काठमाडौं । जेठ अन्त्यसम्ममा ग्वार्काेमा निर्माणाधिन फ्लाईओभर बनिसक्ने भएको छ । जेठ भरिमा पूरा गरि लगत्तै फ्लाईओभरबाट सवारी साधन सञ्चालन हुने भएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले काठमाडौंको ग्वार्कोमा निर्माणाधिन फ्लाईओभर निर्माण सम्पन्न भइ जेठ महिनाको अन्त्यसम्ममा सवारी साधन सञ्चालन हुने बताएका हुन् ।
आईतबार बिहान फ्लाईओभर निर्माण कार्यको स्थलगत निरीक्षणका क्रममा उनले निर्माणका बाँकी कामहरु चाँडै पूरा गर्न निर्माण कम्पनीलाई निर्देशन पनि दिए । ‘अब पनि ढिलाई गर्ने छुट छैन’ मन्त्री दाहालले भने, ‘परिस्थिति बाहिरको प्राकृतिक विपत्ति नआएमा जेठको अन्त्य सम्ममा गाडी चल्नु पर्छ । यो एउटा प्रतिक्षाको आयोजना पनि हो ।’ फ्लाईओभर अन्तर्गत ३५ मिटर स्पानको ४ लेन प्रिकाष्ट ग्रिडर पुल सहित एप्रोच सडक तथा कालोपत्रे निर्माणको काम भएको हो । फ्लाई ओभरमा ट्राफिक लाईट जडानको कार्य पनि हुने छ ।
अनुगमनका क्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले निर्माणका क्रममा केही प्राविधिक समस्या देखिएको र त्यो समस्या समाधान गरि सकेको बताएका छन् । यस्तै सडक विभागका महानिर्देशक रामहरी पोखरेलले राजधानीको सवारी व्यवस्थापनका लागि ग्वार्को फ्लाई ओभर महत्वपूर्ण ठानिएकाले यसलाई प्राथमिकताका साथ पूरा गराउन लागि परेको बताए ।
सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दिप बराहीका अनुसार भौतिक पूर्वाधारको मुख्य काम सकिएको छ भने हाल आवश्यक भागमा कालोपत्रेको काम भई रहेको छ । आशिष समानान्तर रेलिगेर जेभी काठमाडौंले फ्लाई ओभर निर्माणको काम गरिरहेको छ ।
१७ करोड ६ लाख ८८ हजार रुपैयाँको लागतमा निर्माण शुरु भएको फ्लाई ओभर शुरु ठेक्का सम्झौता बमोजिम २०८० फागुन ११ मा सम्पन्न हुनु पर्ने थियो । तर निर्धारित समयमा पूरा नभए पछि म्याद थप भई त्यसको निर्माण कार्य अघि बढेको हो ।






















