Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

स्वास्थ्य क्षेत्रमा १२ हजार जनशक्ति थप्ने प्रक्रियाको थालनी, सातै प्रदेशमा विशिष्टिकृत सेवा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले लामो समय पछि स्वास्थ्य क्षेत्रमा पाँच वर्षमा १२ हजार दक्ष जनशक्ति थप्ने गरी हरेक वर्ष २५ सय जनशक्ति थप्ने प्रक्रिया शुरु भएको बताएका छन् । स्वास्थ्य जनशक्ति अभाव भए पनि दशकौंसम्म जनशक्ति थप गर्ने गरी स्वास्थ्य क्षेत्रको सङ्गठन तथा व्यवस्थापन सर्भेक्षण गरेर प्रकृया पूरा गरी मन्त्रिपरिषदमा पेश गर्ने गरी अन्तिम चरणमा रहेको उल्लेख गरे ।

व्यवस्थापिका संसदमा मन्त्रालयको बजेटबारे छलफलमा उठेका प्रश्नको जवाफ दिंदै मन्त्री पौडेलले नयाँ आर्थिक वर्षमा ९५ अर्ब ८१ करोड विनियोजन गरिएको जानकारी दिए ।

सातै प्रदेशमा विशिष्टिकृत सेवा

बजेटमार्फत सघन जलनको उपचार, मुटु, मृगौला प्रत्यारोपण, क्यान्सर लगायतका विशिष्टकृत सेवाहरु सातै प्रदेशका एक एक संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट हुने गरी व्यवस्था गरिएको मन्त्री पौडेलले बताए । मन्त्री पौडेलले पदभार सम्हालेलगत्तै विशिष्टिकृत उपचार सेवा प्रदेशमा पुर्याउने भन्दै सेवा थालेका थिए । यसका लागि नयाँ आर्थिक वर्षमा बजेट विनियोजन भएको छ ।

रोग लाग्न नदिन कार्यक्रम

नयाँ बजेटमार्फत म स्वास्थ्य मेरो समुदाय स्वस्थका लागि ७३६ स्थानीयतहमा जनस्वास्थ्यका कार्यक्रमको प्रभावकारी सञ्चालनका लागि एक जनस्वास्थ्य अधिकृतको व्यवस्था, आयुर्वेद, योग ध्यान तथा परम्परागत चिकित्सा पद्दतिमार्फत निरोगी नागरिक बनाउन नागरिक आरोग्य कार्यक्रमलाई सबै स्थानीयतहमा विस्तार तथा मानसिक स्वास्थ्य प्रवद्र्बनजस्ता निरोधात्मक कार्यक्रम कार्यान्वयन हुने उनले बताए ।

पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर तथा प्रजनन रुग्णतासम्बन्धी स्वास्थ्य सेवा सबै स्थानीयतहमा लागू हुने गरि विनियोजन गरिएको उनले बताए । १४ वर्ष मूनीका बालबालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्ब एच पि भी खोप लगाउने व्यवस्था मिलाईएको मन्त्री पौडेलले उल्लेख गरे ।

आधारभूत अस्पतालका लागि बजेट

निर्माण सम्पन्न भएका आधारभूत अस्पतालको तीनै तहको सहकार्यमा संघ सरकारबाट चिकित्सक सहित औजार उपकरण उपलब्ध गराई श्रावण १ गते देखि सञ्चालनमा ल्याइने मन्त्री पौडेलले बताए । उनले निर्माणाधीन आधारभूत अस्पतालको सम्पन्नता र निर्माण सुरु नभएका स्थानिय तहमा सुरुवात गर्न रणनैतिक स्थानको म्यापिङ्ग कार्य भैरहेको जानकारी समेत दिए ।

स्वास्थ्य बीमा बोर्डको सुधार

स्वास्थ्य बीमा बोर्डको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रकृया अन्तिम चरणमा पुगेको भन्दै उनले प्रविधिमा स्तरोन्नति तथा सबै किसिमका सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रम एकिकृत ढङ्गबाट बीमा मार्फत सञ्चालन गरिने बताए ।

