Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

बाढीको जोखिम टार्न समयमै कनकाई तटबन्ध निर्माण सक्न निर्देशन

जनताको सुरक्षा पहिलोः ठेक्का प्रक्रिया होस् वा विपद् व्यवस्थापन बजेटबाट समयमै सक्नुपर्ने

Citizenlife ad 2082 falgun to baishak 2083

झापा । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले झापाको कनकाई नदीमा निर्माणाधीन तटबन्ध कार्यमा कुनै पनि ढिलाइ नगर्न निर्देशन दिएका छन् । उनले तटबन्ध पुनर्निर्माण स्थलको निरीक्षण गर्दै समयमै काम सम्पन्न नभए कम्तीमा १०५ घरधुरी पूर्ण रूपमा विस्थापित हुने गम्भीर जोखिम रहेको औंल्याए ।
गत वर्ष असोज १०, ११ र १२ गतेको अविरल वर्षाले कनकाई नदीमा आएको बाढीका कारण हुलाकी राजमार्ग नजिक करिब ७ सय मिटर क्षेत्रको तटबन्धमा गम्भीर क्षति पुगेको थियो। सो क्षेत्रको पुनर्निर्माण अझै नपुगेकाले बस्ती, खेती, पशुधन र सम्पूर्ण जीविकोपार्जनमा प्रतिकूल असर पर्ने खतरा देखिएको छ।

‘ठेक्का प्रक्रिया होस् वा विपद् व्यवस्थापन बजेट,जुनसुकै उपाय अपनाएर भए पनि तटबन्ध पुनर्निर्माण कार्य समयमै सम्पन्न हुनुपर्छ,’ मन्त्री खड्काले भने, । उनले तटबन्ध निर्माणमा बजेट अभाव हुन नदिने प्रतिबद्धता पनि व्यक्त गरे ।

विपद् पुनर्निर्माण योजनाअन्तर्गत अघि बढाइएको तटबन्ध निर्माण कार्यको स्थलगत प्रगति विवरण दिँदै ‘जनताको तटबन्ध कार्यक्रम गैँडे, झापा’ का प्रमुख इञ्जिनियर विजयकुमार रेग्मीले १२ महिनाको लक्ष्यसहित सुरु गरिएको योजनाको पहिलो दुई महिनामै ६० प्रतिशत कार्य सम्पन्न भइसकेको जानकारी दिए ।

विद्युत् सेवा चुस्त बनाउन निर्देशन

यात्राक्रमकै क्रममा मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरण विर्तामोड वितरण केन्द्रको अनुगमन गर्दै सेवा प्रवाहमा कुनै पनि प्रकारको लापरवाही नगर्न निर्देशन दिएका छन् ।

‘जनतालाई अबरोधविहीन विद्युत् सेवा उपलब्ध गराउनु हाम्रो प्रमुख दायित्व हो,’ मन्त्री खड्काले भने, ‘लाइफ लस र सप्लाई लस दुवैको सम्भावना शून्य हुने गरी प्रणाली विकास गर्न आवश्यक छ।’

उनले डेडिकेटेड र ट्रंक लाइनसम्बन्धी बक्यौता असुलीमा कडाइ गर्न, नियमित बिल तिर्ने उपभोक्तालाई प्रोत्साहन गर्न तथा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने व्यवस्था गर्न सकिने संकेत पनि गरे ।

सिफारिशविहीन सरुवामा पुनः जोड

सेवा प्रवाहमा पारदर्शिता र कार्यकुशलता कायम राख्न मन्त्री खड्काले सरुवा र बढुवामा सिफारिश र भनसुनको प्रवृत्तिमा पूर्ण रोक लगाउने नीतिगत धारणा पुनः दोहोर्याए । ‘सेवा प्रवाहमा समस्या देखिए सिधै मन्त्रालय आउनुहोस्, म स्वयं भेट्छु,’ भन्ने मन्त्री खड्काको भनाइ थियो ।

Health Tips Ad Road Block