काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीकी अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो । सभामा अध्यक्ष सिंहले समीक्षा वर्ष २०८०/८१ मा अर्थतन्त्र चुनौतीपूर्ण रहेको उल्लेख गर्दै कोभिड महामारीको दीर्घकालिन प्रभाव, भू–राजनितिक संघर्ष एवं प्रतिकुल मौसमको कारणले आपूर्ति श्रृंखलामा अवरोध उत्पन्न भई खाद्यान्न, उर्जा र अन्य वस्तुहरुमा मूल्य वृद्धि भएको एवं देशभरका सहकारीमा परेको समस्या, घर जग्गा कारोबारमा छाएको मन्दी एवं वस्तु तथा सेवाको मागमा ह्रास आएको कारणले समग्र अर्थ ब्यवस्था प्रभावित भएकाे बताइन् । हाल अर्थतन्त्र सुस्त गतिमा रहेको भएतापनि वाह्य सूचकांकहरु सकारात्मक रहेको र आन्तरिक आर्थिक अवस्थामा केही समयपश्चात सुधार आउने अपेक्षा गरिन् ।
आव २०८०/०८१ मा कम्पनीको ब्यवसाय सन्तोषजनक रहेको कम्पनीले जनाएको छ । कम्पनीको कुल बीमा शुल्क २१.९० प्रतिशतले वृद्धि भई रु.२०४९.१२ करोड पुगेको छ । समिक्षा वर्षको संचालनबाट जम्मा रु.१३६८.१८ करोड खुद थप रकम कुल बीमा करार दायित्वमा सारिएको छ र कुल बीमा करार दायित्व गत वर्षको तुलनामा २१.७० प्रतिशतले वृद्धि भई वर्षको अन्तमा रु.७९६०.१८ करोड पुगेको कम्पनीले जनाएको छ । यसै गरी कम्पनीले समीक्षा वर्षमा मृत्यु दाबी, अवधि समाप्ती एवं आंशिक अवधि समाप्ती दाबी, सर्मपण मूल्य, दाबी एवम् अन्य दाबी भुक्तानीमा रु. ८३२.८२ करोड दाबी भुक्तानी गरेको छ । कुल लगानी १७.३५ प्रतिशतले वृद्धि भई रु.७०१५.४६ करोड पुगेको छ । कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन दीर्घकालिन निक्षेपमा अधिकतम् लगानी गर्न कम्पनी प्रयासरत छ । कम्पनीको लगानीमा वार्षिक औसत प्रतिफल दर सन्तोषजनक छ र आ.व.२०८०/०८१ मा सो दर ९.१७ प्रतिशत कायम रहेको कम्पनीको विवरणमा उल्लेख छ ।
कम्पनीले आफ्ना सबै लगानी योग्य रकमहरु नेपाल बीमा प्राधिकरणबाट निर्देशित क्षेत्रभित्र रहेर पारदर्शीता एवं प्रतिफलको हिसाबले अधिकतम दीर्घकालिन लगानीका औजारहरुमा लगानी गर्दै आएको र यसबाट बीमितहरुको अधिकतम् हित संरक्षण हुनेमा कम्पनी विश्वस्त रहेको छ । कम्पनीले आफ्नो लगानी विविधिकरण गर्न प्रयासरत रहेको र सोही क्रममा कम्पनीले आगामी दिनहरुमा आफ्नो स्वामित्वमा जग्गा रहेका शाखाहरुमा ब्यापारिक भवन निर्माण गर्ने प्रयोजनको लागि स्थिर सम्पत्तिमा थप लगानी गर्दै जाने नीति अवलम्बन गरेको जनाएको छ । यसै परिप्रेक्षमा कम्पनीको नेपालगन्जस्थित भवन निर्माण कार्य सम्पन्न भई संचालनमा आइसकेको बताएको छ ।
कम्पनीले आफ्नो ईटहरी शाखाको लागि आफ्नो स्वांमित्वमा रहेको जग्गामा नयाँ आधुनिक ब्यापारिक भवन निर्माण प्रकृया पनि अगाडि बढाएको जनाएको छ । कम्पनीलाई प्रविधिमैत्री बनाउन यथा शक्य लगानी भइरहेको जानकारी दिइएको छ । यसैगरी कम्पनीमा कर्मचारीहरुलाई प्रशिक्षित गर्न आवश्यक प्राविधिक तालिम प्रदान गर्नमा कम्पनी केन्दि«त रहेको बताएको छ ।
कम्पनीले ब्यवसायीक लक्ष्य र संस्थागत सामाजिक उत्तरदायित्व बीचको सन्तुलनलाई निरन्तरता दिई नियमनकारी निकायको निर्देशन अनुसार खुद नाफाको १ प्रतिशत बराबर रकम सामाजिक उत्तरदायित्व जगेडामा स्थानान्तरण गरेको जानकारी दिएको छ । संस्थागत सामाजिक उत्तरदायित्व शीर्षक अन्तर्गत कम्पनीले विशेष गरी स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको छ । यसै सन्दर्भमा समिक्षा वर्षमा कम्पनीले केटाकेटीको स्वास्थ्य उपचार सम्बन्धि परियोजनाको लागि काठमाडौं इन्टिच्युट अफ चाइल्ड हेल्थ संस्थालाई रु. २५ लाखको आर्थिक सहयोग समेत प्रदान गरेको सो अवसरमा जानकारी दिइयो ।
३७ औं वार्षिक साधारण सभाले आ.व. २०८०/०८१ को लागि कम्पनीको अद्यावधिक चुक्ता पूँजी रु.५,२१,२१,३३,०८२ मा १० प्रतिशतका दरले नगद लाभांश रु.५२,१२,१३,३०८ र ५ प्रतिशतका दरले बोनस शेयर रु.२६,०६,०६,६५४ का साथै उक्त नगद एवं बोनस लाभांशमा कर प्रयोजनको लागि रु.४,११,४८,४१८ नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । नियामक निकायले जीवन बीमा कम्पनीको चुक्ता पूँजी रु.५ अर्ब पुर्याउनु पर्ने बाध्यात्मक ब्यवस्था गरेकोमा हाल कायम रहेको चुक्ता पूँजी रु.५,२१,२१,३३,०८२ मा ५ प्रतिशतको बोनस शेयर थप भई कुल चुक्ता पूँजी रु.५,४७,२७,३९,७३६पुगेको साधारण सभामा जानकारी दिइएको छ ।
कम्पनीको ३३ औं वार्षिक साधारण सभाबाट निर्वाचित संचालकहरुको पदाविधी समाप्त भई ३७ वौं वार्षिक साधारण सभाबाट संस्थापक सदस्यहरुको तर्फबाट ३ जना संचालकहरु प्रेमा राज्य लक्ष्मी सिहं, रथी पवन बहादुर पाँडे (अ.प्रा) र कुशल मल्ली साथै सर्वसाधारण समूह तर्फबाट २ जना संचालकहरु कुलदीप शरण सिंह र भवानी राणालाई संचालक समितिमा निर्विरोध निर्वाचन गरेको छ ।
सभामा अध्यक्ष सिंहले आउने दिनहरुमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले एक मुख्य बीमकको रुपमा आम सर्वसाधारणको जीवन बीमाको आवश्यकता परिपूर्ती गर्नमा अग्रणी भूमीका निर्वाह गरिरहने विश्वास ब्यक्त गरेकी छन् ।






