बिमित सेवाग्राहीलाई सबै किसिमका सुविधा थैली, सेवा प्रदायक अस्पतालमा स्वास्थ्य बीमाको शोधभर्ना, भुक्तानी बाँकी रहेको बक्यौता तत्काल फरफारक गरिने मन्त्री पौडेलले बताए । स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाउन सम्पूर्ण पक्षमा सुधार गरिनेछ।बीमासँग सम्बन्धित सम्पूर्ण कानूनी व्यवस्था लागू गरिने समेत मन्त्री पौडेलले बताए ।

मधेशमा मृगौला उपचार केन्द्र, काठमाडौंमा न्यूरो उपचार केन्द्र

संसदमा सम्बोधनका क्रममा स्वास्थ्य मन्त्री पौडेलले मधेश प्रदेशमा विशेष सुविधा सहितको मृगौला उपचार केन्द्र स्थापना गरिने मन्त्री पौडेलले बताए । उनले काठमाडौमा सुविधासम्पन्न राष्ट्रिय न्युरो उपचार केन्द्र स्थापनाका लागि बजेटको व्यवस्था गरिएको समेत जानकारी दिए । निर्माण सम्पन्न भक्तपुरस्थित छाती रोग अस्पताल र बुढानिलकण्ठस्थित राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योगसेवा केन्द्र सञ्चालनका लागि बजेट विनियोजन गरिएको मन्त्री पौडेलले जानकारी दिए ।

ठूला संघीय अस्पतालको पूर्वाधारका लागि बजेट

मन्त्री पौडेलले ठूला संघीय अस्पतालहरु कोशी अस्पताल, रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल, मानसिक अस्पताल पाटन, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, संक्रामक तथा सरुवा रोग अस्पताल टेकु, पोखरा मा आयुर्वेद योग तथा प्राकृतिक चिकित्सा सहितको अस्पताल, नरदेवी आयुर्वेद अस्पताल पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरिएको जानकारी दिए ।

यसैगरी, बीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा क्यान्सर उपचारमा अत्यावश्यक साईक्लोट्रोन उत्पादन गर्ने गरी पिइटी स्क्यान सेवा सञ्चालन गर्न बहुवर्षीय योजनामा समावेश गरिएको मन्त्री पौडेलले उल्लेख गरे ।

आगामी आवमा औजार उपकरण जनशक्ति पूर्वाधार विकासमा थप उपलब्धि हासिल हुने भन्दै उनले संघीय अस्पतालहरुमा अत्यावश्यक औजार उपकरण उपलब्ध हुने गरी बजेट विनियोजन गरिएको जानकारी दिए ।

देशका विभिन्न स्थानमा निर्माणाधीन ट्रमा सेन्टर तथा संक्रामक एवं सरुवा रोग अस्पतालको निर्माण सम्पन्नता साथै वीर, ट्रमा, कान्ति, प्रसूति अस्पतालको क्षमता अभिवृद्धिका लागि व्यवस्था मिलाईएको मन्त्री पौडेलले बताए ।

८ कडा रोगको उपचारमा थप सुविधा

संसदमा बजेटबारे जानकारी गराउने क्रममा मन्त्री पौडेलले आठ कडा रोगको उपचारमा थप सुविधाको व्यवस्था मिलाईएको बताए । थारु समुदायमा आनुवंशिक रोगकोरुपमा देखा परिरहेको सिकलसेल एनिमियाका विरामीका लागि निःशुल्क औषधि र सहुलियतपूर्ण उपचारको व्यवस्था गरेको उनले बताए ।

श्रमिकको स्वास्थ्य रक्षाका लागि पहल

मन्त्री पौडेलले नेपाली श्रमिकको स्वास्थ्य रक्षाका पक्षमा रोजगारदातालाई जिम्मेवार बनाउन पहल थालेको बताए ।

यसका लागि द्बिपक्षीय श्रम सम्झौताम समावेश गर्न तथा आप्रवासी कामदारहरुको स्वास्थ्य सुरक्षालाई विश्वव्यापी मान्यता दिलाउन विश्व स्वास्थ्य संगठनसमक्ष रोजगारदाताको जिम्मेवारी सम्बन्धी नयाँ सिद्बान्त निर्माणका लागि औपचारिक प्रस्ताव लैजाने तयारी गरेका छौ, मन्त्री पौडेलले भने ।

Health Tips Ad Road Block