काठमाडौं । असार १५ कृषि कर्मको उत्सव हो । मानो रोपेर मुरी फलाउने पर्वका रुपमा असार १५ लाई मनाइन्छ । ‘धान बालीमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने मूल नाराका साथ आज २२ औं धान दिवस मनाइँदै छ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यतामा कृषि विभागको आयोजनामा नेपाल कृषि अनुसन्धान परिषद्, राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र, खुमलटारमा २२औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८२ बिहानै मनाइएको छ । देशैभर प्रदेश र पालिकाहरुसम्मले यो पर्व विभिन्न हिसाबले रोपाई गरर मनाइरहेका छन् ।
यस्तै अर्काे नेपालको संस्कृतिसँग जोडिएको पर्व हो असार १५ । विशेष गरी दही चिउरा खाएर असार १५ मनाउने हाम्रो मौलिक परम्परा रहेको छ । हामीले हाम्रो देशको पहिचान जोगाउन पनि यस्ता किसिमका चाड, पर्व, दिवस, रितिरिवाज ,परम्परा जोगाउँदै भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने आवश्यकता छ । दही चिउरा खाने, खिर खाने, खिर्चाे खाने, घ्यू चाकु खाने, नयाँ चामलको न्वागी खाने, सेल खाने, कन्दमुलहरु सखरखण्ड, पिँडालु, तरुल आदि खाएर आफ्नो शरिरलाई स्वस्थ राख्ने पहिलेदेखिकै प्रचलन हो । त्यही अनुरुप असार १५ मा दही चिउरा खाएर विशेषरुपमा मनाइन्छ ।
स्वास्थ्यका दृष्टिकोणबाट पनि दही–चिउराको विशेष महत्व रहेको छ । दहीमा हुने प्रोबायोटिक्स र चिउरामा रहेको फाइबरका कारण शरीरका लागि आवश्यक पोषण र पाचन प्रक्रियासमेत सहज बन्ने विज्ञहरु बताउँछन् । क्याल्सियम, प्रोटिन, भिटामिन बी–१२ लगायतका पोषण तत्वहरूले शरीरलाई सन्तुलन दिने र दही–चिउराले हड्डी र दाँतलाई बलियो बनाउन, रोग प्रतिरक्षा प्रणाली सुदृढ बनाउन र छालालाई चमकदार राख्न सघाउनेछ । त्यसका साथै मानसिक सन्तुलन कायम गरी तनाव कम गर्ने विशेषता समेत यसमा हुने उनीहरुको मत छ । दही–चिउराले नेपाली संस्कृति र स्वास्थ्यका पक्षहरूका साथै आपसी मेलमिलाप र सहकार्यको सुत्रमा बाँध्न सघाउँदै आएको पनि छ ।
यस्ता छन् दहीको महत्वः
– शरीरलाई पोषण दिन्छ । दही प्रोटिन, क्याल्सियम, भिटामिन बी–१२ र अन्य पोषण तत्वहरूले भरिपूर्ण हुन्छ ।
–शरीरलाई आवश्यक ऊर्जा र पोषण दिन सघाउँछ ।
–पाचन प्रक्रियालाई सुदृढ बनाउँछ । दहीमा भएका प्रोबायोटिक्स (असल ब्याक्टेरिया) ले खाना पच्न सजिलो बनाउँछ र कब्जियत, ग्यासजस्ता समस्या कम गर्छ ।
–हड्डी र दाँतलाई बलियो बनाउँछ । क्याल्सियम र फस्फोरसजस्ता तत्वका कारण दही सेवन गर्दा हड्डी र दाँत मजबुत हुन्छन् ।
–रोग प्रतिरक्षा प्रणालीलाई सुदृढ बनाउँछ । दही नियमित सेवन गर्दा शरीरको रोग प्रतिरोधक क्षमतालाई बढाउँछ र रुघाखोकी, संक्रमणजस्ता समस्या कम गर्छ ।
–छालालाई स्वस्थ र चमकदार बनाउन सघाउँछ । दहीमा भएका ल्याक्टिक एसिड र पोषण तत्वहरूले छालालाई नरम र चमकदार बनाउन सघाउँछन् ।
–सांस्कृतिक महत्त्वअन्तर्गत नेपाली संस्कृतिमा दहीलाई शुभकार्य र सगुनका रूपमा प्रयोग गरिन्छ (दही खाने) र विशेष पर्वहरूमा यसको विशेष स्थान रहेको छ ।
–मानसिक सन्तुलन र तनाव कम गर्न सघाउँछ । दही सेवन गर्दा शरीरमा सेरोटोनिन नामक रसायनको मात्रा बढ्छ, जसले तनाव कम गरी मुड सन्तुलन कायम गर्छ ।
यही असार १५ का दिन नेपालभर करिब ८० लाख लिटर दही खपत हुने र त्यसबाट करीब १ अर्ब ४० करोड रुपैयाँको आर्थिक कारोबार हुने व्यवसायीहरुले जानकारी दिएका छन् । तर बिडम्बना नेपालका किसानहरुलाई दही, दूधको रकम भुक्तानी नदिएर सरकार एवं व्यवसायीले भने भद्दा मजाक गरिरहेका र वर्षेनी किसान मारमा परिरहेका देखिन्छन् ।






















