skip this News Page Tips Ad Road Block

धादिङको त्रिपुरासुन्दरीमा साढे दुई करोडमा बनेको अत्याधुनिक प्रयोगशालासहितको कृषि तथा पशुपन्छी सेवा केन्द्र सञ्चालनमा

किसानलाई माटो, खेतीबाली तथा पशुपन्छीमा लाग्ने रोग परिक्षणका लागि सहज हुने

Citizenlife ad 2082 falgun to baishak 2083

धादिङ । धादिङको त्रिपुरासुन्दरीमा अत्याधुनिक प्रयोगशालासहितको कृषि तथा पशुपन्छी सेवा केन्द्र सञ्चालनमा आएको छ । कुल दुई करोड त्रिचालीस लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भई पालिकालाई हस्तान्तरण गरिएको सेवा केन्द्रमा कृषि तथा पशुपन्छीमा लाग्ने रोगका साथै माटो परिक्षणका लागि अत्याधुनिक प्रयोगशाला सहितको सुविधा रहेको छ ।

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले धादिङको त्रिपुरासुन्दरी गाँउपालिकामा निर्माण भएको कृषि तथा पशुपन्छी सेवा केन्द्रको उद्धघाटन गरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (रिड०)ले निर्माण गरेको उक्त भवनको हस्तान्तरण एवं उद्धघाटन कार्यक्रममा मन्त्री अधिकारीले यस केन्द्रको सञ्चालनसँगै माटो, खेतीबाली तथा पशुपन्छीमा लाग्ने रोगको परिक्षणका लागि सहज र सुलभ सेवा किसानले प्राप्त गर्ने विश्वास व्यक्त गरे । ‘यस्ता सेवा केन्द्रहरुको निर्माण र सञ्चालन हुनु कृषि कर्म गर्ने किसानहरुका लागि महत्वपूर्ण उपलब्धी हो,’ मन्त्री अधिकारीले भने ।

किसानलाई आफनै गाँउ ठाँउमा सहज तरिकाले सेवा प्रदान होस भन्ने उद्धेश्यले मन्त्रालयले काम गरिरहेको उल्लेख गर्दे मन्त्री अधिकारीले मन्त्रालयले गरेका पछिल्ला निर्णय र प्रयासहरुले कृषि क्षेत्रमा छिट्टै सकारात्मक परिवर्तन देखिने विश्वास व्यक्त गरे । उनले भने, ‘सरकारले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दैछ, कृषि क्षेत्र सुधारका लागि हाम्रा थुप्रै अपेक्षाहरु छन् । केहीको सम्बोधन बजेटमार्फत हुनेछ।’

‘पछिल्लो समय रासायनिक मल खरिदलाई सरलीकृत गर्न खरिद नियमावलीमै केही संशोधनसमेत भएको चर्चा गर्दे मन्त्री अधिकारीले यसबाट मल खरिदमा लाग्ने समय केही छोटो हुनेछ,’ भने । समयमै मल किसानको बारीमा पुर्याउनका लागि आफूले प्रयास गरेको भएपनि किसानले मागेजति मल उपलब्ध हुन नसकिरहेको र रासायनिक मल कम गर्दे प्राङ्गारिक मलको प्रवद्र्धनका लागि मन्त्रालयले कार्य गरिरहेको उनले बताए ।

धादिङको सल्यानटार आसपासमा कृषि अनुसन्धान परिषद (नार्क) को अनुसन्धान केन्द्र स्थापनाको गृहकार्य अन्तिम चरणमा पुगेको र यस कार्यका लागि पालिकालाई अग्रसरता लिन पनि मन्त्री अधिकारीले आग्रह गरे ।

त्रिपुरासुन्दरी गाँउपलिकाका अध्यक्ष राजु उप्रेतीले सेवा केन्द्रमार्फत वरपरका पालिकाहरुलाई समेत सेवा प्रदान गर्न सकिने गरि काम गर्ने प्रतिवद्धता व्यक्त गरे । माटो लगायतको परिक्षणका लागि काठमाडौंसम्म जानुपर्ने बाध्यताको अन्त्य हुने र यसवाट कृषि उब्जनीमा वृद्धि हुने अपेक्षा पनि उनले व्यक्त गरे ।

कार्यक्रममा रिडका परियोजना निर्देशक डा.चन्द्र प्रसाद रिसालले सेवा केन्द्रको सञ्चालनमार्फत किसानहरुले आफ्नै पालिकामा एकै छानामुनी विशिष्ठिकृत सेवा प्राप्त गर्न सक्ने बताए ।

कार्यक्रममा जिल्लाका विभिन्न पालिकाका पदाधिकारीले कृषिको उत्पादन र बजारीकरणमा मन्त्रालयको सहयोगको अपेक्षा व्यक्त गरे ।

रिडले मध्य पहाडी लोकमार्गलाई आधारमानी विभिन्न पालिकाहरुमा अत्याधुनिक प्रयोगशालासहितको यस्ता कृषि तथा पशुपन्छी सेवा केन्द्रहरुको निर्माण गरि हस्तान्तरण गर्ने कार्य गरेको छ ।

Health Tips Ad Road Block