धादिङ । नेपालमा धेरै प्रख्यात धार्मिक पर्यटकीय स्थलहरु छन् । त्यसमा एक हो कालीदेवी मन्दिर । पुस्तौंदेखिको धार्मिक आस्थाको देवी ऐतिहासिक कालीदेवी मन्दिर राजधानी काठमाडौंबाट मात्र एक घण्टाको यात्रापछि पुग्न सकिन्छ ।
धादिङ जिल्लाको धुनिबेसी नगरपालिका वडा नम्बर ६ मा रहेको कालीदेवी मन्दिर धादिङसहित आसपासका जिल्लामा निकै नै प्रख्यात छ । यस मन्दिरमा धादिङ जिल्लाभरि र काठमाडौं, चितवन, हेटौंडा, काभ्रे, ललितपुर, भक्तपुर लगायत विभिन्न जिल्लाहरूबाट दर्शन गर्न हिन्दू धर्मावलम्बीहरू आउने गर्दछन् ।

चैत पूर्णिमामा विशेष मेला लाग्ने मन्दिरको यस्तो छ विशेषता
यस मन्दिरमा चैत पूर्णिमाको दिन विशेष मेला लाग्ने गर्दछ । धुनिबेसी वडा नम्बर ६ को कार्यालयले यसअघि एक विज्ञसहितको टोली गठन गरेर यो मन्दिर कति पुरानो हो ? यसका पुजारीहरु को–को थिए ? यसको विशेषता के–के रहेछन् ? भनेर एक अध्ययन समेत गरेको छ । सो अध्ययनबाट यो मन्दिर कम्तिमा पनि ३०० वर्ष पुरानो हो भन्ने सो अनुसन्धानबाट पत्ता लागेको विज्ञ कमल भण्डारी बताउँछन् । चैत शुक्ल पूर्णिमामा मन्दिरमा दर्शन पूजापाठ गरी बलि चढाउँदा मनोकामना पुरा हुने जनविश्वास रहिआएको छ । त्यसैले चैत पूर्णिमाको दिन यहाँ ठूलो संख्यामा भक्तजनको उपस्थिति हुने गर्दछ ।

देशका मनकामना, दक्षिणकाली लगायतका देवीहरूमा बोका बलि दिने प्रचलन छ भने कालीदेवी मन्दिरमा विशेषगरी पाठी बलि दिइन्छ । सँगसँगै कुखुराको भाले, अण्डा, नरिवल, फलफूल लगायतले पूजा गरिन्छ । यो मन्दिरको विशेषता भनेको तामाङ समुदायको पुजारी छन् ।

छ पुस्ता अघिदेखि तामाङले पूजा गरेको अध्ययनबाट खुलेको वडा अध्यक्ष रमेश प्रसाद आचार्य बताउँछन् । यो मन्दिर समुद्री सतहदेखि १३७० मिटरको उचाइमा रहेको छ । यो मन्दिरमा चैत पूर्णिमाको दिन ३०० भन्दा बढी पाठी बलिदिने गरेको अध्यक्ष आचार्यले जानकारी दिएका छन् ।

यस मन्दिरदेखि केहीमाथि करिब २ घण्टा हिँडेपछि टोड्के मदाने भन्ने उचाइमा पुग्न सकिन्छ । सो ठाउँबाट पूर्वतर्फ काठमाडौं उपत्यका, उत्तरपूर्वमा सगरमाथा, जुगल हिमाल र पश्चिममा रहेको गणेश हिमाल लगायतका दर्जनौं हिम श्रृङ्खला अगाडि ठिङ्ग उभिएको झैँ भान हुनेछ । यो क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने लक्ष्य रहेको धुनबेसी नगरपालिकाका मेयर बालकृष्ण आचार्य बताउँछन् ।
मन्दिरमा चैत पूर्णिमा बाहेक अन्य समयमा पनि मेला लाग्ने गर्दछ ।
सुन्तला पाकेट क्षेत्र
यस क्षेत्रमा प्रदेश सरकारको एक वडा एक उत्पादन कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्ष २०८१÷८२ मा ६६ लाख रुपैयाँ विनियोजन भइ सुन्तला पकेट क्षेत्रका रुपमा विकास गर्ने कार्य भइरहेको वडा अध्यक्ष रमेश प्रसाद आचार्यले जानकारी दिएका छन् । काठमाडौंबाट एक घण्टाको यात्रापछि पुग्न सकिने यस कालदेवी मन्दिरमा होमस्टेहरू सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । काठमाडौंको कोलाहालपूर्ण वातावरणबाट निस्किएर केहीबेरका निमित्त प्राकृतिक सौन्दर्यसँग रमाउन र हाइकिङ गर्नेका निमित्त यो धार्मिक पर्यटकीयस्थल उत्कृष्ट, सजिलो, रमणीय र सुन्दर गन्तव्य हो । मन्दिरको धार्मिक, सांस्कृतिक र प्राकृतिक महत्वको अझै प्रचार प्रसार गर्न सके सिंगो देशकै पर्यटनमा टेवा पुग्नेछ ।






















