुभवलाई अझै समृद्ध बनाउने उद्देश्यले गन्तव्यहरूमा आवश्यक सूचना, स्थानीय गाइडमार्फत सुरक्षित यात्रा, र संस्कृति, प्रकृति तथा साहसिक क्रियाकलापको सन्तुलित संयोजनमा जोड दिएको छ । बोर्डले प्रवर्द्धन गर्दै आएको उत्तरदायी पर्यटन नीति अन्तर्गत हिमाली क्षेत्र, निकुञ्ज र ऐतिहासिक सम्पदास्थलहरूमा स्थानीय समुदायको सहभागिता र संरक्षणलाई प्राथमिकतामा राखेको छ ।

नेपालको यात्रा लागत औसतमा सस्तो पर्ने भएकाले नेपाललाई बजेटमैत्री गन्तव्यका रूपमा पनि मूल्यांकन गरिएको छ। जसमा भनिएको छ, ‘नेपालमा सस्तो आवास, सहुलियतपूर्ण प्याकेज र प्रचुर सांस्कृतिक तथा प्राकृतिक अनुभव पाउन सकिन्छ ।’

मच बेटर एड्भेन्चर्सका सहसंस्थापक स्याम ब्रुसका अनुसार यो सूची विशेषज्ञहरूको सुझाव र ग्राहकको यात्रा अनुभवका आधारमा तयार गरिएको हो । जसमा सुरक्षा, दिगोपन, पहुँचयोग्य, र लोकप्रियता जस्ता पक्षहरू समेटिएका छन् । उनी भन्छन्, ‘नेपालले एकल यात्रुहरूलाई अद्भुत प्रकृति, गहिरो आध्यात्मिकता र हार्दिकतापूर्ण सत्कार प्रदान गर्छ । चाहे त्यो काठमाडौंका व्यस्त गल्लीहरू हुन् वा हिमाली क्षेत्रका शान्त र रमणीय स्थलहरु नै किन नहुन् ।’

त्यसैगरी मच बेटर एड्भेन्चर्सका कन्टेन्ट म्यानेजर किर्स्टी होल्म्सले भर्खरै नेपालको एकल यात्रा गरेकी थिइन् । उनले आफ्नो अनुभव लेखेकी छन्, ‘अन्नपूर्णमा हिँड्दा र चितवनमा घुम्दा म आफू घरमा पुगेको अनुभूति भयो ।’

मच बेटर एड्‌भेन्चर्सको प्रमुख १० गन्तव्यमा इटाली पहिलो नम्बरमा छन् भने क्रमशः जापान, नर्वे, स्पेन, अल्बानिया, पोर्चुगल, नेपाल, मोन्टेनेग्रो,जोर्डन र ग्रीस छन् । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले यस्ता अन्तर्राष्ट्रिय सूचीकृत सफलतालाई बोर्डले अवसरका रूपमा प्रयोग गर्दै थप रणनीतिक प्रवर्द्धन र गन्तव्य सुधारका पहलहरू अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

Health Tips Ad Road Block