काठमाडौं । सरकारले जुनसुकै बेला जुनसुकै मनसुनजन्य विपद् हुनसक्ने भन्दै विपद् व्यवस्थापनका लागि चौबिसै घण्टा तयार रहन निर्देशन दिएको छ । गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद्को पूर्वसूचना अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीको सम्बन्धित युनिटलाई तत्काल परिचालन गर्न निर्देशन दिएका हुन् ।
नेपाल प्रहरी, शसस्त्र प्रहरी लगायत निकायसँग विपद् पूर्वतयारीबारे ब्रिफिङ लिँदै गृहमन्त्री लेखकले मनसुन सुरु नहुँदै तयारी अवस्थामा बस्नुपर्ने बताएका हुन् ।
विपद्को व्यवस्थापन गर्ने जिम्मेवारी सशस्त्र प्रहरीलाई तोकेको भन्दै विपद् व्यवस्थापनको पूर्व तयारीमा लाग्न उनले निर्देशन दिएका छन् । ‘मनसुनजन्य विपद्को तयारीमा आजैदेखि लाग्नुहोस् । पूर्वानुमान र पूर्वानुमान बेगर हुने विपद्का लागि तयार रहनु होला । पूर्वसूचना अनुसार जोखिम कुन कुन ठाउँमा छ भन्ने अनुमान गर्न सकिन्छ । त्यो बस्तीमा हामीले पूर्वसूचना दिनुपर्यो । मान्छेलाई उद्धार गरेर सुरक्षित ठाउँमा पुर्याउने गर्नुपर्यो ।’
विपद् व्यवस्थापनमा स्थानीय तह एवम् अन्य सरोकारवाला नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र प्रदेश सरकार लगायतका निकायसँग समन्वय गरी जनताले महसुस गर्न सक्ने गरी कार्य गर्न पनि उनले नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।
विपद् जोखिम देखिएको ठाउँमा परिचालित भएर सम्भावित घटना हुन चनाखो हुनुपर्ने उनको भनाइ छ । यस्तै गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरीलाई विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा काम गर्न सुझाए ।
गृहमन्त्री लेखकले राष्ट्रिय आपत्कालीन कार्यसंचालन केन्द्र (एनइओसी)को एउटा शाखा राख्नुपर्ने बताएका छन् । ‘त्यसमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका अधिकारी बसेर काम गर्नुपर्यो । कुनै पनि ठाउँमा विपद् आइलाग्दा आ–आफ्ना क्षेत्रलाई समन्वय गर्न सजिलो हुन्छ । यसले विपद् व्यवस्थापनमा चाडो काम गर्न सकिन्छ,’ उनले भनेका छन् ।
मनसुनजन्य विपद्का खतरा देखिएको ठाउँमा राति गाडी चलाउन रोक्ने कुरालाई गम्भीरतापूर्वक लागु गर्नुपर्ने गृहमन्त्री लेखकको भनाइ छ। यो वर्ष विगतको भन्दा बढी मनसुन हुने अनुमान गरिएको भन्दै बाढी–पहिरोले निम्त्याउने खतराको पूर्वतयारी थाल्नुपर्ने उनले बताए । ‘कुनै ठाउँबाट पनि गुनासो नआउने गरी, कुनै पनि ठाउँमा हाम्रो यो कमजोरी भयो भन्ने अवस्था आउनु भएन । चौबिसै घण्टा तयारी अवस्थामा रहनुपर्यो,’ उनले भने ।
आम नागरिकले संकटको बेला सुरक्षा निकायहरूलाई आशाको केन्द्रको रूपमा लिने हुनाले त्यस्तो परिस्थितिमा अत्यावश्यक सेवा प्रवाहमा थप संवेदनशील भई उच्च मनोबलका साथ कार्यसम्पदान गर्नुपर्ने उनको भनाई छ ।























