काठमाडौं । कतारको दोहास्थित अमेरिकी सैन्य अड्डामा इरानद्वारा गरिएको मिसाइल आक्रमणपछि दोहामा रहेको नेपाली राजदूतावासले त्यहाँ कार्यरत नेपाली नागरिकहरूलाई सतर्क रहन आग्रह गरेको छ ।
सामाजिक सञ्जालमार्फत सूचना सार्वजनिक गर्दै दूतावासले हालको सुरक्षा परिस्थितिलाई गम्भीरतापूर्वक लिँदै सबै नेपालीहरुलाई शान्त, संयमित रहन र तत्कालका लागि यथास्थानमै रहन अनुरोध गरेको छ ।
दूतावासद्वारा जारी सन्देशमा भनिएको छ, “वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै कतारमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई सतर्क रहन र यथास्थानमै रहन आग्रह गर्दछौं । कृपया शान्तपूर्वक रहनुहोस् र कतार सरकारको आधिकारिक सूचना तथा निर्देशनको पूर्ण पालना गर्नुहोस् ।”
साथै दूतावासले आपतकालीन अवस्था वा आवश्यक सहयोगका लागि दूतावास संधै नेपालीहरूको साथमा रहेको भन्दै आवश्यक परेमा सम्पर्क गर्न पनि भनेको छ ।






















