skip this News Page Tips Ad Road Block

आज आव २०८२/८३ को बजेट सार्वजनिक हुँदै, कस्तो आउला त बजेट ?

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको राजस्व र व्ययको वार्षिक अनुमान अर्थात् बजेट सार्वजनिक हुँदैछ । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते बजेट सार्वजनिक गर्नुपर्ने प्रावधानसँगै बजेट सार्वजनिक हुन लागेको हो ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसदका दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा दिउँसो ३ बजे बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । नेपालको संविधान, २०७२ को धारा ११९ को उपधारा (३) मा उल्लिखित अर्थमन्त्रीले प्रत्येक वर्ष जेठ १५ गते संघीय संसदमा राजस्व र व्ययको अनुमान पेस गर्नुपर्ने व्यवस्था रहेको छ ।

स्रोतको अभावकाबीच आउन लागेको बजेट १९ खर्ब हाराहारीको हुने अनुमान छ । राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आवका लागि १९ खर्ब ६५ करोड रुपैयाँको बजेटको सीमा निर्धारण गरेको छ । चालु आर्थिक वर्षको बीचमा स्रोत नपुग्ने भन्दै बजेटको आकार घटाएका अर्थमन्त्री पौडेलले के गर्छन त्यो भने हेर्न बाँकी छ तापनि बजेट निर्माणको अन्तिम समयमा बढ्ने मागका कारण विगतकै अनुमानलाई आधार मानेर बढी आकारको बजेट आउने अनुमान धेरैकाे छ ।

आगामी बजेट अर्थतन्त्रको वृद्धिदरलाई उच्च महत्वमा राखेर ल्याइने अर्थमन्त्री पौडेलले यसअघि नै बताइसकेका छन् । बजेटमा नयाँ भन्दापनि पुराना महत्वका आयोजनालाई सम्पन्न गर्नेगरी विनियोजन गरेको उनले बताउँदै आएका छन् ।

अर्थमन्त्रीले बजेट वक्तव्य सार्वजनिक गर्नुपूर्व संसदमा चालु आवको आर्थिक सर्वेक्षण पनि पेस गर्ने कार्यक्रम रहेको छ । बजेट वक्तव्यसँगै अर्थमन्त्रीले विनियोजन विधेयक, अर्थसम्बन्धी विधेयक, राष्ट्र ऋण उठाउने विधेयक पेस गर्नेछन् ।

Health Tips Ad Road Block