काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को छपाइ सुरक्षण मुद्रण केन्द्रले गर्ने भएको छ । यस सम्वन्धमा यातायात व्यवस्था विभाग र केन्द्रबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको मुद्रण केन्द्रमार्फत चालक अनुमति पत्र छपाई गर्ने भएको हो ।
नविकरण गरिएको समेत लामो समयसम्म सवारी चालक अनुमति पत्र नपाउँदा सर्वसाधारणले समस्या भोग्नु परेको भन्दै यसको समाधान खोज्न भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालले विभागलाई पटक पटक निर्देशन दिएका थिए । तत्काल अनमति पत्र नपाउँदा राजश्व तिरेको रसिद बोकेर हिँड्नु पर्ने बाध्यताको अन्त्यका लागि नागरिक एपमा चालक अनुमति पत्र समावेश समेत गरिएको छ । हाल सोहि एपमार्फत ट्राफिक प्रहरीले नियमन गर्ने तथा जरिवाना भुक्तानी गराउने कार्य समेत गर्दै आएको छ ।
दिगो समाधानका लागि समयमानै सवारी चालक अनुमति पत्र छपाईनै गर्नु पर्ने भन्दै मन्त्री दाहालले चुस्त र छिटो सेवा उपलव्ध गराउने विकल्प खोजी गर्न निर्देशन दिएका थिए । सरकारी निकायहरु बीचमा नै सहकार्य गरि सवारी चालक अनुमति पत्र छपाईको विकल्प खोजी गर्ने क्रममा केही दिन अघि दुवै मन्त्रालयका सचिवसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहाल र सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वी सुव्वा गुरुङबीच छलफल समेत भएको थियो । दुई सरकारी निकायबीचको सहकार्यले सवारी चालक छपाई कार्य चुस्त र पारदर्शी हुने अपेक्षा गरिएको छ ।
दुवै पक्षबीच भएको समझदारी अनुसार सुरक्षण मुद्रण केन्द्रले आगामी असार मसान्त भित्रमा प्रथम चरणको छपाई गरि विभागलाई हस्तान्तरण गर्ने छ।
समझदारी पत्रमा सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगाना तथा यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेलले हस्ताक्षर गरेका छन् । अब सुरक्षण मुद्रण केन्द्रले क्युआर सहितका विभिन्न सुरक्षा विशेषता सहितको सवारी चालक अनुमति पत्र छपाई गर्ने छ ।























