काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का नेपाल मिसन प्रमुख डा. सरावत जहानबीच महासंघ सचिवालय टेकु, काठमाडौंमा भेटवार्ता भएको छ। भेटमा आर्थिक वर्ष २०८२/८३ को बजेट, मौद्रिक नीति, नेपालको अर्थतन्त्रको वर्तमान अवस्था र नेपाल सरकारसँगको सहकार्यका विषयमा विस्तृत छलफल भएको छ ।
सो अवसरमा महासंघका अध्यक्ष ढकालले चालु आर्थिक वर्षको बजेटले निजी क्षेत्रलाई अर्थतन्त्रको प्रमुख चालक शक्तिको रूपमा प्राथमिकता दिएको बताए । उनले बजेटमा महासंघका सुझावहरू समेटिएको उल्लेख गर्दै कार्यान्वयनमा प्रभावकारिता आवश्यक रहेको जोड दिए ।
“हामीले बजेटलाई सकारात्मक रुपमा लिएका छौं । बजेटले ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको छ, जुन कार्यान्वयनमा इमानदारी भए सम्भव छ । ” ढकालले भने । यद्यपि उनले पर्यटन क्षेत्र र जलविद्युत् विकासमा थप प्राथमिकता आवश्यक रहेको र यस विषयमा सरकारलाई सुझाव दिएको समेत जिज्ञाशा राखेका थिए ।
अध्यक्ष ढकालले आर्थिक विकास र समृद्धिका लागि सुशासन र नीतिगत स्थायित्व सुनिश्चित गर्न महासंघले सरकारसँग पैरवी गर्दै आइरहेको धारणा राखे ।
भेटमा डा. सरावत जहानले आर्थिक वर्ष २०८२/८३ को बजेटका सन्दर्भमा निजी क्षेत्रको धारणा र सरकारले बजेटमार्फत लिएको आर्थिक वृद्धिको लक्ष्य, मौद्रिक नीतिमा निजी क्षेत्रको अपेक्षाका लगायत नेपालको समग्र अथतन्त्रका बारेमा जानकारी लिएका थिए । साथै उनले नेपाल सरकार र अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूबीचको सहकार्य तथा आइएमएफले सरकारसँग नयाँ सहकार्यका बारेमा छलफल गरिरहेको जानकारी दिए ।






















