काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले नेपालको पर्यटन क्षेत्रको दिगो विकासमा महत्वपूर्ण योगदान पुग्ने विषयबारे स्मरण गराउँदै सरकारलाई ८ बुँदे सुझाव दिएको छ । सरकार तथा निजी क्षेत्रका सरोकारवालाहरूसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताउँदै नाट्टाका अध्यक्ष कुमारमणि थपलियाले सरकारलाई उक्त सुझाव प्रस्तुत गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आयोजित राष्ट्रिय पर्यटन सम्वादमा आफ्नो भनाइ राख्दै अध्यक्ष थपलियाले नेपालको पर्यटन क्षेत्रसँग सम्बन्धित केही महत्वपूर्ण विषयहरू उठान गरेको बताएका छन् ।
१. हवाई टिकटमा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट) तुरुन्त खारेज गर्नुपर्ने । यो करले नेपाललाई क्षेत्रकै सबैभन्दा महँगो गन्तव्य बनाएको छ। नेपालमा पर्यटक भित्र्याउने मार्ग सहज बनाउन भ्इाट हटाउनु आवश्यक छ।
२. अन्तर्राष्ट्रिय विमान कम्पनीहरूबाट सेवा शुल्कको सुनिश्चितताः ट्राभल एजेन्टहरूको अधिकार संरक्षण गर्न सेवा शुल्क पारदर्शी र सुनिश्चित गरिनुपर्ने माग ।
३. पर्यटक बस पार्कको निर्माणः व्यवस्थित र आधुनिक बस पार्कको निर्माण आवश्यक छ, जसले पर्यटकहरूलाई सहज सेवा पुर्याउनेछ।
४. (हरियो प्लेट) र रातो नम्बर प्लेट भएका सवारी साधनको सहज प्रयोगः पर्यटन व्यवसायका लागि निजी र व्यवसायिक दुवै खालका गाडीहरू प्रयोग गर्न मिल्ने व्यवस्था गरिनु पर्ने माग ।
५. लक्जरी सवारी साधन आयातमा सहुलियत÷अनुदानः उच्चस्तरीय पर्यटकहरूलाई सेवा दिन लक्जरी गाडीहरू आयातमा सहुलियत प्रदान गरिनु आवश्यक छ।
६. कैलाश यात्रा कूटनीतिः नेपालको धार्मिक तथा अध्यात्मिक पर्यटन प्रवर्द्धन गर्न कैलाश मानसरोवर यात्रालाई प्रोत्साहन दिन कूटनीतिक प्रयास आवश्यक छ।
७. नेपाल एयरलाइन्सको सुधारः राष्ट्रिय ध्वजावाहक विमान कम्पनीको सेवा, प्रबन्धन, अन्तर्राष्ट्रिय जडानमा सुधार ल्याउनुपर्ने ।
८. आप्रवासन (इमिग्रेशन) प्रणालीमा सुधारः पर्यटकलाई स्वागत गर्ने प्रक्रियामा सहजता ल्याउन सेवा सुधार गरिनु आवश्यक छ।





















