काठमाडौँ । २०८१ साल असोज महिनाको वर्षाले सिर्जना गरेको बाढीजन्य विपद कहिल्यै सामना गर्नु नपर्ने गरी तयारी गर्नु पर्ने अवस्था आएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । उपप्रमुख सुनिता डंगोलले विश्व वैङ्कका प्रतिनिधिहरुसँग कुराकानी गर्दै पूर्व तयारी तत्काल थाल्नुपर्ने बताएकी हुन्, उनले भनिन्, ‘पूर्व तयारीका काम तत्काल थाल्नुपर्छ । तथ्य संकलन र मूल कारण पत्ता लगाएर मध्यकालीन र दीर्घकालीन योजनाका तर्जुमा गर्नुपर्छ । यो शहरी विकासका लामो चरणले सिर्जना गरेको अवस्था हो । साझेदारहरुसँग समन्वय र सहकार्य गरेर विगतमा भएको त्रुटि सच्याउँदै जानुपर्छ ।’
‘काठमाडौँका नदीमा यो तहमा पानीको बहाव मेरो पुस्ताले देखेको थिएन । यस्तो खालको समस्या भोग्नु परेको थिएन । त्यो दुखद क्षणलाई सिकाइ मानौँ । आगामी दिनमा काठमाडौँले यस खालको विपद् भोग्नु नपरोस् ।’
‘शहरी विकासका सवालमा प्रश्नहरु छन् । चुनौतीहरु छन् । समाधानका उपाय छन् । यी सवै पक्षको विश्लेषण गरेर महानगरपालिकाले नदी सुधार गुरुयोजना तयार पारिरहेको छ ।’ बैठकमा शहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले भने, ‘बाढी व्यवस्थापन गर्न विश्वका सहरहरुले गरेको प्रयत्न काठमाडौँका लागि सिकाइ नहुन सक्छ । काठमाडौँको भूगोल, सहरी बस्ती, नदी प्रणाली अन्य सहरहरुभन्दा फरक छ ।’
छलफलमा वल्र्ड बैङ्कको पूर्वाधार क्षेत्रका कार्यक्रम प्रमुख गायत्री सिंहले भनिन्, ‘काठमाडौँ महानगरपालिकाले विकास निर्माण र विकास व्यवस्थापनका साझेदार तथा सरोकारवालालाई एउटै ठाउँमा ल्याउन सक्ने क्षमता राख्छ । महानगरपालिकाको यो क्षमतालाई उपयोग गरेर सहरलाई विपदको खतराबाट बचाउन सकिन्छ ।’ शहरमा फैलिने डेङ्गी संक्रमणको अवस्थालाई उदाहरणका रुपमा प्रस्तुत गर्दै उनले थपिन्, ‘डेङ्गी फैलिनु भनेको बर्खाको पानीको उचित व्यवस्थापन गर्न सकिएको छैन भन्ने हो । हेर्दा सामान्य जस्तो लागे पनि यसले शहरको अर्थतन्त्र, जनस्वास्थ्य, वातावरण र सामाजिकताको चक्रमा गहिरो नकारात्मक प्रभाव राख्छ । यसलाई घटाउन पनि बर्खाको पानी व्यवस्थापन प्रणाली बनाउनुपर्छ ।’
छलफलमा बर्खाको पानी व्यवस्थापन गर्न नसक्दा हुन सक्ने समस्याहरुका बारेमा चर्चा गर्दै, घरेलु फोहर व्यवस्थापन, फोहर पानीको प्रशोधन, सहरी पूर्वाधारमा नदी प्रणाली र नदी प्रणालीमा सहरी पूर्वाधारको सम्बन्ध लगायत पक्षबाट जोखिम न्यूनीकरणका सम्भावनामा कुरा भएको थियो । नदीको प्राकृतिक वहाव, मानवीय क्रियाकलापले सतहको पानी तथा ढलको पानी निकासमा पार्ने प्रभाव र यस्ता प्रभावले समग्र शहरको स्थितिमा ल्याउने असरको पूर्वानुमान गरेर तयारीका काम थाल्नु पर्नेमा बैठकका अधिकारीहरुको जोड थियो ।
बैठकमा महानगरपालिकाको विपद व्यवस्थापन विभाग र अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय तथा विश्व बैङ्कका वरिष्ठ शहरी विद र शहरी विकास परामर्शदातासहित अधिकारी सहभागी थिए ।






















