काठमाडौं । एनआईसी एशिया क्यापिटलद्धारा संचालित ‘एन आई सी एशियाग्रोथ फण्ड’ को खारेजी तथा इकाईधनीहरुलाई रकम फिर्ता भुक्तानी थालिएको छ । एनआईसी एशिया बंैक लिमिटेड कोष प्रवद्र्धक तथा एनआईसी एशिया क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहि एनआईसी एशिया बंैक म्युचुअल फण्ड अन्तर्गत संचालित प्रतिइकाई अंकित मूल्य रु.१० दरका आठ करोड पैतिस लाख बिस हजार इकाई रहेको “एनआई सी एशियाग्रोथ फण्ड” नामक ७ वर्षे बन्दमुखी योजना मिति २०८१ साल फागुन २८ गते परिपक्व भएको थियो । सोही सम्बन्धमा सामूहिक लगानी कोष नियमावली २०६७ को परिच्छेद ७, दफा ३२ (३) बमोजिम योजना खारेज गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएपछि त्यस्तो स्वीकृति प्राप्त भएको तीन महिनाभित्र कोष व्यवस्थापकले त्यस्तो योजना अन्तर्गतको सम्पत्तिलाई नगदमा परिणत गरी सहभागीहरुलाई ईकाइको स्वामित्वको अनुपातमा भुक्तानी दिनुपर्ने व्यवस्था छ । सो अनुरुप बोर्डबाट २०८१ चैत १२ गतेको पत्रमार्फत एनआईसी एशिया ग्रोथ फण्डको खारेजी प्रक्रिया अघि बढाउन स्विकृति प्राप्त भएको थियो । स्वीकृति बमोजिम क्यापिटलले एनआईसी एशिया ग्रोथ फण्डको नाममा रहेको सम्पूर्ण सम्पत्तिलाई नगदमा परिणत गर्ने कार्य समाप्त भईसकेको जनाएको छ ।
उक्त योजनाको हिसाब मिलान गरी इकाईधनीहरुलाई असार ९ गतेदेखि सम्बन्धित इकाई धनीको हितग्राही खातामा उल्लेख भएको बैंक तथा वित्तीय संस्थाको खातामा सोझै जम्मा हुने गरी फिर्ता भुक्तानी गर्न थालिसकेको कम्पनीले जनाएको छ । योजनाको इकाई रहेको हितग्राही खातामा बैंक तथा वित्तीय संस्थाको खाता नम्बर उल्लेख नभएको वा परिवर्तन भएको खण्डमा अद्यावधिक गराउन पनि कम्पनीले इकाईधनीहरुलाई आग्रह गरेको छ ।






















