काठमाडौं । आज २५६९ औं बुद्धजयन्ती हो । यस अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।
बुद्धजयन्तीका अवसरमा विश्वभरका बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र भगवान् बुद्धको पावन जन्मस्थल लुम्बिनीमा विशेष कार्यक्रम हुँदैछ । २५६९ औं बुद्धजयन्ती विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । बुद्ध जन्मस्थल लुम्बिनीमा हुने २५६९औं बुद्धजयन्ती एवम् लुम्बिनी दिवस–२०८२ विशेष समारोहमा सहभागी भई प्रधानमन्त्री ओलीले विशेष सम्बाेधन गर्नेछन् ।
आयोजक लुम्बिनी विकास कोषले भगवान् बुद्धको पावन जन्मस्थल लुम्बिनी जाऔं, २५६९ औं बुद्धजयन्ती भव्यरूपमा मनाऔं भन्ने नारासहित बिहान ६ बजेदेखि नै मायादेवी मन्दिर परिसरमा प्रार्थना सभा गरेको छ । बिहान ७ बजेदेखि मायादेवी मन्दिरबाट शोभायात्रा गरिएको छ । बिहान ९ बजेदेखि अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्र लुम्बिनीमा थप विशेष कार्यक्रम राखिएको लुम्बिनी विकास कोषले जानकारी दिएको छ ।
२५६९ औं बुद्धजयन्ती वृहत्तर लुम्बिनी क्षेत्र अन्तर्गत देवदहमा सरसफाइ, नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता, लुम्बिनीदेखि कविलवस्तुसम्म बोधिसत्व शोभायात्रा, पण्डितपुरदेखि रामग्रामसम्म अस्तु यात्रा लगायत गरिएको छ । बुद्ध जन्मस्थल लुम्बिनीलाई झकिझकाउ गरेर सिँगारिएको छ ।
दिवस मनाउन देश तथा विदेशबाट हजारौँ श्रद्धालु भक्तजनहरू लुम्बिनीमा उपस्थित भएका छन् । श्रद्धालुहरुको सुरक्षा व्यवस्थालाई पनि कडा पारिएको छ, भक्तजनहरूले शान्तिपूर्ण वातावरणमा बुद्ध जयन्ती मनाउन सक्ने सम्पूर्ण व्यवस्था मिलाइएको कोषले जनाएको छ ।
२५६९ औं बुद्धजयन्तीले विश्वमा भइरहेको युद्धमा शान्ति र भाइचाराको सन्देश दिने अपेक्षा गरिएको छ ।