काठमाडौं । नेपाल डेरी एसोसिएसनको आयोजनामा असार १५ को सांस्कृतिक र कृषिपरक महत्वलाई उजागर गर्ने उद्देश्यले “दही चिउरा खाने विशेष कार्यक्रम – २०८२” आज राजधानीको सिनामंगलस्थित होटल रोयल एयरपोर्टमा भव्य रूपमा सम्पन्न भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले स-साना बालिकाहरूलाई दही चिउरा खुवाएर कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए। सो अवसरमा नवप्रभात डेरीद्वारा उत्पादित “राजा दही” ब्राण्ड पनि सार्वजनिक गरिएको थियो।
कार्यक्रमका कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले नेपालमा कृषि क्षेत्रको आधुनिकीकरण तथा दुग्ध उत्पादनमा आत्मनिर्भर बन्ने आवश्यकता औंल्याउँदै यस्ता सांस्कृतिक कार्यक्रमहरूले कृषि र डेरी क्षेत्रमा गरिने योगदानप्रति सम्मान व्यक्त गर्ने अवसर प्रदान गर्ने बताए। उनले किसानले उत्पादन गरेको दूधको भुक्तानी समयमा नहुनु दुर्भाग्यपूर्ण भएको उल्लेख गर्दै डेरी व्यवसायीहरूलाई किसानको पैसा बेलैमा चुक्ता गर्न आग्रह गरे। साथै उनले देशमा ११ देखि १३ लाख टन रासायनिक मलको माग भए तापनि हालसम्म ४ लाख टनभन्दा बढी मल ल्याउन नसकिएको जानकारी दिँदै किसानको आवश्यकता पुरा गर्न नसक्नु दुःखद पक्ष भएको बताए।
कार्यक्रममा नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले दही चिउरा असार १५ को परम्परागत आहार मात्र नभई किसान, कृषक र डेरी व्यवसायी प्रति कृतज्ञता व्यक्त गर्ने अवसर पनि भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले दुग्ध व्यवसायको मूल्य र महत्व उजागर गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले दही चिउरा हाम्रो मौलिक परम्पराको अभिन्न अंग भएको उल्लेख गर्दै त्यसको संरक्षण र प्रवर्द्धनमा सबैले ध्यान दिनुपर्ने कुरामा जोड दिए।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका वस्तुगत उपाध्यक्ष हेमराज ढकाल, कृषि उद्यम केन्द्रका सभापति डी.बी. खड्का, दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद यादव, नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारिणी सदस्यहरू तथा मातहतका वस्तुगत संघका अध्यक्षहरूले पनि शुभकामना मन्तव्य व्यक्त गर्दै परम्पराको संरक्षणमा लाग्नुपर्नेबारे धारणा राखेका थिए ।
कार्यक्रममा रोटरी क्लब अफ कपन, अप्टिमिष्ट क्लब अफ डेरी इन्टरप्रेनर्स, युनाइटेड नेचर इन्टरनेशनल पिस नेपाल, कृषि उद्यम केन्द्रलगायत विभिन्न संस्थाहरूको सहकार्य रहेको थियो। कार्यक्रममा दही चिउराको सांस्कृतिक र पोषणीय महत्त्वबारे गहन छलफलसमेत गरिएको थियो।
नेपाल डेरी एसोसिएसनद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएअनुसार, दूध तथा दुग्ध पदार्थको प्रवर्द्धन र समग्र विकासमा नेपाल डेरी एसोसिएसनले लामो समयदेखि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। देशभरका घरेलु, साना, मझौला तथा ठूला डेरी उद्योगहरूको छाता संगठनका रूपमा सक्रिय यस एसोसिएसनले नीतिगत सुधारका लागि निरन्तर पहल गरिरहेको छ भने किसान र उद्योगको हकहितमा समेत आवाज उठाउँदै आएको छ।
असार १५ लाई ‘मानो रोपेर मुरी फलाउने’ दिनका रूपमा धान दिवसको रूपमा मनाइने गरिन्छ भने यस दिन दही चिउरा खाने हाम्रो मौलिक परम्परा बनिसकेको छ। देशभर असार १५ मा झन्डै ८० लाख लिटर दही खपत हुने अनुमान गरिएको छ, जसबाट करिब १ अर्ब ४० करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ।
दही चिउरा जस्ता परम्परागत आहारहरू केवल सांस्कृतिक पहिचान नभई पोषणीय दृष्टिले पनि अत्यन्त महत्वपूर्ण छन्। दहीमा प्रोटिन, क्याल्सियम, भिटामिन बी-१२ तथा लाभदायक ब्याक्टेरिया (प्रोबायोटिक्स) पाइने भएकाले यसले पाचन प्रणाली सुदृढ बनाउनुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउने कार्य गर्दछ। साथै, छालालाई स्वस्थ राख्ने, हड्डी तथा दाँत बलियो बनाउने र मानसिक सन्तुलन कायम राख्न सहयोग पुर्याउने यसको विशेषता हो। नेपाली संस्कृति अनुसार दही शुभकार्यमा सगुनको रूपमा प्रयोग गरिन्छ, जसले गर्दा यसको सामाजिक तथा धार्मिक मूल्य पनि उच्च छ।
नेपाल डेरी एसोसिएसनले यस्ता कार्यक्रमहरूलाई आगामी दिनहरूमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। यस्ता कार्यमार्फत दुग्धजन्य उत्पादनको उपभोग बढाउने, किसानलाई प्रत्यक्ष लाभ पुर्याउने र नेपाली संस्कृतिको संरक्षण एवं प्रवर्द्धनमा सकारात्मक भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। कार्यक्रममा डेरी क्षेत्रका अगुवा, विभिन्न संघ-संस्थाका प्रतिनिधिहरू, सञ्चारकर्मी, सामाजिक अभियन्ता, युवा तथा विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।






















