काठमाडौं । दिनहुँ बिजुली निर्यात गरेर नेपाल विद्युत प्राधिकरणले न्यूनत्तम साढे दश करोड रुपैयाँ कमाउन थालेको छ । असार लागेसँगै मनसुन सक्रिय भएर वर्षा बढी भएपछि उत्पादनसँगै विद्युत निर्यात बढेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार देशभित्र खपत भएर बाँकी रहेको बिजुली निर्यात भइरहेको हो ।
प्राधिकरणले असार १ गतेबाट बंगलादेशमा दैनिक ४० मेगावाट, भारतको बिहार र हरियाणामा क्रमश १२५ र २०० मेगावाट विद्युत नियमित निर्यात गर्दै आएको छ । यसबाहेक दैनिक बोलकबोलमार्फत इन्डियन इनर्जी एक्सचेन्ज (आइइएक्स) मा विद्युत् निर्यात हुने गरेको छ । आगामी दिनमा यो निर्यात अझै बढ्ने प्राधिकरणको भनाइ छ ।
प्राधिकरणले बंगलादेशमा प्रतियुनिट ६.४ अमेरिकी सेन्ट र भारतमा प्रतियुनिट आठ रुपैयाँ ७२ पैसामा विद्युत निर्यात गरिरहेको छ । आइइएक्समा नेपालको विद्युतले राम्रो मूल्य नपाइरहेको देखिएपनि औसतमा प्रतियुनिट करिब छ रुपैयाँ ७० पैसा पाइरहेको छ ।






















