चितवन । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भरतपुरस्थित न्यु भरतपुर २२० केभी सवस्टेशनको निरीक्षण, अनुगमन गरेका छन् । प्रशारण निर्देशनालयका उपकार्यकारी निर्देशक राजन ढकाल, उच्चस्तरीय प्राविधिक टोलीसहित पुगेका कार्यकारी निर्देशकले दमौली भरतपुर १३२ केभी लाइनलाई पूर्ण क्षमतामा संचालन गर्नका लागि न्यु भरतपुर सवस्टेशनमा देखिएको प्राविधिक समस्या छिटोभन्दा छिटो समाधान गर्न प्राविधिक परामर्श तथा आवश्यक निर्देशन दिएका छन् ।
दमौली भरतपुर १३२ केभी प्रशारण लाईनको विद्युत शक्ति वहाव गर्ने यस अघिको क्षमता ७० मेगावाटबाट वृद्धि गरि करिव १३० मेगावाट बनाउन सो लाइनमा भएको कण्डक्टर बदलिको कार्य भएको भएतापनि भरतपुरस्थित न्यु भरतपुर २२० केभी सवस्टेशनमा रहेको प्राविधिक जटिलताले गर्दा उक्त लाईन पूर्ण क्षमतामा संचालन गर्न सकिएको थिएन । निजी उर्जा उत्पादकहरुले मर्स्याङ्दी तथा दोर्दी करिडारेमा रहेका जलविद्युत आयोजनाहरु अब पूर्ण क्षमतामा चल्ने तथा दोर्दी करिडोरमा निर्माण गरेको जलविद्युत आयोजनाहरुबाट उत्पादन भएको विद्युत सहजरुपमा राष्ट्रिय प्रशारण प्रणालीमा जोडिनका लागि उक्त लाईनले महत्वपूर्ण भूमिका खेल्ने हुँदा प्राविधिक समस्या समाधान गरि वृद्धि भएको विद्युत वहाव गर्ने क्षमता अनुुसार लाइन संचालन गर्न अपरिहार्य रहेको र त्यसका लागि सवस्टेशनमा गर्नुपर्ने कार्य एक/दुई दिनमा नै गर्न हेटौंडा ग्रिड महाशाखालाई निर्देशन दिइएको थियो ।
सवस्टेशन तथा प्रशारण लाइनमा देखिएका समस्या समाधान गरि सबै विद्युत गृह तथा प्रशारण लाइनहरु पूर्ण क्षमतामा संचालन गर्ने, नियमित भरपर्दो र गुणस्तरीय विद्युत सेवा ग्राहकहरुलाई उपलब्ध गराउने एवं बढी भएको उर्जा निर्यात गरि राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्ने विद्युत प्राधिकरणको नीति रहेको र प्राधिकरणले तदारुकताका साथ आफ्ना गतिविधिहरु अगाडि बढाएअनुसार आकस्मिक निरीक्षण गरिएको प्राधिकरणका प्रवक्तासमेत रहेका निमित्त उपकार्यकारी निर्देशक राजन ढकालले बताएका छन् ।






















