काठमाडौं । आज सबै प्रदेशमा पानी पर्ने र तीन प्रदेशमा धेरै भारी वर्षा हुनसक्ने अनुमान भएको छ । मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। विभागले आगामी २४ घण्टाको मौसम पूर्वानुमान गर्दै सबै प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। बुलेटिनमा जनाएअनुसार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।
कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू तथा बाँकी उच्चपहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले उल्लेख गरेको छ।
आज राति पनि कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । राति पनि कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी देख धेरै भारी वर्षाको सम्भावना रहेको विभागले बुलेटिनमा उल्लेख गरेको छ ।
हाल देशको पूर्वी क्षेत्रमा मनसुनी वायुको प्रभाव र पश्चिमी क्षेत्रमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।





















