Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

देशभर आजबाट सार्वजनिक यातायात चल्ने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सरकार र आन्दोलनरत यातायात व्यवसायीबिच सोमबार राति सहमति भएपछि आजबाट सार्वजनिक यातायात सञ्चालन हुने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा अबेर रातिसम्म चलेको तेस्रो चरणको वार्तापछि सहमतिमा हस्ताक्षर भएको हो । सहमतिपछि नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष विजय स्वाँरले सङ्घीय सरकारले गण्डकी प्रदेश सरकारलाई राइड सेयरिङसम्बन्धी नियमावली स्थगित गर्न अनुरोध गर्दै पत्राचार गर्ने निर्णय भएको बताए । उनले गण्डकी सरकारले राइड सेयरिङसम्बन्धी नियमावली स्थगित गर्ने निर्णय गरेपछि देशभर सार्वजनिक सवारी साधन सञ्चालन गर्ने सहमति भएको जानकारी दिए । अध्यक्ष स्वाँरले गण्डकी प्रदेश सरकारले नियमावली पूर्णरूपमा फिर्ता नगरेसम्म आन्दोलन नरोकिने पनि स्पष्ट पारे।

यस्तै सरकारी वार्ता टोलीका संयोजक तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्तले गण्डकी प्रदेश सरकारले जारी गरेको निर्देशिका, जसले रातो नम्बर प्लेटलाई कालो नम्बर प्लेटसरह मान्यता दिएको थियो, स्थगित गर्ने सहमति भएको बताए । सङ्घीय कानुन नबनेको र प्रदेशले आफ्नो आवश्यकता अनुसारको कानुन बनाउनु बाध्यता भएको जानकारी उनले दिए । अब छिट्टै सङ्घीय कानुन (छाता ऐन)  बन्ने अवस्था रहेकोले यस्तो द्विविधा र अप्ठ्यारो नहुने स्पष्ट पारे । सहसचिव पन्तले यातायात व्यवसायीबीच भएको सहमति अनुसार नियमावली कार्यान्वयन तत्कालको लागि स्थगन गर्न अनुरोध गर्ने निर्णय भएको बताए ।

राइड सेयरिङ नियमावलीको विरोधमा यातायात व्यवसायीले देशभर सार्वजनिक सवारी साधन बन्द गर्दै आन्दोलन गरेका थिए। गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली ल्याएपछि यातायात व्यवसायीहरू ७ बुँदे मागसहित आन्दोलनमा छन् । नियमावली स्थगित भएसँगै अब देशभर यातायात सेवा सुचारु हुने अपेक्षा गरिएको छ।

Health Tips Ad Road Block