skip this News Page Tips Ad Road Block

मिस युनिभर्स नेपाल २०२५ को आवेदन खुला

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं। मिस युनिभर्स नेपाल २०२५ को लागि दर्ता औपचारिकरूपमा खुला गरिएको छ । ग्लोबल ग्ल्यामर भेन्चरको आयोजनामा काठमाडौंस्थित हिल्टन होटलमा आयोजित विशेष कार्यक्रममा यो घोषणा गरिएको हो

यो वर्ष प्रतियोगिता आठ भागमा आधारित ‘रियालिटी टिभी शो’ को रूपमा प्रस्तुत गरिने जानकारी कार्यक्रममा गराइयो । यस माध्यमबाट दर्शकहरूले प्रतियोगीहरूको यात्रा, चुनौती र परिवर्तनलाई नजिकबाट अनुभव गर्न सक्ने आयोजकले जनाएको छ ।

कार्यक्रममा मिस युनिभर्स नेपालकी राष्ट्रिय निर्देशक सङ्गीता पुरीले सम्पूर्ण ब्रह्माण्डमा नेपाली महिलाहरूको असीम क्षमता उजागर गर्ने प्लेटफर्म भएको बताइन् । प्रतियोगिताको समावेशी र लोकतान्त्रिक स्वरूपबारे जानकारी दिँदै उनले भनिन्, ‘तपाईं जस्तो हुनुहुन्छ, त्यही नै तपाईंको सौन्दर्यता हो ।’उनले अगाडि थपिन्, ‘हामी सबै पृष्ठभूमिका महिलाहरूलाई स्वागत गर्दछौं । यो मञ्च आत्मविश्वास देखाउने, अवसर समाउने र सम्पूर्ण ब्रह्माण्डमा नेपाली महिलाहरूको असीम क्षमता उजागर गर्ने प्लेटफर्म हो ।’

दर्ता प्रक्रिया जेठ १५ देखि असार १५ सम्म खुला रहनेछ । इच्छुक सहभागीहरूले खल्ती एप, मिस युनिभर्स नेपालको वेबसाइट वा सोसल मिडिया प्लेटफर्ममार्फत दर्ता गर्न सक्ने आयोजकले जनाएको छ । सहभागी महिला कम्तीमा १८ वर्ष उमेर पुगेको र प्लस टु वा सो सरहको शैक्षिक योग्यता प्राप्त गरेको हुनुपर्नेछ ।

प्रतियोगिता समावेशी मूल्यमा आधारित रहेकाले उचाइ, तौल वा वैवाहिक स्थितिमा कुनै प्रतिबन्ध नराखिएको आयोजकले जानकारी दिएको छ । नेपाली नागरिकसँगै गैरआवासीय नेपाली महिलाहरूले पनि प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् ।

कार्यक्रममा मिस युनिभर्स नेपाल २०२५ सम्पदा घिमिरे, अन्तर्राष्ट्रिय श्रम संगठन नेपालका देश निर्देशक नुमान ओजकान, मिस युनिभर्स राष्ट्रिय निर्देशक सङ्गीता पुरी, कोरियोग्राफर दिक्पाल कार्की तथा मिस युनिर्भ नेपालकी अध्यक्ष साबी पुरीको विशेष उपस्थिति रहेको थियो ।

प्रतियोगिताका टप प्रतिस्पर्धीहरूले साउन महिनामा २५ दिने इन्टेन्सिभ ट्रेनिङ प्राप्त गर्नेछन् भने भदौमा क्लोज क्याम्प सञ्चालन हुनेछ । ग्रान्ड फिनाले भदौमा महिनामा आयोजना गरिने जनाइएको छ । मिस युनिभर्स नेपालले यस वर्ष समाजसेवा र सामाजिक कल्याणका क्षेत्रमा अन्तर्राष्ट्रिय श्रम संगठनसँग सहकार्य गर्ने घोषणा समेत गरेको छ।

Health Tips Ad Road Block