काठमाडौं । नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओमा ) मनोज कुमार ज्ञवाली नियुक्त भएका छन् । बैंक सञ्चालक समिति बैठकले यसअघि कायममुकायम सिईओको रूपमा नेतृत्व सम्हाल्दै आएका ज्ञवालीलाई ४ वर्षका लागि सीईओ नियुक्त गरेको हो ।
भारतको प्रतिष्ठित संस्था दि इष्टीच्यूट अफ चार्टड एकाउन्टेन्ट्स अफ इन्डियाबाट चार्टर्ड एकाउन्टेन्टको उपाधि प्राप्त गरेका जवालीसँग बैंकिङ तथा पूँजी बजार क्षेत्रको २६ वर्षभन्दा बढीको अनुभव छ। यसअघि कायममुकायम सीईओको रूपमा नेतृत्व सम्हाल्दै आएका ज्ञवाली बैकिङ क्षेत्रका स्पष्ट वक्ता, अनुभवी तथा दूरदर्शी व्यक्तित्वका रूपमा चिनिन्छन् ।
नेपाल राष्ट्र बैंक, ग्लोबल आइएमई बैंक, ग्लोबल आइएमई क्यापिटल र ज्योति विकास बैंक लगायतका नियामक र बैंकिङ संस्थाहरूमा नेतृत्वदायी भूमिका सम्हाल्दै आएका ज्ञवालीले वित्तीय क्षेत्रको दिगो विकासमा उल्लेखनीय योगदान पुर्याएका छन्।
जवालीको नेतृत्वमा नबिल बैंकले वित्तीय सूचकांकहरूमा थप उचाइ हासिल गर्दै ग्राहक सेवा, नवप्रवर्तन र स्थायित्वमा अझ सुदृढ प्रगति गर्ने आशा लिएको छ।






















