धादिङ । धुनिवेशी नगरपालिका वडा नं ९ जुगेडीमा रहेको के एल दुगड समूहअन्तर्गतको युनाइटेड सिमेन्ट्स लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत धुनिवेशी नगरपालिका वडा नं. ९ को सहकार्यमा ४२ जना स्थानीय महिलाहरूका लागि निःशुल्क तीन महिने आधारभुत र दुई महिने एडभान्स् सिलाई–कटाई प्रशिक्षण कार्यक्रम समापन गरेको छ । महिलाहरूलाई आत्मनिर्भर बनाउँदै उनीहरूको आर्थिक सशक्तिकरणमा योगदान पुर्याउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको कम्पनीको भनाइ छ । तालिम २०८१ मंसिर १६ बाट सुरु भएर २०८२ वैशाख २२ गतेसम्म संचालन भएको थियो । बुधबार कार्यक्रम समापन भएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै युनाइटेड सिमेन्ट्स लिमिटेडका महाप्रबन्धक हरि कुमार उप्रेतीले कम्पनीले जहिले पनि व्यवसायिक लक्ष्यसँगै सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राख्ने भएकोले यस्तो तालिमले महिलाहरूमा आत्मविश्वास अभिवृद्धि गर्दै आयआर्जनका नयाँ अवसर सिर्जना गर्न मद्दत पुर्याउने बताए ।
सोही अवसरमा धुनिवेशी नगरपालिका वडा नं. ९ का वडाअध्यक्ष एवं तालिम समापन कार्यक्रमका सभापति माधव प्रसाद सिलवालले युनाइटेड सिमेन्ट्स लिमिटेडलाई धन्यवाद व्यक्त गर्दै महिलाहरूलाई लक्षित गर्दै सञ्चालन गरिएको यो तीन महिने आधारभुत र दुई महिने एडभान्स् तालिम कार्यक्रमले उनीहरूको जीवनस्तर सुधार्न र आर्थिकरूपमा सशक्त बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । सो कार्यक्रम धुनिबेशी नगरपालिकाका नगर प्रमुख बालकृष्ण आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
युनाइटेड सिमेन्ट्स लिमिटेडले शिक्षा, स्वास्थ्य, र सामाजिक सेवाका क्षेत्रमा निरन्तर योगदान गर्ने आफ्नो प्रतिबद्धता व्यक्त गरेको छ ।






















